काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपालले २७औँ फ्लोरा एक्स्पो (पुष्प मेला) आयोजना गर्ने भएको छ । एसोसिएसनले सोमबार पत्रकार सम्मेलन गरी चैत ५ देखि ८ गतेसम्म भृकुटीमण्डप काठमाडौंमा एक्स्पो सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।
‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका एक्स्पो सञ्चालन गर्न लागेको एसोसिएसनका वरिष्ठ उपाध्यक्ष एवं मेलाका संयोजक रामबहादुर तामाङले जानकारी दिए । उनका अनुसार फ्लोरा एक्स्पोमा व्यावसायिक स्टल–६५, अफिसियल स्टल–११, प्रतिस्पर्धा स्टल–दुई, फुड स्टल–दुई, ल्यान्डस्केप स्टल–एक, सेल्फी स्टल–एक, बी वाई डी इभी कारको स्टल एकसहित गरी जम्मा ८३ वटा स्टल रहनेछन् । मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीद्वारा उत्पादित फूल बिरुवाहरुका विभिन्न विधाअन्तर्गत उत्कृष्ट स्टल, उत्कृष्ट ल्यान्डस्केपिङ, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फुल्ने बिरुवा, उत्कृष्ट ल्यान्डस्केप, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेसन)मा प्रतिस्पर्धा गराइनेछ ।
प्रतिस्पर्धामा प्रथम तथा उत्कृष्ट हुन सफल पुष्प व्यवसायीलाई मेला नगद, सिल्ड तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने उनले बताए । साथै लामो समयदेखि निरन्तररुपमा पुष्प व्यवसाय गरिरहेको पुष्प व्यवसायीमध्येबाट एक जना छनौट गरी पुष्प व्यवसायीलाई कदर–पत्रद्वारा सम्मान गरिनेछ । एसोसिएसनले पुष्प व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष एक्स्पो गर्दै आएको छ । पुष्प व्यवसायको बिकास, विस्तार तथा प्रवद्र्धनका लागि फ्लोरिकल्चर एसोसिएसन नेपालले २०५१ सालदेखि निरन्तर रुपमा हरेक वर्ष क्षेत्रीय तथा राष्ट्रियस्तरको पुष्प मेला/प्रदर्शनी गर्न लागेको हो ।