काठमाडौं । एनआईसी एसिया क्यापिटलले सिन्धुपाल्चोकमा मुद्रा बजार तथा पुँजी बजार साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा ग्लोवल मनि वीक २०२६को अवसरमा मेलम्ची भ्याली क्याम्पस, सिन्धुपाल्चोकमा मुद्रा बजार तथा पुँजी बजार साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीले ग्लोबल मनि वीक २०२६ को मुख्य नारा स्मार्ट मनि टक्समा आधारित भएर विद्यार्थी जिवनकालमा समेत पैसा के कसरी बचत गर्न सकिन्छ र उक्त बचत गरेको सानो पैसा कहाँ कसरी सरल रुपमा लगानी गर्न सकिन्छ भन्ने सम्बन्धमा विस्तृत जानकारी गराएका थिए । साथै उनले बैंक तथा डिम्याट खाता कसरी खोल्ने, प्राथामिक सेयर, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, एसआईपी, दोश्रो बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गर्नेसम्बन्धी निर्णय लिँदा विशेष ध्यान दिनुपर्ने कुराहरुलगायत समग्र मुद्रा बजार तथा पुँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी गराइ सोही सम्बन्धमा छलफल गरिएको थियो ।
कार्यक्रममा रायमाझीले एमएल, सीएफ्टी भनेको के हो र कारोबार गर्दा ध्यान दिनुपर्ने विविध पक्षको सम्बन्धमा समेत जानकारी गराएका थिए । उक्त कार्यक्रमअन्तर्गत अन्त्यमा सहभागी विद्यार्थीहरु तथा शिक्षकज्यूहरुको सहभागितमा मुद्रा बजार उपकरण तथा पुँजी बजारको सम्बन्धमा विस्तृत छलफल तथा अन्तरक्रिया गरिएको थियो । उक्त कार्यक्रममा दुई सय २० जनाभन्दा बढी युवा विद्यार्थी, शिक्षकलगायत अन्य क्याम्पसमा कार्यरत कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।