काठमाडौं । चलचित्र “तेल भिसा” का निर्माता शिवराज कार्की वैदेशिक रोजगारीमा पठाइदिने बहानामा ठगी गरेको आरोपमा पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले काठमाडौंको स्वयम्भू क्षेत्रबाट नियन्त्रणमा लिएको हो।कार्कीले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि अनुसन्धानका क्रममा पक्राउ गरेको पाइएको छ। पासाङ नोर्बु तामाङ सहितका पीडितहरूले उनीविरुद्ध जाहेरी दिएका थिए। प्रहरीका अनुसार कार्कीविरुद्ध वैदेशिक रोजगारी ठगीमा ६ वटा पक्राउ पुर्जी जारी भइसकेको छ। उनी चाबहिलस्थित ‘पी एण्ड एम इनोभेशन सर्भिस’ नामक कन्सल्टेन्सी सञ्चालन गर्दै आएका थिए, जसमार्फत करिब २५० जनालाई ठगी गरेको आरोप छ। तीमध्ये १०० भन्दा बढी पीडित प्रहरीको सम्पर्कमा आइसकेका छन्। पक्राउ परेका कार्कीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।यसअघि पनि उनीविरुद्ध २५ असार २०८२ मा प्रहरी वृत्त लैनचौर मा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको थियो।प्रहरी अनुसन्धानले देखाएअनुसार, कार्की पछिल्लो तीन महिनादेखि नयाँ दिल्ली को पहाडगञ्ज क्षेत्रमा बस्दै आएका थिए। उनको साथबाट भारतीय आधार कार्ड र प्यान कार्ड समेत बरामद भएको छ। भारतमै उनले ‘अन्नपूर्ण फास्टफुड’ सञ्चालन गर्दै आएको समेत खुलेको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।