काठमाडौँ । लागुऔषधसहित नियमित गस्तीमा रहेको प्रहरी टोलीले विभिन्न स्थानबाट २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बैङ्ककबाट नेपाल एयरलाइन्सको विमानमा आएका एक जना भारतीय नागरिकलाई त्रिभुवन अन्तरराष्ट्रिय आगमनकक्षबाट पाँच किलो गाँजासहित पक्राउ गरिएको हो ।
यसैगरी, काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट एक जना, नागार्जुन नगरपालिका–६ शरणपुरचोकबाट ७३ किलो गाँजासहित दुई जना, नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूलीबाट पाँच जना, मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीबाट एक जना र पोखरा नगरपालिका–२७ सैनिकबस्तीबाट एक जनालाई पक्राउ गरिएको हो ।
खैरो हेरोइनसहित बाँकेको कोहलपुर नगरपालिका–१५ अक्कलघरुबाट आठ जना, सोही नगरपालिकाको ढोरपुरबाट एक जना, दाङको घोराही उपमहानगरपालिका–१८ गाउँबेँसी टोलबाट पाँच जना र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बाट एक जनालाई पक्राउ गरिएको छ । उनीहरुलाई बुधबार र बिहीबार पक्राउ गरिएको उक्त समाचारकक्षले जनाएको हो ।