काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय पर्यटन बजारमा आफ्नो उपस्थिति थप सुदृढ बनाइरहेको छ । नेपाल पर्यटन बोर्डले हालै रूसको राजधानी मस्कोमा आयोजित प्रतिष्ठित पर्यटन मेला मस्को इन्टरनेसनल ट्राभल एन्ड टुरिजम एक्जिविसन (एमआईटीटी) २०२६मा नेपालको विविध पर्यटन सम्भावनालाई विश्वसामु प्रस्तुत गरेको हो ।
मस्कोस्थित क्रोकस एक्स्पो सेन्टरमा आयोजित एमआईटीटी–२०२६ मा ३० भन्दा बढी देशका पर्यटन गन्तव्य, सेवा प्रदायक र पर्यटन व्यवसायी सहभागी भएका थिए । तीन दिनसम्म सञ्चालन भएको मेलामा करिब १६ हजारभन्दा बढी आगन्तुकहरूले अवलोकन गरेको अनुमान गरिएको जनाइएको छ । यस प्रदर्शनीमा बोर्डले निजी क्षेत्रसँग सहकार्य गर्दै नेपालको पर्यटन अनुभवलाई समग्र रूपमा प्रस्तुत गरेको बोर्डका वरिष्ठ अधिकृत कविन्द्र भट्टले जानकारी दिए । उनका अनुसार सात निजी क्षेत्रका ट्राभल तथा टुर कम्पनीहरूसहित सहभागी भएको बोर्ड नेतृत्वको टोलीले हिमालयन साहसिक पर्यटन, पदयात्रा, पर्वतारोहण, बौद्ध तथा हिन्दू धार्मिक पर्यटन, प्रकृति–आधारित अनुभव र सांस्कृतिक विविधतालाई प्रस्तुत गरेको छ ।
प्रदर्शनीमा राखिएको नेपाल पभेलियनमा नेपालबारे जानकारी लिन आउने आगन्तुकहरूलाई हिमालयको अनुपम सौन्दर्य, लुम्बिनीको आध्यात्मिक शान्ति, साहसिक पदयात्रा मार्गहरू तथा नेपाली संस्कृतिको विविधताबारे विस्तृत जानकारी दिइएको थियो । नेपालको प्रतिनिधिमण्डलको नेतृत्व नेपाल पर्यटन बोर्डका कार्यसमिति सदस्य तथा अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले गरेका थिए । प्रतिनिधिमण्डलमा बोर्डका वरिष्ठ निर्देशक सन्तोष पन्त र वरिष्ठ अधिकृत भट्ट सहभागी थिए । मेलाको अवसरमा रूसी तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरूसँग छलफल तथा अन्तरक्रियाका क्रममा प्रतिनिधिमण्डलले नेपाललाई सुरक्षित, विविधतायुक्त र अविस्मरणीय पर्यटन गन्तव्यका रूपमा प्रस्तुत गरेको थियो ।
प्रतिनिधिमण्डलका प्रमुख तिवारीले एमआईटीटीजस्ता अन्तर्राष्ट्रिय पर्यटन मेलाहरू नेपालको पर्यटन प्रवर्द्धनका लागि अत्यन्त महत्वपूर्ण भएको बताए । उनले भने, ‘रूसजस्तो ठूलो पर्यटन बजारमा नेपालका सम्भावनाहरू प्रस्तुत गर्ने अवसर एमआईटीटीजस्तो मञ्चले प्रदान गर्छ । रूसी पर्यटकहरू साहसिक यात्रा, हिमाली पदयात्रा र सांस्कृतिक अनुभवप्रति निकै आकर्षित हुन्छन्, जसले नेपालका लागि ठूलो सम्भावना देखाउँछ ।’ रूसी बजारलाई नेपालको उदीयमान पर्यटन बजारका रूपमा उल्लेख गर्दै उनले रूसी पर्यटकहरू नयाँ र अनौठो गन्तव्यको खोजीमा रहने भएकाले नेपालको पर्यटन अनुभव उनीहरूका लागि अत्यन्त आकर्षक हुन सक्ने बताए ।
यसैबीच रूसस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत महेश्वरमणि त्रिपाठीले नेपाल र रूसबीचको पर्यटन सहकार्यलाई अझ विस्तार गर्न यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरू महत्वपूर्ण हुने बताए । यस वर्ष नेपाल र रूसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुँदैछ । यही ऐतिहासिक सन्दर्भमा एमआईटीटी–२०२६ नेपालको सहभागिताले दुई देशबीच पर्यटन सहकार्यलाई अझ मजबुत बनाउने जनाइएको छ । पर्यटन तथ्यांकअनुसार सन् २०२५ मा नेपाल भ्रमण गर्ने रूसी पर्यटकको संख्या १५ हजारभन्दा बढी पुगेको थियो ।