न्युयोर्क । संयुक्त राष्ट्रसंघले मंगलबार चेतावनी दिएको छ कि यदि पश्चिम एसिया युद्ध जुनसम्म जारी रह्यो भने थप चार करोड ५० लाख मानिसले भोकमरीको सामना गर्न सक्छन् ।
युद्धको तेस्रो हप्तासम्ममा सयौँको मृत्यु भएको छ र इरानले इजरायल र खाडी राष्ट्रहरूविरुद्ध प्रतिशोधात्मक आक्रमण गरेपछि इजरायलले लेबनानमा हेजबुल्लाहसँग पनि लडिरहेको छ ।
‘यदि पश्चिम एसिया द्वन्द्व जुनसम्म जारी रह्यो भने, थप चार करोड ५० लाख जनसंख्या महँगी वृद्धिका कारण तीव्र भोकमरीतर्फ धकेलिनेछ’, संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमका उपकार्यकारी निर्देशक कार्ल स्काउले जेनेभामा एक पत्रकार सम्मेलनमा भने, ‘यसले विश्वव्यापी भोकमरीको स्तरलाई अहिलेसम्मकै उच्च स्तरमा पु¥याउनेछ र यो एक भयानक सम्भावना हो’, उनले भने, ‘यसपहिले नै तीन करोड १९ लाख मानिसहरू तीव्ररूपमा खाद्य असुरक्षाको सिकार भइरहेका छन् ।’
स्काउले डब्ल्यूएफपीले फेब्रुअरी २८ मा युद्ध सुरु हुनुअघि नै ‘व्यापक खाद्य संकट’को सामना गरिरहेको उल्लेख गरे । चरम मौसमी घटना, द्वन्द्व र भोकमरीको घोषणा भइरहेका कारण उनले भने, ‘भोकमरी अहिलेजस्तो गम्भीर कहिल्यै भएको थिएन ।’ उनले पश्चिम एसिया युद्धका कारण डब्लुएफपीको कार्यलाई ‘धेरै खर्चिलो’ बनाइरहेको बताए ।
स्काउका अनुसार विशेष गरी बढ्दो इन्धनको मूल्य र लामो मार्गको कारण संस्थाले आपूर्ति शृंखलाको अवरोधको सामना गर्न कोशिस गरिरहेको छ तर यसको सञ्चालन लागत बढेको एएफपीले जनाएको छ ।