काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी यशस्वीका इन्टरनेसनल प्रालिको नाममा रहेको सात लाख ९९ हजार एक सय ६७ कित्ता र विश्वेस श्रेष्ठको नाममा रहेको ३८ हजार नौ सय ८२ दशमलव ५७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बैंकले नेपाल राष्ट्र बैंकबाट जारी एकीकृति निर्देशनबमोजिम संस्थापक सेयर बेच्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई नै दिनुपर्ने प्रावधानबमोजिम सो सेयर हाल हिमालयन बैंककै विद्यमान संस्थापक सेयरधनीले खरिद गर्न पाउने गरी बिक्रीमा राखिएको बैंकले जानकारी दिएको छ । इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा रहेको बैंकको कानुन विभागमा निवेदन दिनुपर्ने छ। तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट निवेदन प्राप्त नभएमा बाँकी सेयर सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ ।