काठमाडौं । नेपाल टेलिकमको प्रि–पेड रोमिङ सुविधा अब ६२ देशमा प्रयोग गर्न सकिने भएको छ । यसका लागि ती देशका ८९ सेवा प्रदायकसँग नेपाल टेलिकमले सम्झौता गरेको जनाएको छ ।
कम्पनीले चालू आर्थिक वर्षमा लाटभिया, स्लोभेनिया, टर्की, ताइवान–आरओसी, घाना, रोमानिया र लाओस, पाकिस्तान, बेलारुस र श्रीलंकाका विभिन्न सेवाप्रदायक संस्थासँग सम्झौता गरेको हो । टेलिकमले पहिलेदेखि नै अन्य विभिन्न देशहरूमा यो सुविधा उपलब्ध गराइरहेको छ । कम्पनीका अनुसार अष्ट्रेलिया, अष्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, बेलारुस, बुल्गेरिया, क्यानडा, चीन, क्रोएसिया, साइप्रस, डेनमार्क, इजिप्ट, जर्मनी, घाना, ग्रीस, हङकङ, हंगेरी, आइसल्यान्ड, भारत, इन्डोनेसिया, आयरल्यान्ड, इजरायल, इटाली, जापान, कजाकस्तान, कुवेत, लाटभिया, लिच्टेन्सटाइन र लक्जेम्बर्गमा रोमिङ सेवा प्रयोग गर्न सकिन्छ ।
त्यसैगरी मलेसिया, मकाउ, माल्टा, मौरिसस, मेक्सिको, म्यानमार, नेदरल्यान्ड, न्युजिल्यान्ड, नर्वे, ओमान, पाकिस्तान, फिलिपिन्स, पोर्चुगल, कतार, रोमानिया, रसिया, साउदी अरेबिया, सिंगापुर, स्लोभेनिया, दक्षिण कोरिया, श्रीलंका, स्विडेन, स्विजरल्यान्ड, ताइवान–आरओसी, थाइल्यान्ड, टर्की, यूएई, यूके, यूएसए, उज्वेकिस्तान, भियतनाम र लाओसमा समेत रोमिङ सेवा सेवा प्रयोग गर्न सकिन्छ । रोमिङ सेवाअन्तर्गत भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिन्छ । आगामी दिनमा क्रमशः अन्य देशहरूमा समेत यो सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ । टेलिकमले विदेशमा जाने वा बस्ने नेपालीहरूलाई लक्षित गरी उपलब्ध गराएको विभिन्न सेवामध्ये रोमिङ सेवा निकै नै उपयोगी रहेको जनाइएको छ ।
प्रि–पेड मोबाइल प्रयोगकर्ताका लागि टेलिकमले भारतबाहेक अन्य देशमा रोमिङ सेवा स्वतः सुचारु हुने सुविधा उपलब्ध गराएको छ । भारतका लागिचाहिँ आफ्नो मोबाइलबाट स्टार१४१५स्टार७ह्याक्स डायल गरी मेनुमा गएर रोमिङ विकल्प छान्नुपर्ने हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताको हकमा सेवा सुचारु गर्न मोबाइलमा कम्तीमा पाँच हजार रुपैयाँ ब्यालेन्स रहेको हुनुपर्छ । प्रयोगकर्ता नेपालमा भएको अवस्थामा आफ्नो मोबाइलबाट स्टार१४१५स्टार७ह्याक्स डायल गरी सेवा सुचारु गर्न सकिन्छ ।
नेपालमा भएको समयमा रोमिङ सेवा एक्टिभ नगरी विदेश गएमा त्यहीँबाट पनि यो सेवा एक्टिभ गर्नको लागि इमेलमार्फत अनुरोध गर्न सकिने कम्पनीले जनाएको छ । इमेलमार्फत प्राप्त भएको सेवा एक्टिभेसन अनुरोधलाई नेपाल टेलिकमको रोमिङ सपोर्ट टिमले प्रमाणीकरण गरी नियमपूर्वक अनुरोध प्राप्त प्रि–पेड मोबाइलमा रोमिङ सेवा उपलब्ध गराइन्छ । भारतबाहेक अन्य देशहरूमा सोही देशको मोबाइल नेटवर्कमा स्वतः रूपमा कनेक्ट हुने र भारतमा भने प्रि–पेड तथा पोष्टपेड दुवै मोबाइल प्रयोगकर्ताले म्यानुअलरूपमा नै नेटवर्क चयन गर्नुपर्ने हुन्छ ।