काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको साधारण सेयरको खरिद अवधि समाप्त भएको छ । कम्पनीले फागुन २७ गतेदेखि निष्कासन गरिरहेको पहिलो चरणको साधारण सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साधारण सेयरको खरिद अवधि यही चैत एक गते आइतबार समाप्त भएको हो ।
कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले आयोजना प्रभावितलाई १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई तीन करोड तीन लाख छ हजार सात सय रुपैयाँ बराबरको तीन लाख तीन हजार ६७ कित्ता साधारण सेयर निष्कासन गरिरहेकोमा वैदेशिक रोजगारीमा रहेकालाई निष्कासन गरेको आईपीओ आज साँझ बैंकिङ्ग समयपछि बन्द गर्न लागेको हो । कम्पनीले वैदेशिक रोजगारेबाट मागभन्दा बढी मात्रामा आवेदन परिसकेकाले पूर्व निर्धारित समयबमोजिम आज निष्कासन बन्द गर्न लागिएको जानकारी दिएको छ । यता आयोजना प्रभावितले भने चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् । यो सेयरमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।