बेरुत । संयुक्त राष्ट्रसंघका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका लागि तत्काल सहायता उपलब्ध गराउन तथा मानवीय राहत सामग्री सुरक्षित रूपमा पार गर्न अनुमति दिन अपिल गरेका छन् ।
अचानक गरिएको लेबनान भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दक्षिणी लेबनानमा भएका इजरायली आक्रमणका पीडितका लागि ३० करोड ८३ लाख अमेरिकी डलर बराबरको तीन महिनाको आपतकालीन सहायता अपिल घोषणा गरेका छन् । यो जानकारी महासचिवका मुख्य प्रवक्ता स्टेफान दुजारिकले दिए ।
उनका अनुसार उक्त सहायता कार्यक्रमबाट झण्डै १० लाख मानिस लाभान्वित हुने अपेक्षा गरिएको छ । यसमा प्रभावित कमजोर लेबनानी नागरिक, विस्थापित सिरियाली, लेबनानका प्यालेस्टिनी शरणार्थी, सिरियाबाट आएका प्यालेस्टिनी शरणार्थी तथा आप्रवासीहरू समावेश छन् ।
महासचिव गुटेरेसले क्षेत्रीय द्वन्द्वका कारण सर्वसाधारणले भोगिरहेको पीडा अन्त्य गर्न दुवै पक्षलाई तुरुन्त युद्धविराम गर्न पनि आग्रह गरेका छन् । लेबनान भ्रमणका क्रममा उनले राष्ट्रपति जोसेफ औन, संसद् सभामुख नबिह बेरी र प्रधानमन्त्री नवाफ सलामसँग भेटवार्ता गरेका थिए ।
यसैबीच संयुक्त राष्ट्रसंघका मानवीय मामिला तथा आपतकालीन राहत संयोजक टम फ्लेचरले मानवीय राहत सामग्री बोक्ने जहाजहरूलाई अवरोधबिना सुरक्षित मार्ग उपलब्ध गराउन तत्काल अपिल गरे । उनले चेतावनी दिँदै भने, ‘यदि मार्गमा अवरोध आयो भने खाद्यान्न, औषधि र जीवनरक्षक सामग्रीको मूल्य बढ्नेछ, जसको असर सबैभन्दा बढी कमजोर समुदायमा पर्नेछ ।’ रासस/सिन्ह्वा