नेपाली कांग्रेसले प्रतिनिधिसभा समानुपातिकतर्फका निर्वाचित उम्मेदवारहरूको नाम टुंगो लगाएर निर्वाचन आयोगमा पेश गरेको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता देवराज चालिसेले १५ महिला र ५ पुरुषको सूची निर्वाचन आयोगमा पठाउने निर्णय भएको जानकारी दिएका थिए। खस आर्य क्लस्टरबाट पुरुषतर्फ अर्जुननरसिंह केसी र कालीबहादुर सहकारीको नाम सिफारिस गरिएको छ। यसै क्लस्टरबाट महिलातर्फ सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रिना उप्रेती र सीता थपलियाको नाम समावेश गरिएको छ। खस आर्यबाट दुई पुरुष राख्न नमिल्ने अवस्था आएमा सोही क्लस्टरबाट गंगा शाहीलाई समेटिनेगरी सूची तयार गरिएको शीर्ष तहका एक नेताले जानकारी दिएका छन्। आदिवासी जनजाति क्लस्टरबाट महिलातर्फ गीताकुमारी सेन्दाङ्ग, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचाको नाम निश्चित भएको छ। पुरुषतर्फ भिष्मराज आङ्देम्बे र मदनकृष्ण श्रेष्ठ (अपाङ्गता भएका) को नाम सिफारिस गरिएको छ। यस क्लस्टरमा महिलाको संख्या अपुग हुने अवस्था आएमा मदनकृष्ण श्रेष्ठको स्थानमा सुनितादेवी सुवेदी (श्रेष्ठ) ले अवसर पाउने बताइएको छ। थारु क्लस्टरबाट प्रमिलाकुमारी गच्छदारको नाम परेको छ भने दलित क्लस्टरबाट हरिनादेवी कामी, पवित्रा विक र मनमाया विश्वकर्माको नाम सिफारिस गरिएको छ। मधेशी क्लस्टरमा महिलातर्फ निनुकुमारी कर्ण र रेखाकुमारी यादवको नाम समावेश गरिएको छ भने पुरुषतर्फ चन्द्रमोहन यादवको नाम सिफारिस गरिएको छ। मुस्लिम क्लस्टरबाट शाहजान खातुनको नाम समेटिएको छ।