काठमाडौं । अब बन्ने सरकारले लगानीमैत्री वातावरण बनाएमा गैरआवसीय नेपाली संघ (एनआरएनए)ले खर्बौँ रुपैयाँ लगानी ल्याउन सक्ने बताएको छ । चैत पहिलो वा दोस्रो सातामा नयाँ सरकार बन्ने अवस्था रहेको बताउँदै संघका पदाधिकारीहरूले विदेशमा रहेका नेपालीलाई लगानी ल्याउने वातावरण बनाएमा उक्त रकमबराबरको लगानी ल्याउन सक्ने बताएका हुन् ।
काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघको (एनआरएनए)को १२औँ महाधिवेशन तथा विश्व सम्मेलनको समापन समारोहमा सोमबार अध्यक्ष महेशकुमार श्रेष्ठले लगानीमैत्री कानुन बनाएमा एनआरएनले २० खर्ब रुपैयाँ लगानी ल्याउन सक्ने बताए । उनले विदेशमा रहेका नेपालीहरू तथा एनआरएनएसँग नेपालको बजेटभन्दा बढी रकम रहेको भन्दै त्यसलाई नेपालमा लगानी गर्ने वातावरण बनादिन आग्रह गरे । ‘चुनावबाट नयाँ सरकार बनेको छ नयाँ सरकारले लगानीको वातरण बनाइदिएमा हामी लगानी ल्याउन तयार रहेको छौँ’, उनले भने, ‘मुलुकको विभिन्न क्षेत्रमा लगानी आवश्यक समेत रहेको छ ।’
संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले हामी विदेशमा बस्नु परे पनि भविष्यमा सन्तानहरू नेपालमा बस्ने वातावरण निर्माण गर्न लगानी आवश्यक रहेको बताए । पैसा प्रशस्त हुने मुलुकको पहिचान बेग्लै हुने भन्दै अध्यक्ष डा. केसीले मुलुकको आर्थिक क्षेत्र मजबुत गर्नका लागि लगानीको वातरण बनाइदिन आग्रह गरे । उनले एकता महाधिवेशनले विश्वभर रहेका करिब ८० लाख नेपालीलाई एकै सूत्रमा बाँध्ने काम गरेको बताए ।
संघको एकता महाधिवेशनको समापन समारोहमा उनले संघको इतिहासमा विभिन्न उतारचढाव भए पनि छोटो समयमै संघ ९२ देशसम्म विस्तार भएको बताए । पछिल्ला करिब छ वर्ष विभिन्न परिस्थितिका कारण चुनौतीपूर्ण बनेको र त्यस अवधिमा संगठन दुई भागमा विभाजित भयो तर अब एक भएर अघि बढ्ने सम्पूर्ण साथीहरूले प्रतिबद्धता जनाएको उनको भनाइ छ ।
डा. केसीले भदौ २३ र २४ गते भएका घटनाले विश्वभर रहेका नेपालीलाई दुःखी बनाएको उल्लेख गर्दै यस्ता घटना भविष्यमा दोहोरिन नदिन सबै पक्ष सचेत हुनुपर्ने बताए । विदेशमा बसोबास गर्ने नेपालीलाई निर्वाचनमा सहभागी गराउन ‘इ–भोटिङ’ प्रणाली लागू गर्न आवश्यक रहेको धारणा व्यक्त गर्दै उनले पहिचान जोगाउन गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्नुपर्नेमा जोड दिए ।
संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाली संस्कृति र संस्कारसहितको आर्थिक विकासका लागि गैरआवसीय नेपालीहरू सहयोग गर्न तयार रहेको बताए । उनले हाम्रो आर्थिक विकास संस्कृति, समुदायसँगै हुनुपर्ने बताए ।
महाधिवेशन तथा विश्व सम्मेलनको समापन समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने र गैरआवासीय नेपालीहरूको पुँजीलाई सुरक्षित र पारदर्शीरूपमा परिचालन गर्ने नीति सरकारको प्राथमिकतामा रहेको बताइन् । त्यसका लागि दीर्घकालीन लगानी संरचना निर्माण गर्ने सरकारको नीति रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीहरूलाई नेपालको विकास र समृद्धिको यात्रामा सक्रियरूपमा सहभागी हुन आह्वान गर्दै विदेशमा सिकेको ज्ञान, सीप, अनुभव र पुँजीलाई मातृभूमिको विकासमा उपयोग गर्नुपर्ने बताइन् ।
नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्मासहित संघको नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै उनले गैरआवासीय नेपालीहरूको योगदान आर्थिक मात्र नभई सामाजिक पुँजी निर्माणमा पनि महत्वपूर्ण हुने बताइन् ।
परराष्ट्र मन्त्री माननीय बालानन्द शर्माले उद्घाटन गरेको सम्मेलन प्रधानमन्त्री कार्कीको उपस्थितिमा शनिबार समापन भएको हो । सम्मेलनमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, कृषि तथा पशुपालन मन्त्री मदन परियार, वन तथा वातावरण मन्त्री माधव चौलागाईं र पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्रीहरू, सांसदहरू, पूर्वसांसदहरू, नेपाल सरकारका उच्चस्तरीय पदाधिकारीहरू, एनआरएनएका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरूलगायत विश्वका विभिन्न देशमा बसोबास गर्ने गैरआवासीय नेपालीहरू, एनआरएनएका प्रतिनिधिहरू, संस्कृतिविद्, लगानीकर्ता, श्रमिक प्रतिनिधि, युवा पुस्ता, सञ्चारकर्मी तथा विभिन्न सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।
सम्मेलनका चार हजार दुई सय ८६ प्रतिनिधिमध्ये काठमाडौंमा चार सयभन्दा बढी प्रतिनिधि प्रत्यक्षरूपमा उपस्थित भएका थिए भने बाँकी प्रतिनिधिहरू अनलाइन माध्यमबाट सहभागी भएका थिए ।