पछिल्लो आम निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सबैभन्दा ठूलो शक्ति बन्नुपर्ने हो । यो निर्वाचनमा भाग लिएका नयाँ–पुराना दलहरूमध्ये यो सबभन्दा ठूलो शक्ति थियो । निर्वाचनअगाडि यो आफैँ दलको संख्या र संगठनात्मक रूपले अरुसँग तुलना हुने अवस्थाको थिएन ।
तर यसको संगठनात्मक स्वरूप र मत हेर्दा यस्तो आकार आफैँ एउटा व्यङ्ग्यजस्तो देखियो । जस्तो, चुनावअघि माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत २५ वटा आफूलाई सबैभन्दा ठूला क्रान्तिकारी वाम दल भनेर चिनाउने घटक मिलेर यो दल अर्थात् नेकपा गठन भएको थियो । यो दलको केन्द्रीय सदस्यसंख्या मात्रै २५ सयको थियो । यसअघिको संसद्को दोस्रो ठूलो दल एमालेको कुल महाधिवेशन सदस्यहरूको संख्या २२ सयको हाराहारीमा रहेको पछिल्लो अर्थात् गएको पुसमा सम्पन्न महाधिवेशनले नै देखाएको हो ।
नेकपाको यतिधेरै दलको मिश्रण र यतिठूलो संख्याको केन्द्रीय संरचनाकै कारण होला यसका नेताहरू गएको चुनावको सन्दर्भमा सबैभन्दा ठूलो दल हुने पक्का भएको दाबी गरिरहेका थिए ।
चुनाव हुनुभन्दा हप्ता दिनअघि १३ फागुनमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेको थिए–
‘आसन्न प्रतिनिधिसभा निर्वाचनमा हाम्रो दल पहिलो हुनेछ । ६५ देखि ७० सिटसम्म प्रत्यक्षमै निर्वाचित हुने एक अनुसन्धान प्रतिवेदनले देखाएको छ । निर्वाचनको मितिसम्म पुग्दा नेकपाले अझै बढी मिहिनेत गरेमा नतिजा झनै राम्रो आउनसक्ने सम्भावना छ । निष्पक्ष निर्वाचन हुने हो भने परिणाम राम्रै हुने देखिन्छ, ।’
निर्वाचन पनि निष्पक्ष नै भयो । कतै एउटा गोली समेत चलेन र कतै मतदान दोहोर्याउन पनि परेन । सबैले यो चुनावलाई आजसम्मकै उदाहरणीय माने । तर यता नेकपाका लागि भने मतपरणाम प्रचण्डले भनेको भन्दा विल्कुलै फरक आयो ।
यो निर्वाचनमा खासगरी माओवादीको आफ्नो भन्ने केही थिएन । केन्द्रका अध्यक्ष रहेका प्रचण्डले सधैंभरि भन्ने गरेका देशमा ठूलो उथलपुथल ल्याउन सफल भएको भनिएको दलको यो चुनावमा नाम, झण्डा र चुनावचिह्न सबै छाडेका थिए । तर देशमा उथलपुथल ल्याउन सफल भएको भनिएको दल मतमा भने करिब–करिब परिचयविहीन भयो ।
प्रचण्डले भन्ने गरेको सबभन्दा ठूलो शक्ति कतै प्रकट भएन । अघिल्लो निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादीको मात्रै कुल मत १४ लाख ७४ हजार ७५ थियो । त्यसमा अरु दल पनि यो पटक जोडिएका थिए । जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत घटकबाट करिब ५० हजार मत थपिनुपर्ने थियो । अघिल्लो निर्वाचनमा यी सबै पार्टीले पाएको कुल मत १५ लाख २४ हजार ७५ रहेको थियो ।
तर यो निर्वाचनमा यति शक्तिशाली संगठन भएको वा बनाइएको नेकपाले प्रत्यक्षतर्फका एक सय ६५ निर्वाचन क्षेत्रमध्ये आठ क्षेत्रमा मात्रै जित्यो । समानुपातिकतर्फ नेकपाले आठ सिट पायो । रास्वपाले प्रत्यक्षतर्फ एक सय २५ र समानुपातिकतर्फ ५७ सिट जितेको सन्दर्भमा नेकपाको यो जित आफैँ उल्टोतर्फको एउटा नमूना हुनुपर्छ ।
अघिल्लो निर्वाचनको तुलनामा यो घटकमा प्रत्यक्षतर्फ १० सिट र समानुपातिकतर्फ सात लाखभन्दा बढी मत घटेको देखियो । २०७९ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्र एक्लैले समानुपातिकतर्फ ११ लाख ७५ हजार छ सय ८४ मत ल्याएको थियो । अर्को घटक नेकपा एकीकृत समाजवादीले थ्रेसहोल्ड त कटाउन सकेन तर दुई लाख ९८ हजार तीन सय ९१ मत ल्याएको थियो ।
यो २५ वटाको संयुक्त संगठन अर्थात् घटकले यो पटक एक सय ६४ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिएको भनेर ठूलो शक्ति बन्ने आधार प्रस्तुत गरिएको थियो । तर परिणाम अघिल्लोभन्दा धेरै कम आयो । यो पटकको चुनावी परिणामअनुसार २५ वटा दल मिलेको र २५ सय केन्द्रीय सदस्य रहेको दल नेकपाले आठ लाख ११ हजार पाँच सय ७७ मत पाएको छ । गत निर्वाचनमा माओवादीले मात्रै प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरी ३२ सिट जितेको थियो । एकीकृत समाजवादीले पाएको प्रत्यक्षमा १० सिट र नागरिक उन्मुक्ति पार्टी (नाउपा)का चार सिट थिए । यी दलहरू एकीकृत भएपछि स्वाभाविक छ उनका यो शक्ति पनि जोडिनुपर्ने हो । त्यसो हुँदाको कुल संख्या ४६ हुन्छ । तर यी सबै मिलेको यो निर्वाचनमा आयो १७ सिट । यो पटक यतिधेरै दल एकठाउँमा जोडिएर र प्रचण्डको संयोजकत्वमा चुनाव लडेका मध्येबाट अघिल्लो निर्वाचनको तुलनामा २९ वटा सिट यो पटक घटे ।
यसका लागि यो घटकका संयोजक प्रचण्ड आफैँ कति दोषी हुन् ? प्रचण्डको भनाइले उनी एक थोपो पनि दोषी छैनन् । बरु आफ्नै केन्द्रीय सदस्य समेतले आफ्नै दललाई मत दिएनन् ।
त्यस कारण नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अरुसँग आक्रोशित देखिन्छन् । जिल्ला–जिल्लाबाट केन्द्रीय सदस्यहरूले समेत राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट हालेको रिपोर्ट आफूसमक्ष आएको भन्दै प्रचण्डले उनीहरूलाई आँखा चिल्लएर कारबाही गर्ने दृढता व्यक्त गरिहेका पाइन्छन् ।
चुनावको औपचारिक समीक्षा भएको छैन । तर उनले यो परिणामको सबै दोष भने अरुमाथि खन्याउन थालिसकेका छन् । गएको हप्ता केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै उनले सबै निर्वाचन क्षेत्रबाट ठोस रिपोर्ट आएपछि कडा कारबाही सुरु गर्ने चेतावनी दिए । उनका अनुासर ‘कसले भोट हालेनन् ? कसले घण्टीमा हाले, हामीलाई त्यो रिपोर्ट दिनैप¥यो । तिनलाई कारबाही गर्नैपर्छ, नत्र पार्टी बनाउन सकिँदैन, सबैभन्दा पहिला केन्द्रीय सदस्यबाट कारबाही सुरु गरिन्छ । ५० प्रतिशत घण्टीमा गएको सामान्य रिपोर्ट आएको छ । ठोस रूपमा ल्याउनोस् । तिनलाई हामीले आँखा चिम्लिएर कारबाही गर्छौँ । पार्टी पुनर्गठन यहीँबाट सुरु हुने हो । नयाँ पार्टी बनाउने सुरुवात हुने हो ।’
यो ठाउँमा अर्को अचम्म के देखियो भने गोप्य मतदानमा आफ्ना दलका फलानो फलानोले अर्को पार्टीको चुनाव चिह्नमा मतदान गरे भनेर कसरी पहिचान गर्ने भन्नेसम्म अनुत्तरित रह्यो । यो ठाउँमा कतिपयले यो हारको जिम्मा आफूमाथि लगाइन्छ कि भनेर संयोजक प्रचण्ड सामान्य रिपोर्ट समेत नआईकन अरुमाथि नै यसरी खनिन थालेका हुन् । उनले आफू कायम रहेर पार्टी पुनर्गठन गर्ने संकेतसमेत दिइसके । तर दलभित्रै यदि कारबाही हुनुपर्छ वा हुन्छ वा गर्ने हो भने त्यसका लागि पहिलो पात्र प्रचण्ड नै हुनुपर्ने हो ।
प्रचण्डकोे भनाइको अंश
म तपाईँहरूलाई भन्छु, यहाँ उपस्थित सबैजना जनवर्गीय संगठनका नेता कमरेडहरू हुनुहुन्छ । केन्द्रीय सदस्य र प्रदेश सदस्यमध्ये को–को आफ्नो क्षेत्रमा गएनन् ? कसले भोट हालेनन् ? कसले घण्टीमा भोट हाले ? त्यसको रिपोर्ट तपाईँहरूले हामीलाई दिनैपर्छ । त्यस्तालाई कारबाही गर्नैपर्छ, नत्र भने पार्टी बनाउन सकिँदैन ।
अब कारबाही गरिन्छ र त्यसको सुरुवात केन्द्रीय सदस्यहरूबाटै हुन्छ । ‘केन्द्रीय सदस्यहरू नै घण्टीतिर गए’ भन्ने ‘जेनरल’ रिपोर्ट आएको छ । हामीले भनेका छौँ, ठोस प्रमाण ल्याउनुस्– को–को आफ्नो क्षेत्रमा गएनन् ? को–को घण्टीतिर लागेको देखियो ? तिनलाई हामी आँखा चिम्लिएर कारबाही गर्छौँ । अहिले पार्टी पुनर्गठन यहीँबाट सुरु हुने हो, नयाँ पार्टी बनाउने क्रम पनि यहीँबाट सुरु हुने हो ।
यो निर्वाचन परिणामपछिको सुझाव र आलोचना के छ, त्यो पनि ल्याउनुस् । हामी पार्टीको सचिवालय वा सबैभन्दा माथिल्लो आधिकारिक संस्थागत निर्णय गर्ने ठाउँमा प्रस्ताव बनाएर लान्छौँ । त्यहाँ तपाईँ–हामी सबै सहभागी हुन्छौँ । त्यहाँ छलफल गरेर कसले भोट हाल्यो, कसले हालेन, को केन्द्रीय सदस्य निर्वाचन क्षेत्रमा गयो, को गएन भन्ने कुराको समीक्षा हुनुपर्छ । काम गर्ने र नगर्नेलाई समान ढङ्गले हेर्ने जुन प्रवृत्ति अहिले भइरहेको छ, त्यसको अन्त्य हुनुपर्छ । अरु बेलामा ‘पार्टीको हुँ’ भन्ने तर निर्वाचनको बेलामा अन्त जानेलाई पार्टीमा राख्नुभएन ।
कमिटीहरू चुस्त–दुरुस्त हुनुपर्छ भन्ने नै सबैतिरको सुझाव छ । अब एकातिर विचारलाई अझ तिखार्नप¥यो, विचार र राजनीतिलाई पहिलो प्राथमिकतामा राख्नुप¥यो भने दोस्रो कुरा सङ्गठन हो । त्यो विचार र राजनीतिअनुकूलको चुस्त–दुरुस्त संगठन बनाउनैपर्छ । संगठनलाई तलैदेखि भेला, सम्मेलन गरेर निर्वाचित कमिटी बनाउने र निश्चित संख्याभन्दा ठूलो कमिटी नबनाउने काम नगरी नहुने भएको छ ।
त्यसकारण राजनीतिक र वैचारिक ढङ्गले, मुद्दाको हिसाबले हामीले नै जितेका छौँ । तपाईँहरू कोही पनि निराश हुनुपर्ने कारण छैन । मैले धेरै पटक भन्ने गरेको छु र तपाईँहरूले पनि सुन्नुभएको होला— रास्वपाबाट यतिका महिलाहरू सांसद भएर आए, मैले त ती पनि हाम्रै महिला देख्छु । हामीले जनयुद्ध र जनआन्दोलन गरेर ‘महिलाहरूको सहभागिता र समानुपातिक प्रतिनिधित्व यसरी हुनुपर्छ’ भन्ने कुरा स्थापित नगरेको भए रास्वपाले कहाँबाट ल्याउँथ्यो त्यो ?
हिजो कांग्रेस–एमालेबाट आउँदा पनि हामीले के भन्थ्यौँ भने, अन्ततः अहिले जनताले बुझ्ने हो । हामीले बुझाउन सकेका छैनौँ । हामी आफैँमा पनि केही न केही कमजोरीहरू बढ्दै गएका छन् । त्यसै कारणले यस्तो भएको मात्रै हो तर समयले बिस्तारै आम जनतालाई बुझाउँदै ल्याउँछ । यो सबै कसले गरेको थियो भन्दा क्रान्तिकारी कम्युनिस्टहरूले लडेर, संविधानसभाबाट संविधान बनाउँदा लडेर ल्याएको हो नि त ! चाहे मधेसी होस्, चाहे मुस्लिम, दलित, महिला वा जनजाति होस्, सबैको प्रतिनिधित्वको आधार त्यही हो । रास्वपाबाट आऊन्, कांग्रेसबाट आऊन् वा हाम्रो नेपाली कम्युनिस्ट पार्टीबाट आऊन्, ती सबै हाम्रै मुद्दाबाट आएका हुन् ।
त्यस्तो भएपछि किन डराउनुपर्यो हामी ? त्यसकारण हामीले ‘कन्फिडेन्ट्ली’ भन्नुप¥यो– राजनीतिक र वैचारिक रूपमा हामीले जितेकै छौँ । अहिले पनि हामीले पार्टी एकताको झन्डा दह्रोसँग उठाएकै छौँ । हाम्रा एकदम कट्टर विरोधीहरू, जसको वर्गीय चरित्र हामीसँग बिलकुल मिल्दैन, उनीहरू पनि ‘यो परिवर्तन ल्याएको त जनयुद्ध र जनआन्दोलनले नै हो है’ भन्न बाध्य छन् । नीति र राजनीतिमा हामी नै अहिले लिडरसिप हौँ । नेपाली कम्युनिस्ट पार्टी नै देशको नेतृत्व हो । त्यसैले हामी खत्तम भयौँ भन्ने ठान्नुपर्ने अवस्था छैन ।
हाम्रोजस्तो व्यवस्थित परिचालन अरू कसैको पनि भएको होइन । रास्वपाको त हावाहुरी आयो । कतिपय उम्मेदवार त चिन्नु पनि भएको छैन होला । उनीहरूको पृष्ठभूमि र चरित्र के हो, केही थाहा छैन, तैपनि घण्टी–घण्टी भनेर गए । यसमा धेरै कुराहरू छन् है ! अहिले म त्यतातिरको व्याख्यामा गइनँ । यसका राष्ट्रिय र अन्तर्राष्ट्रिय धेरै आयामहरू छन् ।
विकास गरेपछि चुनाव जितिन्थ्यो, हामीले विकास गरिएन भन्ने तर्क पनि आउँछ । तर, यो अन्तिम र मुख्य तर्क होइन । विनोद चौधरीकै क्षेत्र हेर्नुस्, त्यहाँको विकास त अन्तर्राष्ट्रियस्तरको छ नि ! तैपनि उनी हारे । यसको अर्थ विकास गर्दैमा चुनाव जितिन्छ भन्ने कुरा पनि सत्य होइन रहेछ । पैसा टन्नै खर्च गरेपछि जितिहालिन्छ भन्ने हो भने त विनोद चौधरीले जित्नुपर्थ्यो । उनी त हारे नि !