काठमाडौं । एकल कृषि कर्जा सुरक्षण योजनासम्बन्धी कार्यशाला सम्पन्न भएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोष र यूएनडीपीको सहकार्यमा सुर्खेतको विरेन्द्रनगरको होटल स्क्वायरमा एकल कृषि कर्जा सुरक्षण योजनासम्बन्धी एक कार्यशाला सम्पन्न भएको हो । कोषका अनुसार बिहीबार सुर्खेतमा भएको कार्यशालामा कोष, यूएनडीपी तथा कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशका नौ स्थानीय तहका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
निक्षेप तथा कर्जा सुरक्षण कोष, यूएनडीपी तथा छानिएका नौवटा स्थानीय तहहरूको संयुक्त योगदानमा छुट्टै कोष खडा गरी कृषिसंग सम्बन्धित तोकिएका क्षेत्रमा लगानी गर्न र आम जनताको कर्जामा पहुँच अभिवृद्धि गर्न एकल (ऋणीगत) कर्जा सुरक्षण कार्यक्रम सुरुवात गर्न नमुना परियोजना लागू गर्ने कार्य प्रक्रियामा रहेको छ । यसै सन्दर्भमा परियोजनाका लागि छनोट भएका नौ स्थानीय तहहरूको पृष्ठपोषणका लागि यस कार्यशाला आयोजना गरिएको कोषको भनाइ छ ।
कोषका अनुसार यस नमुना कार्यक्रमका लागि कर्णाली प्रदेशबाट जुम्लाका चन्दननाथ, पातारासी र तातोपानी गरी तीनवटा तथा सुर्खेतको बीरेन्द्रनगर गरी कुल ४ स्थानीय तह, सुदूरपश्चिमका बाजुराका बुढीगंगा, बुढीनन्दा र त्रिवेणी गरी ३ तथा कैलालीको धनगढी गरी कुल ४ स्थानीय तह र बागमती प्रदेशबाट काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका छनोट भएका थिए ।