काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परिक्षण गर्ने भएको छ ।
महानगरले चैत १६ देखि निःशुल्क परीक्षण गराउने भएको हो । महानगरले क्यान्सरको प्रारम्भिक उपचारका लागि वीर अस्पतालसँग सम्झौता गरेको छ । कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको रोहबरमा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका निर्देशक प्राडा दिलीप शर्माकाबीच सम्झौता भएको हो । कार्यवाहक प्रमुख डङ्गोलले कार्यालयमा काम गर्ने, गृहिणी तथा अन्य विभिन्न पेसा व्यवसायमा काम गर्ने महिलालाई परीक्षण गराउन सहज पर्ने समय तालिका मिलाउन र धेरै समय कुर्न नपर्ने व्यवस्थापन गर्न निर्देशन दिएकी छिन् । सेवा सरल, सहज र पहुँच योग्य बनाउनु होला । अपाङ्गता भएका महिलाका लागि विशेष व्यवस्था गर्नुहोला । उनले भनिन्, ‘क्यान्सरबाट बच्ने उपायमध्ये नियमित परीक्षण गराउन एउटा विधि हो । यसका विषयमा भएका भ्रम र असजिला पक्षका विषयमा पर्याप्त जानकारी प्रवाह गर्नुहोला ।’
अस्पतालका निर्देशक प्राडा शर्माले गएको वर्षको सिकाइबाट यसवर्ष कार्यक्रमलाई थप प्रभावकारी बनाउने बताए । उच्चस्तरीय सेवा प्रदान गर्न हामी प्रयास गर्नेछौँ । प्राडा शर्माले भने, ‘मलाई लक्षण देखिएकै छैन, किन परीक्षण गराउनु भन्ने मानसिकताले अवस्था बिग्रिने गरेको छ । बिग्रिएको यो अवस्था सुधार गर्न लक्षण नभए पनि परीक्षण गराउनुपर्छ ।’ स्वास्थ्य विभागका प्रमुख केसीका अनुसार ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला, गएको वर्ष गरिएको परीक्षणका क्रममा छुट भएका महिला र गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिएका महिला परीक्षण र प्रारम्भिक उपचारको लक्षित समूह हुनेछन् । परीक्षण चैत यही १६ गतेदेखि सुरु हुनेछ । हरेक दिन सय जनादेखि एक सय २० जनासम्मको परीक्षण गर्नेगरी योजना कार्यान्वयन गर्ने कामपाको तयारी छ ।