काठमाडौं ।नेपाल र चीन जोड्ने महत्वपूर्ण रसुवागढी नाकाको स्याफ्रुबेसीदेखि रसुवागढीको मितेरी पुलसम्मको हाल अति जीर्ण रहेको सडकखण्ड महिनामा १५ दिन बन्द गरेर तीन महिनासम्म द्रूत गतिमा पुनःनिर्माण हुने भएको छ ।गल्छी त्रिशूली मैलुङ स्याफ्रुबेसी–रसुवागढी सडक योजना नुवाकोटले बुधबार सार्वजनिक सूचना प्रकाशित गरी उक्त सडकलाई तीन महिनासम्म प्रत्येक महिना १५ दिन पूर्णरूपमा बन्द गरेर पुनःनिर्माण गरिनेछ । योजना प्रमुख कृष्णनाथ ओझाका अनुसार विगतमा तिब्बतमा आएको भारी वर्षा र त्यसपछि आएको बाढी÷पहिरोले सडक ध्वस्त पारेको थियो । हाल उक्त सडकखण्डको अधिकांश भाग साढे दुईदेखि तीन मिटरसम्म मात्र चौडा पारेर गाडी सञ्चालन गरिएको छ । साँघुरो सडकको कारण यातायात सञ्चालनमा अति कठिनाइ भइरहेको र वर्खा लागेपछि उक्त सडक थप क्षति हुने देखिएको कारण ढिला नगरी निर्माण गर्नुपर्ने भएकाले यातायात नै बन्द गरेर काम गर्न
लागिएको हो ।
उक्त सडकखण्ड चिनियाँ सरकारको पूर्ण अनुदानमा स्तरोन्नति÷पुनःनिर्माण हुन लागेको हो । त्यसका लागि चिनियाँ निर्माण कम्पनी फिल्डमा आएर बसिरहेको थियो । काम गर्र्दै यातायात पनि सञ्चालन गर्न दिँदा काममा बाधा पर्ने भएकाले चिनियाँ निर्माण कम्पनीको मागअनुसार नै सडक योजनाले स्थानीय प्रशासनसँगको समन्वयमा चैत १८ गते अर्थात् अप्रिल १ तारिकदेखि जुन महिना अर्थात् असार १७ गतेसम्मको तीन महिनामा ४५ दिन बन्द गरेर निर्माण गर्न लागेको हो । योजना प्रमुख ओझाका अनुसार पहिलो चरणमा अप्रिल १ तारिकदेखि १५ सम्म सडक पूर्णरूपमा बन्द गरिनेछ भने अप्रिल १६ देखि ३० सम्म खुला गरिनेछ । त्यस्तै, मे १ तारिकदेखि १५ सम्म पूर्णरूपमा बन्द गरेर निर्माणको काम गरिनेछ भने मे १६ देखि ३१ सम्म खुला गरिनेछ । जुन महिनामा पनि १ तारिकदेखि १५ तारिकसम्म बन्द गरेर काम गरिने र १६ देखि ३० तारिकसम्म खुला गरिनेछ ।
तीन महिनापछि कसरी निर्माण कार्यलाई जारी राख्ने भन्ने विषयमा चिनियाँ ठेकेदार र स्थानीय प्रशासनसँगको समन्वयमा काम गरिने पनि आयोजनाले जनाएको छ । उक्त सडकखण्ड तीन महिनासम्म पूर्णरूपमा बन्द गरेर निर्माणको काम गर्दा नेपाल–चीन व्यापार र आवतजावत नै प्रभावित हुने भएकाले प्रत्येक महिनामा १५ दिन खुला र १५ दिन बन्द गरेर निर्माण कार्य गर्न लागिएको हो । तर, बन्दको अविधमा पनि आपत्कालीन र अति आवश्यक सवारीसाधनहरू सञ्चालनमा भने निर्माण व्यवसायीले सहजीकरण गर्ने योजना कार्यालयले सूचनामार्फत जानकारी दिएको छ । साँघुरो सडक, एकातिर नदी र अर्कोतिर भीर रहेको कारण यातायात सञ्चालन हुन दिँदै काम गर्न नसकिने भएको कारण बन्द नै गरेर काम गर्न लागिएको हो । महिनामा १५ दिन खुला रहने बेला भने सजिलो ठाउँमा निर्माणको काम गरिनेछ ।