काठमाडौं । हायात प्लेस बुटवलले आधुनिक भान्सामा विदेशी परिकारको दबदबा बढिरहेको वर्तमान समयमा नेपालका आफ्नै मौलिक स्वादहरूको खोजी र जगेर्ना गर्न थालेको छ ।
हायात प्लेस बुटवलका एक्जुकेटिभ सेफ उमेश तामाङले ‘लस्ट फ्लेभर्स अफ नेपाल’ (नेपालका हराउँदै गएका स्वादहरू) अभियानमार्फत नेपाली परिकारको पुनरुत्थान सुरु गरेका हुन् । यो अभियान नेपाली भान्साको पहिचान बनेका परम्परागत परिकार, रैथाने सामग्री र पुराना पकाउने शैलीहरूलाई फर्काउनका लागि सञ्चालन गरिएको हो । मौलिकतालाई आधुनिक प्रस्तुतिसँग जोडेर सेफ तामाङले पुराना पुस्ताका कथा, परम्परा र यादहरू जोडिएका परिकारहरू पस्कँदै आएका छन् ।
‘लस्ट फ्लेभर्स अफ नेपाल’ अभियानमार्फत, सेफ तामाङ र उनको टोलीले बिर्सिंदै गएका पकाउने पद्दतिहरूलाई अपनाउँदै स्थानीय रैथाने सामग्रीहरूको प्रवर्द्धन गरिरहेका छन् । उनीहरूले परम्परागत स्वादलाई नबिगारीकन आधुनिक पारखीहरूलाई मनपर्ने गरी आकर्षक रूपमा प्रस्तुत गर्दैछन् । यो विशेष मेनुले क्षेत्रीय कुलिनेरी परम्पराबाट प्रेरित परिकारहरूलाई समेटेको छ, यसलाई मौलिकता कायम राख्दै आधुनिक स्वाद र शैली अनुसार तयार पारिएको छ । ‘खाना आफैँले एउटा सशक्त कहानी बताउँछ,’ सेफ तामाङ भन्छन्, ‘कुनै समय हाम्रो भान्साको चिनारी बनेका धेरै परिकारहरू आज बिस्तारै हराउँदै गइरहेका छन् । एक सेफको नाताले यी परम्पराहरूलाई जोगाउनु र नयाँ पुस्तामाझ बाँड्नु हाम्रो दायित्व हो ।’ हायात प्लेस बुटवलले संस्कृति, परम्परा र समाजलाई जोड्ने अर्थपूर्ण भोजनको अनुभव प्रदान गर्न निरन्तर काम गरिरहेको छ ।