अरू देश लडाइ गर्छन् । त्यसको मार वा पिरलो नेपालले खेप्नुपरिरहेको छ । निश्चय नै कुनै दुई देशबीचमा युद्धहुँदा ती देशसँगका नियमित कारोबार प्रभावित हुन्छन् नै । तर यो कुनै कारोबारको कुरामात्र होइन । अहिले खाडी प्रदेशमा अमेरिका र इरानको युद्धहुँदा नेपालको उद्योगिक क्षेत्र प्रभावित हुन थालेको छ । कच्चा पदार्थको अभाव भएर यस्तो हुन गएको हो । यस्तो यी प्रदेशमा हुने व्यापारिक काम पनि प्रभावित हुन्छ । जो तत्काल परिणाम आइनसेको पनि हुन सक्दछ । यी अप्रत्यक्ष प्रभाव हुन् तर यहाँ चर्चा गर्न खोजिएको विषय हो प्रत्यक्ष मानवीय क्षतिको । केही पहिले इजरायल प्यालेस्टिनी युद्धहँुदा दशबाह्र जना नेपालीले ज्यान गुमाए । उनीहरू अध्ययनका लागि इजरायल गएका थिए । त्यही क्रममा अपहरणमा परेका नेपालीका बारे नेपालीको मन दुःखेको थियो । अर्को रुस युक्रेन नेपालभन्दा निकै टाढाका भूभाग हुन् । ती दुई देशबीचको युद्धमा पनि थुप्रै नेपाली मारिए । जबकि यी दुवै देशप्रति नेपालको समान सम्बन्ध थियो ।
नेपाल सबैसँग मैत्रिपूर्ण सम्बन्ध भएको देश हो । असंलग्न पराराष्ट्र नीति यसको मूल नीति हो । तर विगत डेढदुई वर्ष यताका नेपालभन्दा धेरै टाढा रहेका देशका युद्धमा धेरै नेपालीले ज्यान गुमाइसेका छन् । गएको हप्तामात्रै अमेरिका इरान युद्ध सन्दर्भमा ती देशभन्दा अन्यत्र नै रहेका एक नेपालीले ज्यान गुमाउनु प¥यो भने, ठूलोसंख्याका नेपाली घाइते अवस्थामा छन् । मध्यपूर्व द्वन्द्वका क्रममा इरानको ड्रोन हमलामा मारिएका ती २९ वर्षीय युवकको ज्यान गएको हो । अबुधाबीस्थित नेपाली राजदूतावासले यो घटनाबारे जानकारी गराउँदै अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत नेपाली नागरिक दिवस श्रेष्ठ (वर्ष २९, घर गोर्खा जिल्ला) को दुःखद् निधन भएको सम्बन्धमा यूएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको छ, भनेर जानकारी गरायो । पश्चिमको भीमसेन थापा गाउँपालिका–७ ठाटीबजार स्थायी घर भएका उनी काठमाडौंमा ओभरसियर पढ्दै गर्दा तीन वर्षअघि वैदेशिक रोजगारीका लागि यूएई गएका थिए । उनी त्यो परिवारका एक्ला सन्तान हुन् । अब छिट्टै छुट्टीमा घर आएर बिहे गर्ने तयारीमा थिए उनी । यो खबरपछि त्यो गाउँ स्तब्ध भएको छ । यो भूमि नेपालभन्दा निकै टाढा छ । उनी त्यहाँ जाँदा युद्धको कुनै संकेत थिएन । यतिबेला खाडी प्रदेशमा आफ्ना सन्तान रहेकाहरू नेपालमा सबै छटपटिमा छन् । कतिपय त फर्किएर आउन खोज्दा पनि पाइरहेका छैनन् ।
वास्तवमा नै यतिबेला खाडी प्रदेश नेपालका लागि जुनसुकै बेला जेसुकै हुने खाडलमा परिणत भएको जस्तो अवस्था छ । यहाँ कार्यरत सरकारी कर्मचारी नै भन्छन्, ‘मान्छेहरू एकदमै प्यानिक भएर बसिरहनुभएको छ ।’ धेरैले ज्यानै गयो भने त सबै सक्किहाल्छ नि भनेको भेटिएको छ । हाम्रो अनुगमनले उद्धार गर्नुपर्ने अवस्था छ भनेर देखाएको छ । यता नोपालमा भने सरकार नै मध्यपूर्वमा रहेको श्रमिकको अवस्था चिन्ताजनक नरहेको बताइरहकै छ । तर त्यहाँ स्थिति भिन्न देखियो । विभिन्न खाडी मुलुकमा रहेका श्रम अधिकारकर्मीको टोलीले गरेको प्रारम्भिक अनुगमनमा श्रमिकहरू त्रसित अवस्थामा भेटिएका पाइएको भनेर रिपोर्ट आएका छन् । अहिले युद्ध चलिरहेको खाडी क्षेत्रमा मात्रै ३० लाखको हाराहारीमा नेपाली श्रमिकहरू रहेको अनुमान छ । उता उनका मानसिक अवस्था कस्ता होलान् ? यता उनका परिवारको छटपटी झनै हेरिनसक्नु रहेको भनेर समाचार आइरहेका छन् ।
यी युद्ध जहाँ–जहाँ भए नेपाल ती देशका छिमेकी पनि होइन । तर यता क्षतिभने ठूलै सहनुपरेको छ । कसैसँग युद्ध नगर्ने नीति भएको देशले खप्नुपरेको युद्धबाट पुगेको यो मानवीय क्षति वास्तवमा नै सामान्य छैन । यसको उपचार खोजियोस् ।