काठमाडौं । बागमती प्रदेशका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाले देशको ५० प्रतिशत सवारीसाधन बागमती प्रदेशमा दर्ता हुने गरेको बताएका छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वको प्रतिनिधिसँगको भेटमा उनले नेपाल भित्रिने अधिकांश सवारी बागमती प्रदेशमा दर्ता हुने गरेको बताएका हुन् । उनले राजधानीको ट्राफिक र पार्किङ्ग व्यवस्थापनको लागि प्रदेश सरकार र नाडा सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । मुख्यमन्त्री बानियाले देशका लागि आवश्यक हुने जनशक्ति तयार गर्ने, रोजगारी दिने र सवारी साधनहरुका लागि ट्रायल सेन्टर खोल्ने सम्बन्धमा पनि प्रदेश सरकार र नाडाबीच सहकार्य गरेर अघि बढ्न सकिने उल्लेख गरे ।
नाडाका अध्यक्ष उप्रेतीले नेपालको अटोमोबाइल क्षेत्रमा १ खर्बभन्दा बढीको लगानी रहेको बताए । उनले नेपालको अटोमोबाइल क्षेत्रमा वार्षिक ५ हजार जनशक्तिको आवश्यकता हुने जानकारीसमेत दिए । अध्यक्ष उप्रेतीले नाडाले बागमती प्रदेश सरकारसँग कुन–कुन क्षेत्रमा सहकार्य गरेर अघि बढ्न सकिन्छ त्यस विषयमा मोडालिटी तयार गरी पेश गर्ने जानकारी दिए । नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नेपालको प्रतीभा पलायनलाई रोक्न नेपालको अटोमोबाइल क्षेत्रले सक्दो प्रयत्न गरिरहेको बताए । नाडाले शीपमूलक तालिम कार्यक्रमहरु सञ्चालन गरिरहेको भन्दै प्रदेश सरकारसंग हातेमालो गरेर अघि बढ्न चाहेको उल्लेख गरे ।
छलफलमा नाडाका सल्लाहकार राजनबाबु श्रेष्ठले अटोमोबाइल प्रविधि तीव्र गतिले परिवर्तन भइरहेकोले त्यही स्तर र प्रकारको प्राविधिक जनशक्ति उत्पादन गर्दै जानुपर्ने चुनौती रहेको बताए । नाडाले यसका लागि परिस्कृत पाठयक्रमसमेत तयार गरिरहेको र आवश्यक तालिमका लागि संशाधनको अभाव रहेको बताए । साथै ट्रेनरहरुको समेत खाँचो औँल्याए । छलफलमा नाडाका संस्थागत उपाध्यक्षद्वय भद्र भण्डारी तथा गणेश भट्टराई, उपाध्यक्षद्वय विक्रम सिंहानिया तथा अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल, सहकोषाध्यक्ष निलमणी पाठकसमेतको उपस्थिति रहेको थियो ।