काठमाडौं । काठमाडौंस्थित एभरेष्ट इन्जिनियरिङ कलेजमा दुई दिने भौगोलिक सूचना प्रणाली (जीआईएस) सम्बन्धी तालिम आयोजना गरिएको छ । बुधबारदेखि सुरु भएको तालिममा २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ । सहभागीहरूलाई बिहीबार दीक्षित गरिने कार्यक्रम छ ।
आयोजकका अनुसार भौगोलिक योजना निर्माण, स्थानविशेषको भू–धरातलीय विशेषताअनुसार तथ्यांक विश्लेषण तथा त्यसका परिणामलाई नक्सामार्फत सहजरूपमा प्रस्तुत गर्ने सीप विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । जीआईएस प्रविधि पानी, हिमनदी तथा मौसम विज्ञानसँग सम्बन्धित अध्ययन र अनुसन्धानका लागि अत्यन्त महत्वपूर्ण उपकरणको रूपमा रहेको छ । उक्त तालिम नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह २०२६ को अवसरमा आयोजना गरिएको हो । विश्वव्यापीरूपमा प्रत्येक वर्ष मार्च महिनाको तेस्रो सातालाई जल सप्ताहका रूपमा मनाउने परम्पराअनुसार नेपालमा पनि विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । यस अभियानको नेतृत्व नेपाल सरकारको जल तथा ऊर्जा आयोगको सचिवालयले गरिरहेको छ ।
कार्यक्रम जल तथा मौसमविद् समाज–नेपालको तत्वावधानमा एभरेष्ट इन्जिनियरिङ कलेज, जल तथा मौसमविद् समाज–नेपाल, द स्मल अर्थ–नेपाल र युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजको संयुक्त आयोजनामा सञ्चालन भएको हो । तालिमको उद्घाटन सत्रमा द स्मल अर्थ–नेपालका प्रतिनिधि त्रिविक्रम बस्नेतले जीआईएस सीपको प्रयोगले अनुसन्धान र नीतिनिर्माणमा सकारात्मक प्रभाव पार्ने बताए । जल तथा मौसमविद् समाज–नेपालका अध्यक्ष तथा एभरेष्ट इन्जिनियरिङ कलेजका प्राचार्य प्रा. डा. हरिकृष्ण श्रेष्ठले जीआईएस सफ्टवेयर स्नातक तथा स्नातकोत्तर तहका अनुसन्धान कार्यमा उपयोगी हुने उल्लेख गर्दै सहभागीहरूलाई प्राप्त सीपको अधिकतम उपयोग गर्न आग्रह गरे । तालिमका प्रमुख स्रोत व्यक्तिका रूपमा नेपाल इन्जिनियरिङ कलेजका सहप्राध्यापक डा. रघुनाथ प्रजापति रहेका छन् ।