काठमाडौं । इरान द्वन्द्वका कारण प्रभावित ७८ हजार नेपालीले आफ्नो व्यक्तिगत विवरण सरकारलाई टिपाएका छन् । विवरण टिपाउनेमा सबैभन्दा धेरै कतार र संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका नेपाली छन् ।
कतार र यूएईमा रहेका करिब ३०÷३० हजारको संख्यामा रहेका नेपालीले विवरण भरेका छन् । इजरायलमा रहेका पाँच हजार जनाभन्दा बढीले व्यक्तिगत विवरण भरेको पराराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । सरकारले द्वन्द्वका कारण असहज परिस्थितिका कारण त्यहाँ रहेका नागरिकहरूको उद्धार तथा आवश्यक सहायता गर्ने उद्देश्यले विवरण भर्न आग्रह गरेअनुरूप उनीहरूले व्यक्तिगत विवरण परेका हुन् ।
कन्सुलर विभागले सञ्चालन गरेको अनलाइन पोर्टलमा नेपालीहरूले विवरण भरेका हुन् । फागुन २० गतेदेखि अनलाइन सञ्चालनमा ल्याइएको हो । परारष्ट्र मन्त्रालयका अनुसार धेरैजसो युद्ध प्रभावित क्षेत्रमा रहेका नेपालीहरूले विवरण भरेका छन् । पहिलो चरणमा सात हजार र त्यसपछि क्रमशः २० देखि ३० हजार नेपालीले भरेको व्यक्तिगत विवरणको संख्या बढ्दै गएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोक बहादुर पौडेल क्षेत्रीले बताए । प्रवक्ता क्षेत्रका अनुसार विवरण भर्नेमध्ये करिब छ हजार जनाले असुरक्षित रहेको भन्दै विवरण भरेका छन् ।
‘द्वन्द्व नजिकको क्षेत्रमा रहेको र आफूहरूलाई उद्वारका आवश्यक पर्ने भन्दै उनीहरूले विवरण भरेका छन्’, उनले भने, ‘उनीहरूका आवश्यकताअनुरूप सुरक्षित स्थानमा राख्ने तथा आवश्यक परेमा उद्धारको व्यवस्था समेत गर्नेछौँ ।’
द्वन्द्वरत मुलुकमा रहेका नेपाली राजदूतावासहरूमार्फत नेपाली नागरिकहरूको विवरण संकलन गर्ने कार्य गरिएको हो । विवरण व्यक्ति स्वयम्ले भर्ने तथा भर्न नसक्ने अवस्था भएमा साथीभाई, आफन्त तथा नेपाली नागरिकलगायतका सहयोगमा समेत विवरण भर्न सक्ने सुविधा सरकराले उपलब्ध गराएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले युद्ध प्रभावित मुलुकमा रहेका नेपालीहरूलाई उनीहरूको आवश्यकताअनुरूप व्यवस्थापन गर्न सम्बद्ध निकायलाई निर्देशन दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले युद्ध प्रभावित मुलुकमा रहेका र ट्रान्जिटमा अलपत्र परेका नेपाली नागरिकहरूको उद्धारलाई प्रभावकारी बनाउने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद् बैठकले पश्चिमी एसियाली मुलुकहरूमा रहेका नेपालीहरूको तत्काल राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन विदेशस्थित नेपाली राजदूतावासहरू रियाद, अबुधाबी, दोहा, कुवेत सिटी, मन्मा, मस्कट, इस्लामाबाद, काइरो र तेल अबिब तथा नेपाली महावाणिज्यदूतावासहरू जेद्दा र दुबईले आवश्यक व्यवस्थापन गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको थियो । सरकराको निर्देशनबमोजिम द्वन्द्व प्रभावित नेपाालीका लागि विवरण लिने कामका साथै आवश्यक व्यवस्थापन गरिएको प्रवक्ता क्षेत्रीले बताए ।
गैरआवसीय नेपाली संघ (एनआरएनए)ले पनि द्वन्द्व प्रभावित मुलुकमा रहेका नेपालीहरूलाई सहजीकरण गरिरहेको बताएको छ । संघका तत्कालीन अध्यक्ष डा. बद्री केसीले द्वन्द्वरत मुलुकका विभिन्न विमानस्थलमा रहेका नेपालीहरूलाई खान बस्नको सहज व्यवस्था गरिएको बताए । ‘द्वन्द्वरत क्षेत्र छोडेर विमानस्थलमा आश्रय लिन आएका नेपालीहरूलाई खान र बस्नको उचित व्यवस्था गरेका छौँ’, डा. केसीले भने, ‘यो संख्या करिब १० हजारको रहेको थियो, जसमध्ये युएइमा ठूलो संख्यामा नेपालीहरूलाई संघले व्यवस्थापन गरेको छ ।’
यूएई, कतार, साउदी अरबियालगायतका खाडीका सबै मुलुकहरूमा सानो र ठूलो संख्यामा नेपालीहरू प्रभावित भएको उनको भनाइ छ । संघले आवश्यक सहयोग गर्दै आएको जनाएको छ । इजरायलमा कार्यरत ३४ वर्षीय अमृत केसीले आफू सुरक्षित रहेको बताए । द्वन्द्वको क्रममा मिसाइल, बमलगायतका आवाज सुने पनि आफूहरू सुरक्षित तवरमा रहेको बताए । इजरायलमा छ हजार पाँच सय र इरानमा १० जना नेपाली रहेका छन् । जसमध्ये चार जना फर्किसकेका छन् ।
श्रमविज्ञ डा. गणेश गुरुङले द्वन्द्वका कारण आप्रवासी श्रमिकहरू तथा नेपालीहरू समस्यामा परेका छन् उनीहरूको उद्धार र राहतमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउँछन् । खाडी मुलुकमा रहेको नेपालीहरूको विवरण संकलन गरेर सरकराले राम्रो काम गरेको छ’, उनले भने, ‘उनीहरूको अवस्था हेरेर उद्धार तथा राहतको व्यवस्थापन गर्नु पनि सरकारको कर्तव्य हो ।’
द्वन्द्वरत मुलुकमा १७ लाखभन्दा बढी नेपाली रहेको सरकराले तथ्यांक सार्वजनिक गरेको थियो । पछिल्लो समय विभिन्न एयरलाइन्सले द्वन्द्वका बाबजुद पनि सुरक्षिततवरले उडान भरेका थिए । कतार एयरवेज, फ्लाई दुबाई र नेपाल एयरलाइन्सले द्वन्द्वरत मुलुकमा उडान भरेका छन् । ती एयरलाइन्स कम्पनीहरूले काठमाडौं–दोहा, काठमाडौं–दुबाई उडान भरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।
अन्य कम्पनीहरूले मलेसियाका विभिन्न सहर, ढाका, दिल्लीलगायतका स्थानमा उडान भरेका छन् । द्वन्द्वका सुरुवाती दिनमा उडान बन्द भए पनि पछिल्लो समय सुरक्षालाई मध्यनजर गर्दै सुरक्षित तवरले विभिन्न कम्पनीले उडान तालिका सार्वजनिक गरेका छन् । फलाइट राडरका अनुसार इरान र इराकको आकाशामा जहाजहरूले उडान भरेको देखिँदैन भने यूएई, कतार, ओमान, साउदी अरबिया र स्वय इजरायलको आकाशमा समेत व्यावसायिक उडान भरेको देखिन्छ । व्यावसायिक उडानका कारण द्वन्द्वरत मुलुकमा समस्यामा परेका आप्रवासी श्रमिकहरू आफ्नो मुलुक तथा सुरक्षित मुलुकमा जान सहज हुने देखिन्छ ।
सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा सात जना पक्राउ
पराराष्ट्र मन्त्रालयले द्वन्द्वको भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा राखी अफवाह फैलाएको आरोपमा सात जना नेपाली पक्राउ परेका छन् । मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेलले इजरायल–अमेरिका र इरानबीच जारी युद्धको क्रममा ड्रोन ताथ मिसालइको फोटो, भिडियो खिच्ने र सामाजिक सञ्जालमा राखेको आरोमा सात जना नेपालीलाई पक्राउ गरिएको बताए । उनका अनुसार यूएईमा तीन, साउदी अरबमा तीन र कुवेतमा एक नेपाली पक्राउ परेका हुन् । ती मुलुकहरूले सरकारले दिएको निर्देशनविपरीत काम गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका नेपालीहरूलाई त्यहाँको सरकारले गरेको कानुन व्यवस्थाअनुरूप कैद र करिब ३० देखि ४० लाखसम्म जरिबाना तिनुपर्ने हुनसक्ने उनको भनाइ छ ।
खाडी मुलुक तथा इरानले द्वन्द्वको फोटो, भिडियो खिचेर द्वन्द्वलाई प्रोत्साहन हुने तथा अन्य व्यक्तिहरूलाई मानसिक तनाव दिन हुने काम नगर्न आग्रह गर्दै आएको छ । मन्त्रालयले समेत खाडी लगायतका मुलुकहरुमा रहेको नेपालीहरुलाई द्वन्द्वको फोटो, भिडियो नखिच्न तथा प्रचरप्रसार नगर्न आग्रह गर्दै आएको छ ।