काठमाडौं । खालिसिसीले कोका–कोला बेभरेजेज नेपालसँगको सहकार्यमा फोहोर संकलक महिलाका बालबालिकाका लागि सुरक्षित स्थान ‘सम्मान घर’को सुभारम्भ गरेको छ ।
कम्पनीले ‘वर्ल्ड रिसाइक्लिङ डे’को अवसर पारेर खालिसिसीको ‘वाउ सेन्टर’भित्र ‘सम्मान घर’को स्थापना गरेको हो । कम्पनीका अनुसार ‘सम्मान घर’ नेपालका रिसाइक्लिङ प्रणालीमा फोहोर संकलक महिलाले निर्वाह गर्दै आएको महत्वपूर्ण तर प्रायः अदृश्य भूमिकालाई सम्मान गर्न स्थापना गरिएको हो । नयाँ उद्घाटन गरिएको यस स्थानले बालबालिकालाई सुरक्षित र स्याहारपूर्ण वातावरण प्रदान गर्ने जनाइएको छ । जहाँ बालबालिकाहरूले खेल्न, सिक्न र समय बिताउन सक्नेछन् । यसले आमाहरूलाई काम गर्दा मानसिक शान्ति र सम्मानको अनुभूति दिलाउने लक्ष्य राखेको छ । खालिसिसीका प्रमुख कार्यकारी अधिकृत अमुन थापाले फोहोर संकलकहरू नेपालका रिसाइक्लिङ प्रणालीका मेरुदण्ड भएको बताए । तर उनीहरूको योगदान प्रायः ओझेलमा पर्ने उनको भनाई छ । कम्पनीले उनीहरूका बालबालिकालाई सुरक्षित रूपमा सिक्ने र हुर्किने स्थान उपलब्ध गराउ सम्मान घर सञ्चालनमा ल्याएको उनको भनाइ छ । आगामी दिनमा खालिसिसीले ‘सम्मान घर’को अवधारणालाई विस्तार गरी फोहोर संकलक परिवारहरूलाई थप सहयोग पुर्याउने योजना बनाएको जनाएको छ ।