विराटनगर । सुनसरी मोरंग औद्योगिक करिडारेका उद्योगमा मध्यपूर्वमा चर्किएको द्वन्द्वको असर देखा पर्न थालेको छ । अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको तनावका बीच इरानले होर्मुज जलमार्ग बन्द गरिदिएको छ । होर्मुज जलमार्ग बन्द भएको कारण अन्तर्राष्ट्रियस्तरमै पेट्रोलियम आपूर्ति प्रभावित बनेसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाल भित्रिने पेट्रोलियम पदार्थदेखि वस्तु तथा सेवा आयात र निर्यातमा पर्न थालेको हो ।
पछिल्लो समय साउदी अरेबिया, टर्की, बहराइन, इजिप्ट र इरानमा नेपालबाट हुने निर्यात तथा त्यहाँबाट नेपाल आउने वस्तुहरू उल्लेख्य रुपमा घट्न पुगेको छ । मध्यपूर्वी देशहरूमा संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरेबिया, कतार, ओमान, बहराइन, कुवेत, इजिप्ट, इजरायल, इराक, ग्रीस, जोर्डन, लेबनान, मोरक्को, साइप्रसलगायत लगभग २५ मुलुकहरू समावेश छन् । उक्त मुलुकबाट नेपालले प्रत्यक्ष आयात र निर्यात गर्दै आएको छ । अहिले खाडी मुलुकहरू र अन्य केही देशहरूसँगको व्यापारमा उल्लेख्य उतारचढाव सुरु भइसकेको छ । सबैभन्दा बढी आयात गरिने वस्तु खनिज इन्धन र तेल हो । यसको आयात २ खर्ब ९ अर्ब ९९ करोड ४५ लाख १५ हजार रुपैयाँ बराबरको रहेको छ । खाडी मुलुकमा युद्ध वा तनाव बढ्दा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्ने वा आपूर्तिमा अवरोध आउने हुनाले यो क्षेत्र सबैभन्दा बढी प्रभावित हुनेछ ।
यस्तै, रासायनिक मलमा पनि परनिर्भर भएकाले चुनौती देखिन्छ । धेरैजसो रासायनिक मल वा यसको कच्चा पदार्थ खाडी मुलुक वा त्यस क्षेत्रका आपूर्ति मार्गहरू भएर आउने हुनाले कृषि उत्पादनको लागतमा यसले प्रत्यक्ष असर पार्न सक्ने करिडारेरका उद्योगिहरुको भनाइ छ । सामान्यतया नेपालको व्यापार भारत, चीन, अमेरिका र खाडी मुलुकहरूसँग बढी हुने गरेको छ । मध्यपूर्वको तनावले विशेष गरी पेट्रोलियम आपूर्ति र वैदेशिक रोजगारीमा रहेका नेपालीमार्फत आउने रेमिट्यान्समा प्रभाव पर्ने सरोकारवालाहरूले औँल्याउन थालेका छन् । योसंगै बजारमा उपभोक्ताहरु पनि मारमा पर्न थालेका छन् । सुनसरी मोरंग औद्योगिक करिडारेरमा सञ्चालन हुँदै आएका प्लास्टिक प्याकेजिङ सामग्रीको मूल्य मध्यपुर्वको युद्धले ५० प्रतिशत वृद्धि भएको छ । खाद्यान्नदेखि एफएमसीजीसम्मको ढुवानी अवरूद्ध भएपछि प्याकेजिङ सामग्रीको मूल्यमा ५० प्रतिशतसम्म वृद्धि भएको हो ।
इरानले पश्चिम एसियाको चल्तीको समुद्री मार्ग स्ट्रेट अफ हर्मुजलाई अमेरिका र इजरायल बाहेक अन्य मुलुकका लागि खुला गरेपनि त्यहाँ आक्रमणको सम्भावना टरेको छैन । त्यस मार्गबाट हुने ढुवानीको अनिश्चय र अन्योल अझै कायमै रहेका उद्योगिको भनाइ छ । करिडारेरमा रहेको प्याकेजिङ सामग्रीको उद्योगले प्रयोग गर्ने प्लास्टिक दानाको मूल्य पश्चिम एसियाको युद्धयता टनको ५ सय डलरले वृद्धि भएको र ढुवानीको समस्याले उपलब्धताको संकट हुन थालेको छ । पश्चिम एसियाको दानाका आपूर्तिकर्ताले पहिले खुलेको एलसी पनि होल्ड गरेर राखेका छन् । सप्लायरले एलसी नै होल्ड गरिदिएपछि न सामान आउँछ, न क्यान्सिल हुन्छ भन्दै करिडारेरका उद्योगिले गुनासो गर्न थालेका छन ।
बैंकमा भएको ऋणको लिमिट पनि ब्लक भएको र धेरैतिरबाट करिडारेरका उद्योगिलाई मुस्किलमा परिरहेको सार्वजनिक हुन थालेको छ । यसरी उत्पादन र कारोबारलाई असर गरेपछि सबै प्रकारका खाद्यान्नको प्याकिङ प्लास्टिककै सामग्रीमा हुने गरेका कारण महगी बढ्ने निश्चित देखिएको उद्योगिहरुको भनाइ छ । कुनै उद्योगले जुटको बोरा प्रयोग गरे पनि त्यसको अंश नगण्य भएकाले प्लास्टिकजन्य प्याकिङ सामग्रीको अभाव र मूल्य वृद्धिले सबै प्रकारका उद्योग पीडित हुने अवस्था आएको छ ।