काठमाडौंं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । पेट्रोलमा १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ बढाइएको हो ।
बढेको दर आइतबार मध्यरातिबाट कार्यान्वयनमा आएको निगमले जनाएको छ । पश्चिम एसियामा बढेको तनाव र कच्चा तेलको मूल्यवृद्धिका कारण पेट्रोलियम पदार्थको मूल्य बढाउनुपरेको निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिअनुसार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त दर कायम नगरी बिक्री गर्दा केही रकम मूल्य स्थिरीकरण कोषबाट व्यहोर्ने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको निगमको भनाइ छ । बढेर आएको मूल्य समायोजन हुन नसकेमा निगमले आईओसीलाई तिर्नुपर्ने बक्यौता भुक्तानी हुन नसक्ने र यसबाट आपूर्ति प्रणालीमा थप अवरोधहरु पुग्ने अवस्था देखिएको निगमले उल्लेख गरेको छ ।
हालको मूल्यवृद्धिपछि पनि निगमलाई पाक्षिक एकमुष्ट करिब ३ अर्ब ९३ करोड घाटा हुने निगमको भनाइ छ ।