काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो नाममा रहेका बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी दिन अनलाइन पोर्टल सार्वजनिक गरेको छ । उक्त पोर्टलमार्फत लिलाममा राखिएका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा स्थान पहिचानका लागि गुगल म्यापस्सहितको विवरण उपलब्ध गराइएको बैकले जानकारी दिएको छ । बैकका अनुसार ग्राहकले लिलामसम्बन्धी सूचनामा समावेश क्यूआर कोड स्क्यान गरी पोर्टलमा प्रवेश गरेर आवश्यक जानकारी लिन सक्नेछन् ।
यसका साथै, इच्छुक खरिदकर्ताले कुनै सम्पत्तिबारे थप जानकारी लिन चाहेमा पोर्टलमै रहेको म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल, मोबाइल नम्बर र ठेगाना उल्लेख गरी सिधै बैंकसँग सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ । बैंकले सो पोर्टलमा नियमित रूपमा नयाँ लिलाम सूचना तथा सम्पत्ति विवरण अद्यावधिक गर्दै जाने जनाएको छ । लिलाममा रुचि राख्नेहरूले अनलाइनमार्फत नै सम्पूर्ण जानकारी प्राप्त गरी लाभ लिन सक्ने विश्वास बैंकको लिएको छ ।