काठमाडौं । याङ्गो राइडले नेपालमा आफ्ना पार्टनर चालक तथा यात्रुका लागि कुनै अतिरिक्त शुल्कविना १० लाख रुपैयाँबराबरको बीमा सुविधा सुरु गरेको छ ।
यो बीमा सुविधा मार्च ३ देखि याङ्गोमार्फत गरिने प्रत्येक राइडमा स्वचालितरूपमा समावेश गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रतिराइड अधिकतम १० लाख रुपैयाँसम्मको बीमा कभरेज युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडद्वारा प्रदान गरिएको छ, जसमा खल्ती सुरक्षाले सहयोग गरेको छ । कम्पनीका अनुसार चालकका लागि राइड स्वीकार गरेदेखि नै बीमा लागू हुन्छ भने यात्रुका लागि पिकअपदेखि ड्रप पूरा नभएसम्म कभरेज रहनेछ । साथै, यो सुविधा डेलिभरी अर्डर पूरा गरिरहेका कुरियर पार्टनरहरूमा पनि लागू हुनेछ । दुर्घटना भएमा ३० दिनभित्र आवश्यक कागजातहरू (जस्तैः मेडिकल रिपोर्ट, बिल, र सडक दुर्घटनाको हकमा प्रहरी प्रतिवेदन)सहित युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडमा दाबी पेस गर्न सकिन्छ । सबै कागजात प्रमाणित भएपछि करिब १५ कार्यदिनभित्र भुक्तानी गरिने कम्पनीले जनाएको छ ।
याङ्गो राइड नेपालका कन्ट्री म्यानेजर सन्तोष पाण्डेले भने, ‘हाम्रा पार्टनर चालक, कुरियर र यात्रुहरूको सुरक्षा तथा हित हाम्रो प्रमुख प्राथमिकता हो । निःशुल्क इन–राइड बीमा सुरु गरेर हामी सबैलाई अझ सुरक्षित र ढुक्क भएर यात्रा गर्न सहयोग पुयाइरहेका छौँ ।’ कम्पनीका अनुसार यो सुविधा याङ्गोका प्रयोगकर्ता, पार्टनर चालक, कुरीयरलाई कुनै अतिरिक्त शुल्क नलिई प्रदान गरिएको हो ।