काठमाडौं । अर्थविद् केशव आचार्यको निधन भएको छ । उनको उपचारका क्रममा सोमबार बिहान अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको आचार्यका छोरा शिखरले जानकारी दिएको राससले जनाएको छ ।
आचार्यको मङ्गलबार दाहसंस्कार गरिने उनले बताए । गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि मेडिकेयर अस्पताल भर्ना गरिएको थियो । त्यसपछि उनलाई मस्तिष्काघातको उपचारका लागि अन्नपूर्ण न्युरो अस्पतालमा लगिएको थियो ।
आचार्यको छोरी अचला अमेरिकाबाट मंगलबार बिहान काठमाडौं आइपुग्ने र त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकमा करिब तीन दशकभन्दा बढी सेवा गरेर कार्यकारी निर्देशकबाट अवकाशप्राप्त गरेका आचार्यले अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारको भूमिकासमेत निर्वाह गरेका थिए । उनी मौद्रिक तथा वित्त नीतिका ज्ञाता मानिन्थे ।