काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना कर्जा ग्राहकहरूलाई लक्षित गर्दै ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने विशेष योजना सार्वजनिक गरेको छ ।
बैंकले जारी गरेको विज्ञप्तिअनुसार यस योजनामार्फत कर्जा उपभोग गरिरहेका ग्राहकहरूले आकर्षक ब्याज छुटको सुविधा पाउने छन् । विशेष गरी वि.सं. २०७९ साल चैत मसान्तअघि खराब वर्गमा वर्गीकृत भएका कर्जाहरूलाई लक्षित गरी योजना ल्याइएको हो । योजनाअनुसार सावाँ रकम एक करोड रुपैयाँसम्म भएका खराब तथा अपलेखित कर्जा ग्राहकहरूले वि.सं. २०८३ असार मसान्तभित्र तोकिएका सर्तहरू पूरा गरी ब्याज छुटसहित कर्जा चुक्ता गर्न सक्नेछन् । बैंकले यसलाई कर्जा व्यवस्थापन र ग्राहकलाई सहुलियत दिने अवसरका रूपमा प्रस्तुत गरेको छ ।
बैंकले सम्बन्धित सबै कर्जा ग्राहकहरूलाई उक्त सुविधा उपयोग गर्दै कर्जा नियमित वा चुक्ता गर्न आग्रह गरेको छ । यस योजनाले समस्याग्रस्त कर्जाको व्यवस्थापनमा सहयोग पुग्नुका साथै ग्राहकहरूलाई आर्थिक राहत मिल्ने विश्वास गरिएको छ । साथै वि.सं. २०८० वैशाख १ गते पश्चात् निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले वि.सं.२०८२ चैत्र मसान्तभित्र बक्यौता सावाँ, ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले बैंकको शाखा कार्यालयमा सम्पर्क गरी ब्याज छुट सुविधाको लाभ लिनसमेत बैंकले आग्रह गरेको छ ।