अचेल सामाजिक संजाल (ठूला घराना मिडिया)मा आएका समाचारहरूमा कुन झटो कुन साँचो आफैँले छुट्याउनु पर्ने हुन्छ । बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीको सपथ लिन साइत कुरिरहेका छन् भन्ने आएको समाचार कति साँचो हो ? म भन्न सक्दिन । तर कत्ति चाहिँ किटेर भन्नसक्छु भने, विगत १२ वर्षदेखि अस्पतालको लासगृहमा सडिरहेको अनसनकारी नन्दप्रसाद अधिकारीको शव (०७२को संविधान)लाई क्याविनेटको पहिलो निर्णयबाट आर्यघाट पु¥याएर दाहसंस्कार सदगत गरिँदैन तबसम्म दुनीयाभरिका (सनातन धर्म प्रभाव क्षेत्र) कुनै पनि साइतले काम नगर्ने पक्का छ । किनभने दुनीयाका कुनैपनि राज्यसत्तलाई आफ्ना नागरिकको एउटा लास १२ वर्षसम्म दाहसंस्कार सदगत गर्न नसक्ने छुट हुन्न । यस्तोलाई पापको घडा भरिएर छताछुल्ल पोखिएको भनिन्छ जुन भाद्र २४ गते ओली, देउवा, प्रचण्डको विजोग देखियो । ‘नन्दप्रसाद अधिकारीको लासमाथि टेकेर भोलेबाबा पशुपतिनाथले ताण्डव नृत्य प्रारम्भ गर्नुभएको छ । त्यही ताण्डव नृत्यबाट छुटेका अस्त्रहरू तिरहरूका शिकार भएका हुन् कांग्रेस, एमाले, राप्रपा, माओवादी, मधेशवादी आदि इत्यादि दलहरूको पछिल्लो विजोग । बालेन प्रधानमन्त्री भएपछि पशुपतिनाथको तेश्रो नेत्र खुल्ने सम्भावना छ‘ सनातन वैदिकशास्त्री प्राडाहरू या भविष्यद्रष्टा चिनारी बनाएका ज्योतिषाचार्यहरूका यस्ता टिप्पणी भविष्यवाणी पनि यतिखेर सामाजिक संजालहरूमा भाइरल रुपमै उपलब्ध भइरहेका छन् । मैले चाहिं ‘शपथको साइत‘ सन्दर्भ आइहालेकाले यतिकुरा ल्याएको हुँ ।
२१ फागुन ०८२ को चुनाव परिणामले ०४८ सालको बहुदलीय चुनाव यताको राष्ट्रिय राजनीतिक परिदृष्यमा एउटा आम अभूतपूर्व आमूल परिवर्तनतर्फको बन्द ढोका खोलिदिएको छ । अब आमूल परिवर्तनकामी नवजागरणको विजारोपण भइसकेको छ । त्यो टुसाउन, फक्रिन र फल लाग्न थाल्न केही समय पर्खने धैर्य र संयम राख्न सक्नुपर्छ । ०४८ को चुनाव यता विगत ३४ वर्षको प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र नामको सत्ता क्याप्चर मनपरितन्त्र, लुटतन्त्र, जनघात, राष्ट्रघातका सबै लगौटी, विकनी उत्रिसकेका छन् ।
मेरा दृष्टिमा २००७ साल यताका यी दुईसाल विक्रम सम्वत् २०२७ साल र वि.सं २०८२ साल नेपालको सार्वभौमिकता र स्वाभिमान रक्षाका दृष्टिले अत्यन्तै ऐतिहासिक प्राइमरी स्कुलसम्म अनिवार्य पाठ्यक्रम पुग्नुपर्ने खालका छन् । १९ वर्षदेखि नेपालका पन्ध्र पहाडी जिल्लाका १८ ठाउँमा गाडिएका (नेपाल आमाको छातिमा) भारतीय सैनिक पोस्ट (सार्वभौमिकता मुट्ठीको माखो) उखेल्न राजा महेन्द्र (माओत्सेतुङको आड) सफल भएका ०२७ साललाई ऐतिहासिक अनिवार्य पाठ्यक्रम भनेको हुँ । ०२७ साल राजा न्यायाधीश बनेका बेला थियो भने ०८२ साल जनता न्यायाधीश बनेका बेला हुन पुगेको छ । जनताको सामूहिक नाम ‘जनता जनार्धन‘ हो । जनार्धन अर्थात् नारायण न्यायाधीश बनेका बेला अन्याय हुने कुरै भएन ।
यहाँ आइपुगेर अगाडिको बाटो हिड्नलाई अलिकति विगत बहुदलकाल, गणतन्त्रकालको छानबिन पाठ्यक्रम अनिवार्य हुन जान्छ । यसमा बहुदलकालको एक र गणतन्त्रकालको एकगरी दुई उदाहरणबाट छर्लङ्ग हुने ठान्दछु । नवजागरण चेतनाले नियालेर हेरियो भने यी दुई उदाहरण बहुदलकाल, गणतन्त्रकालको खोटो सोच, समझ, नियत, हर्कत ऐनामा झैं सम्पूर्ण उदाङ्गो हुन्छ । हिडेको बाटो थाहा नभइ पुग्ने बाटो पत्तो हुँदैन ।
(१) बहुदलकालको उदाहरण
यो उदाहरण प्रतीक घटनाको प्रत्यक्ष साक्षीपात्र पंक्तिकार स्वयं हो । म फाँसी या जन्मकैदको राजकाज मुद्दामा लगातार साढे पाँचवर्ष पटक पटकगरी ७ वर्ष जेल बसेको कांग्रेसको एक होनहार जगेडा नेतृत्व बीपीको सल्लाहमा किशुन (कृष्णप्रसाद भट्टराई १८ वर्ष कांग्रेसका कार्यकारी अध्यक्ष पूर्व प्रधानमन्त्री)जीले साइडजब गर्न अह्राएकोले पंचायतकालदेखि नै पत्रकारितामा थिएँ र मेरो लेख छापेर पत्रिका बन्द (रहस्य साप्ताहिक) सम्पादक (मुरारी प्रसाद गौतम) जेल जाने आफू पनि जेलजस्ता घटना बहुदल आउनु अघिसम्मलाई सामान्य नै भइरह्यो । बहुदल आएपछि पनि पत्रकारिता चिन्तन, मनन लेखनको भूमिका अहं जस्तो लागेर २५ वर्ष सक्रिय पत्रकारिता लेखन बायोडाटा पनि बनाएँ । बहुदल आएर ०५१ को गिरिजाको मध्यावधीबाट अस्थिरता, अराजकताका घातक किटानु क्यान्सरको खतरा संकेत हुन थालीहाल्यो । यही कालखण्डमा हो सत्ताका लागि सिद्धान्त मूल्य मान्यता आदर्श कुल्चेर कांग्रेसले सूर्यबहादुर थापा र एमालेले लोकेन्द्र बहादुर चन्दलाई प्रधानमन्त्री बनाए । त्यसपछि देखि नै सुन तस्करीदेखि सारा भ्रष्टाचार कालोबजारी सांसद किनबेच पार्टी कार्यालय (एमाले)मा सुरासुन्दरी (नीलो फिल्म) काण्ड थाइल्यान्डका रण्डी बजारमा नेपाली सांसदका रुम बुक यस्ता फोहोरी सत्ताखेलका मुख्य नायक गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, खड्गप्रसाद ओली, शेरबहादुर देउवा, खुमबहादुर खड्का, ईश्वर पोखरेल हुँदैहुँदै त्यसपछि त सबै दलहरू फोहोरी आहालमा चुर्लम्मै डुबिहाले । ०४७ को संविधान च्यातियो । कुरै सकियो ।
बिहानीले दिनको संकेत दिन्छ भनेजस्तै यहाँ बहुदलकालको अन्तर्य आन्द्राभूँडी छर्लङ्ग देखिने ऐना उदाहरण घटना चाहिं ०५१ को मध्यावधिपछि सत्ताको साँचो राप्रपा (सूर्यबहादुर, लोकेन्द्र बहादर) को हातमा आइपुगेका वखतको हो । मनमोहन अधिकारी प्रधानमन्त्री (एमाले अल्पमतको सरकार), प्रमुख प्रतिपक्षि नेता शेरबहादुर देउवा (कांग्रेस) सत्ताको साँचो बोकेका सूर्यबहादुर थापाचाहिं पत्रकारसँग लुकेका लुकै । पञ्चायतकालको लेखकीय प्रतिबन्ध झेल्दै वरिष्ठ पत्रकार उपाधी पाएको यसवखतसम्म पत्रकारितामा रहँदा ‘दाजु पत्रकार‘मा गिन्ती भइसकेको थिएँ । एक भाइ पत्रकारले भने– ‘दाजु मनमोहन सरकारलाई ढाल्न कांग्रेस एकमहिनादेखि सूर्यबहादुर थापाको पछि लागेको छ । तर थापा पत्रकारसामु पर्नै चाहन्नन्‘ पत्रकार भाइको गुनासो भित्र उपाय निकाल्ने आग्रह पनि लुकेको थियो । ‘हुन्छ भाइ म कोशिस गरिहेरौला‘।
अन्तरवार्ताको विषय थियो मनमोहन सरकारका सय दिन । त्यहाँ कांग्रेससँग गठबन्धन सरकारको नेतृत्वको प्रश्न पनि उठिहाल्दथ्यो । त्यहि प्रश्नसँग भाग्नका लागि सूर्यबहादुर पत्रकारसँग लुकेका थिए । त्यसमा लुक्नुपर्ने कुरा के छ र भन्दै राप्रपा अफिस पुगें । संयोगले पितृ सोच सेतो लुगामा रहनुभएका राप्रपाका ठूलै नेता डा. प्रकाशचन्द्र लोहनी भेट हुनुभयो । मैले त चिनीहाले ‘अरे डाक्टरसाहेव‘ भनें उहाँले मलाई चिन्ने सन्दर्भ थिएन । ‘तपाई को‘ सोध्नुभयो ? मैले आफ्नो नाम भने । ‘त्यो पत्र पत्रिकामा नियमित स्तम्भ लेखिरहने रेवतीरमण सुवेदी तपाइकै नाम हो‘ ? ‘हो‘ भने । ‘ओ हो कति धेरै लेख्नसक्नुभएको‘ आश्चर्य प्रकट गर्नुभयो । ‘नेता (तपाई)को भाषण र पत्रकारको लेखनमा धेरै थोरै भन्ने केहि अर्थ रहन्न‘ । त्यस प्रथम भेटमै चिनारी आत्मीय सरल भयो । भन्नुभयो ‘तपाई आइहाल्नुभयो भोलि ठिक ११ बजे यहि पार्टी अफिसमा आउनुहोस् अध्यक्ष ज्यू पनि आइपुग्नु हुन्छ‘ । डाक्टर लोहनीले यति भनेपछि भोलिपल्ट ठिक ११ बजे पुगें । ‘मलाई राजा चाहिएको होइन राजालाई म चाहिएको हो‘ भन्ने राजाका अगाडि धक्कु जमाउन सक्नु थापाको एउटा जंगे व्यक्तित्व थियो । म पुग्नासाथ कार्यालय सचिवले एकघण्टा अध्यक्ष ज्यूलाई एक्लै छोडिदिन जिल्ला जिल्लाबाट आएका नेताहरूलाई उर्दि जारिगरे । अध्यक्षको च्याम्बर ५०/६० कार्यकर्ता अट्नसक्ने ठूलो हल जस्तो केठा हामी दुईमात्र आमने सामने भयौं । ‘हाम्रो कुरा नसकुन्जेल कसैलाई भित्र पस्न नदिनु‘ थापाले कार्यालय सचिवलाई अह्रउँदै गर्दा खोइ कसरी हो अहिले पनि संसयमा छु एक्कासी मेरो मुखबाट रावण शैलीको अट्टहास हाँसो उठ्यो । थापा छक्क परे । रिसाए । किन हाँसेको हकारेको शैलीमा जंगिए । मलाई लाग्छ धेरै कमैले त्यस रुपको थापा जंगेको सामना अनुभव गर्नपाएका होलान् । सम्हालिँदै हत्त र पत्त भने– ‘तपाईलाई देख्नासाथ खोकनाको एउटा कार्टुन स्मृतिमा ताजा भएर हाँसो थाम्न सकिन‘ । ‘कस्तो कार्टुन‘ जंगे शैलीमै तर अलिकति मथ्थर आवाजमा सोधे । ‘मनमोहन अधिकारी र गिरिजा कोइराला मकैबारी जोत्नका लागि जुवामा नारिएका छन् तपाइँ चाहिं हलोको अनउ समाएर पच्पच् भनिरहनुभएको छ‘ । कार्टुनको यति चित्र सुनाएपछि अब कोठाका सिसा फुट्नेगरी हाँस्ने अट्टहास गर्ने पालो थापाको थियो । हाँसे । ००७ साल यताको राजनीतिक वृत्तमा सूर्यबहादुर थापाको अट्टहास शैलीको हाँसो अरु कसैको गुगुलमा अभिलेख भेटिदैन ।
(२) गणतन्त्रकालको उदाहरण
यसमा छर्लङ्ग हुन बहुदलकालको सत्ताका लागि गोरु भएका खोकनाको कार्टुन विवरण जस्तो लम्बेतान जानै पर्दैन । सटकटमा ०७२ को संविधानको आन्द्राभुँडी सबै छताछुल्ल वारपार प्रष्ट देखिन्छ । एउटा नाम छ सुशीला कार्की । नेपालकी प्रथम महिला प्रधानन्यायाधीश र प्रथम महिला प्रधानमन्त्री एउटा ऐतिहासिक पात्रता पाठ्यक्रम बनेको छ । लिपुलेक, लिपियाधुरा, कालापानी भारतको नक्शाभित्र पुगेको देश बेचेको देखेर नक्क्ली भूटानी शरणार्थी काण्डदेखि भिजिट भिसासम्म मानिस बेचेका मानव तस्करीमा भेटेपछि यिनले (सुशीला कार्की)दुनीयाँले सुन्नेगरी गुगलमा भाइरल भनिन् ‘अब यिनीहरू (कांग्रेस, एमाले, माओवादी देउवा, ओली, प्रचण्ड)ले नेपाली जनताको छाला काढेर सुकाएर बेच्नमात्र बाँकी छ । अरु सबै कुशासन लुटतन्त्रको सीमा नाघिसकेको छ‘ । सुशीला कार्कीको यस कथनले छर्लङ्ग पारेको गणतन्त्रको कुहिएको गन्हाउने परिणाम पछि पनि यदि कोहि प्राडाहरू व्यवस्था ठिक व्यक्ति खराव गीत गाइरहन्छन भने तिनीहरू या त नेपालीका छाला काढेर सुकाएर बेच्ने तयारी गरिरहेकाहरू्रका मतियार कारिन्दा हुन् या परमानेन्ट हेड ड्यामेज (पीएचडी) हुन् । यसपछि यस गणतन्त्रकालको ऐना छर्लङ्ग हुन भन्न बाँकी केही रहँदैन ।
अगाडिको बाटो हिड्नलाई हिडीसकिएका बाटोको जानकारी राख्नु अनिवार्य भएकाले बहुदलकाल र गणतन्त्रकालको सम्पूर्ण हिडाइ छर्लङ्ग हुनेमाथि उल्लिखित दुई उदाहरण घटनामा ध्यान टिकोस् भन्ने ध्येयले यस स्तम्भको यही विट मार्छु । अस्तु ।