काठमाडौं । गरिमा सुवर्ण योजनाको इकाइको खरिद अवधि थप भएको छ । गरिमा क्यापिटल लिमिटेडले फागुन २८ गतेदेखि निष्कासनमा ल्याएको आफ्नो पहिलो खुलामुखी योजना, गरिमा सुवर्ण योजनाको इकाइ खरिदका लागि आवेदन दिने म्याद थप गर्दै चैत १२ गतेसम्म कायम गरेको हो ।
कम्पनीका अनुसार यो योजनाको आकार एक अर्ब रुपैयाँ रहेको छ । यद्यपि, क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको पाँच करोड इकाइमात्र बिक्रीमा ल्याएको हो । निष्कासन गरिएको कुल इकाइमध्ये ९० लाख इकाइ कोष प्रवर्धक गरिमा विकास बैंकलाई र ६० लाख इकाइ योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ । क्यापिटलले बाँकी रहेको ३५ करोड रुपैयाँ बराबरको प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यको तीन करोड ५० लाख इकाइ सर्वसाधरणलाई बिक्री गरेको हो । यो एक खुलामुखी योजना भएकोले बाँकी रहेको इकाइ यस पश्चात् सामूहिक लगानी कोष नियमावलीको व्यवस्थाबमोजिम योजना व्यवस्थापकले तोकेको वितरणमार्फत निरन्तर खरिद बिक्रीका लागि खुला गरिने क्यापिटलले जनाएको छ । उक्त योजनामा न्यूनतम एक सय इकाइका लागि आवेदन दिनुपर्ने छ भने अधिकतममा ५० लाख इकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
गरिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने सो योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल क्यापिटल लिमिटेड रहेको छ । उक्त योजनाको इकाइमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । त्यस्तै, सीडीएस एन्ड क्लियरिङ्गद्वारा सञ्चालित मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।