अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अधिकारीमाथि ७० लाख रुपैयाँ घुस लिएको आरोप लगाइएको छ।अख्तियारका अनुसार अधिकारीले एचके इन्टरप्राइजेज प्रालिको राजस्व चुहावटसम्बन्धी छानबिनमा सहजीकरण गरे वापत उक्त रकम लिएका थिए। आयोगको अनुसन्धान अनुसार, इन्टरप्राइजेजका संचालक श्रीकृष्ण श्रेष्ठले आफ्नै कम्पनीको खाताबाट तीन वटा चेकमार्फत २०७९ साउन २४ गते अधिकारीलाई भुक्तानी गरेका थिए। यसमा विकास चापागाई, देवेन्द्र केसी र रविन्द्र लामिछानेसँग सल्लाह तथा मिलेमतो गरेको पाइएको छ। विशेषगरी, विकास चापागाईको नाममा ५० लाख रुपैयाँको चेक मार्फत भुक्तानी गरिएको र अधिकारीले घुसबाट भक्तपुरमा जग्गा खरिद गरेर रकम मिलाएको अख्तियारले दाबी गरेको छ।अधिकारीलाई ७० लाख बिगो कायम गरिएको छ भने घुस रकम दिने द कुटि रिसोर्ट प्रालिका म्यानेजिङ डाइरेक्टर एवं शेयरधनी देवेन्द्र केसीलाई २० लाख र बाँकेका रविन्द्र लामिछानेलाई ५० लाख बिगो कायम गरिएको छ। उनीहरुविरुद्ध सोही रकम बराबरको सम्पत्ति शुद्धीकरणको माग समेत गरिएको छ। साथै, घुसबाट खरिद गरेको जग्गा जफत गर्न अख्तियारले अदालतमा माग राखेको छ।