काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा भृकुटीमण्डपमा २७औँ फ्लोरा एक्स्पो–२०८२ सुरु भएको छ । ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित बिहीबारबाट सुरु भएको प्रदर्शनी चार दिनसम्म सञ्चालन हुनेछ ।
एक्स्पो उद्घाटन कार्यक्रममा फ्यानका अध्यक्ष राजेश भक्त श्रेष्ठले पुष्प व्यवसायको विकासका लागि नितिगत सुधार गर्न सरकारसंग आग्रह गरे । हालैको हावाहुरीका कारण पुष्प व्यवसायीहरूले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उनले त्यस्ता प्राकृतिक विपत्तिबाट हुने जोखिम न्यूनीकरणका लागि बीमा व्यवस्था प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिए । उनले हावाहुरीकै कारण केही व्यवसायी यस पटकको प्रदर्शनीमा सहभागी हुन नसकेको बताए । पुष्प क्षेत्रको दिगो विकासका लागि बीमा, नीतिगत सुधार र आधुनिक प्रविधिको विस्तार अपरिहार्य रहेको उनको भनाइ छ । उनका अनुसार हाल पुष्प ५२ जिल्लाको करिब २७० हेक्टर क्षेत्रफलमा फैलिएको छ । यस क्षेत्रमा १ हजार २३५ भन्दा बढी व्यवसाय संलग्न छन् भने करिब ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी लगानी रहेको छ ।
यस क्षेत्रबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५३ हजारभन्दा बढीले रोजगारी पाएको उनले जानकारी दिए । वार्षिक १० देखि १५ प्रतिशतसम्म माग वृद्धि भएपनि स्वदेशी उत्पादनले पूर्ण रूपमा धान्न नसकेको उनको भनाइ छ । उनले पुष्प प्रवर्धन नीति–२०६९ को पुनरावलोकन, अवैध आयात नियन्त्रण र आधुनिक प्रविधिको विस्तारमा सरकारको ध्यान जानुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले पुष्प व्यवसायलाई आर्थिक वृद्धिको सम्भावनायुक्त क्षेत्रका रूपमा उल्लेख गरे । यसले रोजगारी सिर्जना गर्नुका साथै नागरिकको मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने बताए । उनले सहरीकरणसँगै बढ्दै गएको मानसिक तनाव कम गर्न हरियाली र पुष्पको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । सचिव मिश्रले पुष्प व्यवसाय तीव्र रूपमा विस्तार भइरहेको भन्दै नीतिगत संरचना समयानुकूल अद्यावधिक गर्नुपर्नेमा जोड दिए । मन्त्रालयले सशर्त अनुदान कार्यक्रममार्फत पुष्प उत्पादन, आपूर्ति र बजार विस्तारलाई निरन्तरता दिने जानकारी दिँदै उनले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर काम भइरहेको बताए । साथै, अनुसन्धान र प्रविधिविकासमा निजी क्षेत्रसँग सहकार्य बढाएर सार्वजनिक–निजी साझेदारी मोडेललाई सुदृढ गर्नुपर्ने उनको धारणा थियो ।
बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले पुष्प व्यवसायलाई प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले स्मार्ट पुष्प व्यवसायका लागि बजेट विनियोजन भइसकेको जानकारी दिँदै आवश्यक कार्यविधि अर्थ मन्त्रालयमा स्वीकृतिको प्रक्रियामा रहेको उल्लेख गरे । मन्त्री पौडेलले पुष्प व्यवसायले अब आन्तरिकमात्र नभई अन्तर्राष्ट्रिय बजारसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने भएकाले प्रविधि प्रयोग, उत्पादन सुधार र दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।
काठमाडौँ उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठले पुष्प व्यवसायलाई आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकास गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । उनले नेपालमा पुष्प उत्पादन र निर्यातको ठूलो सम्भावना रहेको उल्लेख गरे । भन्सार तथा निर्यात प्रक्रियामा सहजीकरण गर्न उनले सरकारसंग माग गरे ।
प्रदर्शनीमा करिब ६० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने र १ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा ८३ वटा स्टल रहेका छन्, जसमा व्यावसायिक, प्रतिस्पर्धात्मक, फुड तथा ल्यान्डस्केपसम्बन्धी स्टल समावेश छन् । प्रदर्शनीमा मौसमी फूल, आलंकारिक बिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोस्ट, कृषि औजार तथा आधुनिक पुष्प खेती प्रविधिको प्रदर्शन तथा बिक्री भइरहेको छ । साथै विभिन्न विधामा उत्पादन प्रतिस्पर्धा पनि आयोजना गरिएको आयोजकले जनाएको छ । सरोकारवाला निकायहरूले पुष्प क्षेत्रलाई रोजगारी, आर्थिक वृद्धि र निर्यात सम्भावनाको प्रमुख आधारका रूपमा विकास गर्न सरकार, निजी क्षेत्र र अन्य साझेदारबीच सहकार्य अपरिहार्य रहेको बताएका छन् ।