अमेरिका, भदौ ३०
कोरोनाको खोप विकास गरिरहेको अमेरिकी फाइजरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अल्बर्ट बौर्लाले आफ्नो कम्पनीको खोप यही वर्षको अन्त्यसम्ममा वितरण गर्ने गरी आउने बताएका छन् । फक्सबिजनेसका अनुसार यदि संघीय नियमनकारी निकायबाट अनुमति पाए अमेरिकीहरुले यही सन् २०२० मै खोप लगाउन पाउने बताएका हुन् ।
‘म एफडीए (खाद्य तथा औषधि प्रशासन)ले यही गर्छ त भन्दिन तर अहिलेको अवस्था हेर्दा हामी खोप ल्याउन सक्षम हुनेछौँ’, बौर्लाले सीबीएस टिभीको ‘फेस द नेसन’ कार्यक्रममा अन्तर्वार्ताको क्रममा भने, ‘हामीले यसअघि नै उत्पादन थालिसकेका छौँ, हजारौँ हजार डोज उत्पादन भइसकेको छ। हाम्रो अध्ययन र परिणाम पनि राम्रो छ भने एफडीए र सल्लाहकार समितिले पनि राम्रै प्रतिक्रिया दिइरहँदा हामी तयार भइरहेका छौँ ।’
यद्यपि बौर्लाले फाइजरको अध्ययनमा राम्रो अवसर मिलिरहेकोले आफ्नो उत्पादनले काम गर्ने नगर्ने अक्टोबरको अन्त्यसम्ममा थाहा पाइने बताए । यही आँकलनअनुसार काम भए यही वर्षको अन्त्यमै वितरणसमेत गर्न सकिने बताए । तर अन्तिम वितरणसम्मको अधिकार भने एफडीएले दिनुपर्ने हुन्छ ।
फाइजरले बायोएनटेकसँगको साझेदारीमा खोप विकास गरिरहेको छ । उसको तेस्रो चरणको परीक्षण हुँदै छ । सम्भवतः अर्को हप्ता हुने यो परीक्षणमा ३० हजार मानिस सहभागी हुनसक्नेछन् । औषधि कम्पनीले यो संख्या बढाएर ४४ हजारमा परीक्षण गर्ने तयारी गरेको छ । फाइजरले विविध उमेर र समूहका मानिससँगै १६ वर्षेदेखि विभिन्न रोगहरु एचआईभी, हेपाटाइटिस सी र बीजस्ताबाट संक्रमितहरुमा पनि परीक्षणको तयारी गरेको छ ।
‘विविधतामूलक जनसंख्यामा सम्भव भएसम्म हामी केन्द्रित हुनुपर्छ जस्तो लाग्छ तर अहिले पनि हामी त्यसलाई नै अनुशरण गरिरहेका छौँ’, उनले भने, ‘अहिले छानेकामा पनि ६० प्रतिशत ककासियन समुदायका र करिब ४० प्रतिशत अल्पसंख्यक समावेश छन् ।’ यसमा ४४ प्रतिशत ज्येष्ठ नागरिक रहेका छन् । यसमा अफ्रिकन अमेरिकन र ल्याटिनो नागरिकको संख्या बढाउनेबारे सोचिरहेको उनले बताए ।
महामारी सुरु भएयता ह्वाइटहाउसले १० अर्ब डलर अपरेसन वार्प स्पिडअन्तर्गत कोरोनाको खोप पत्ता लगाउन खर्च गरिरहेको छ । अहिले छवटा औषधि कम्पनीले अमेरिकी करदाताको पैसा लिएर खोप विकासमा लागेका छन् । फाइजर सीईओ बौर्लाले भने आफ्ना वैज्ञानिकहरुलाई कुनै पनि कर्मचारीतन्त्रबाट प्रभावित नहुने गरी र करदाताको रकमविनै खोप विकासमा लागेको बताए । फाइजरलाई राजनीतिबाट टाढै राख्ने समेत उनले दाबी गरे ।
आफ्नो खोप परीक्षणमा असफल भए पनि कम्पनीलाई कुनै वित्तीय संकट नहुने उनको दाबी छ । कम्पनीले डेढ अर्ब अमेरिकी डलर कोरोना खोप विकास कार्यक्रममा खर्च गरिरहेको छ । अमेरिकी केन्द्रीय सरकारले फाइजरसँग १० करोड डोज (मात्रा) खोप खरिद गर्न १ अर्ब ९५ करोड अमेरिकी डलरको सम्झौता गरिसकेको छ ।
उक्त सम्झौताअनुसार थप ५० करोड डोज लिन र नागरिकलाई निःशुल्क वितरण गर्न सकिनेछ । अमेरिकामा ६४ लाखमा कोरोना पुष्टि भइसकेको छ भने १ लाख ९३ हजार जनाको भाइरसको कारण मृत्यु भइसकेको छ ।