नेपाल, हिमालयको काखमा अवस्थित यो सुन्दर देश, प्रकृतिको अनुपम उपहारले भरिपूर्ण छ । तर आजको आधुनिक युगमा स्वच्छ वातावरणको संरक्षण र आर्थिक समृद्धिको खोजी दुवै चुनौतीपूर्ण बनेका छन् । पुष्प व्यवसाय (फ्लोरिकल्चर) नेपालको कृषि क्षेत्रको एक महत्वपूर्ण उपशाखा हो । जसले आर्थिक लाभमात्र नभएर, पर्यावरणीय सन्तुलन कायम राख्नमा पनि महत्वपूर्ण भूमिका खेल्छ । तसर्थ मुलुकमा स्वच्छ वातावरण र पुष्प व्यवसाय अन्योन्याश्रित सम्बन्धमा बाँधिएका छन् । एकातिर पुष्प व्यवसायले वातावरणीय सन्तुलन कायम राख्न मद्दत गर्छ भने अर्कोतिर यसले रोजगारी र आर्थिक समृद्धि पनि प्रदान गर्दछ । हालैका पुष्प प्रदर्शनीहरूले यस क्षेत्रको व्यावसायिक सम्भावना र वातावरणीय योगदानलाई सार्वजनिक मञ्चमा ल्याएका छन् । स्वच्छ वातावरण, रोजगारी र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने नारा नेपालको सन्दर्भमा पूर्णतः सार्थक देखिन्छ । सरकारले समेत यस क्षेत्रको विकासका लागि नीतिगत प्रतिबद्धता जनाएको छ । तर, नीतिगत अस्थिरता, बीउ आयातमा कठिनाइ, पूर्वाधारको कमी र बजारको अस्थिरताजस्ता समस्या समाधान गर्न सकेमा यस क्षेत्रले फड्को मार्न सक्छ । आगामी दिनमा पुष्प व्यवसायलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड मानेर यसको प्रवर्द्धन गर्न सकेमा मात्र नेपालले हरित अर्थतन्त्र (ग्रीन इकोनोमी) को लक्ष्य हासिल गर्न सक्छ । स्थानीय उत्पादनलाई प्रोत्साहन, आयात प्रतिस्थापन, र निर्यात प्रवर्द्धनका माध्यमबाट पुष्प व्यवसायले नेपाललाई समृद्ध र वातावरणमैत्री राष्ट्र बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसका लागि सरकार, निजी क्षेत्र र समग्र जनताको सामूहिक प्रयास आवश्यक छ । हराभरा नेपाल, समृद्ध नेपालको आधारशिला हो र पुष्प व्यवसाय त्यस आधारशिलाको बलियो खम्बा बन्न सक्षम छ ।
देशको भौगोलिक विविधता र अनुकूल जलवायुका कारण यहाँ पुष्प व्यवसायको प्रचुर सम्भावना रहेको छ । विशेषगरी सहरीकरणको विस्तारसँगै मानिसहरूमा वातावरणप्रति सचेतना बढेको छ । स्वच्छ वातावरण, रोजगारी र आर्थिक समृद्धिका साथ नेपालमा पुष्प व्यवसायलाई अगाडि बढाइएको छ । फूलले वायुमण्डललाई शुद्ध बनाउने मात्र नभई मानिसको मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्दछ । हाल नेपालमा पुष्प व्यवसाय व्यावसायिक रूपमा निकै फैलिएको छ । पछिल्लो तथ्यांकअनुसार यस क्षेत्रको अवस्था निम्नबमोजिम छ ।
यसरी पुष्प व्यवसायमा हालसम्म ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ । यसमा ५२ भन्दा बढी जिल्लामा करिब २७० हेक्टर क्षेत्रफलमा व्यावसायिक फूल खेती भइरहेको छ । त्यसरी नै यस व्यवसायमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ५३ हजार ५ सयभन्दा बढी मानिसहरूले रोजगारी पाएका छन् । यसको बजारमा माग देशमा वार्षिक रूपमा पुष्प व्यवसायको माग र आपूर्तिमा १० देखि १५ प्रतिशतले वृद्धि भइरहेको देखिन्छ । पुष्प व्यवसायले केवल पैसामात्र कमाउँदैन, यसले वातावरणीय सन्तुलनमा पनि महत्वपूर्ण योगदान पुर्याउँछ । यसले सहरी हरियाली र सौन्दर्यकरण बढ्दो सहरीकरण र कंक्रिटको जंगलका बीचमा घरका छत, कौसी र सडकका किनारामा लगाइएका फूलहरूले सहरलाई अक्सिजन हब बनाउन मद्दत गर्दछन् । त्यस्तै प्रदूषण नियन्त्रणमा फूलका बोटबिरुवाहरूले वायुमण्डलबाट कार्बनडाइअक्साइड सोसेर अक्सिजन उत्सर्जन गर्छन् । यसले ध्वनि प्रदूषण र धुलोका कणहरूलाई पनि कम गर्न सहयोग गर्दछ । त्यसरी अर्कोतिर जैविक विविधताको संरक्षणमा पनि पुष्प खेतीले विभिन्न प्रकारका पुतली, मौरी र अन्य परागसेचन गर्ने जीवहरूको संरक्षण गर्दछ । जसले समग्र पारिस्थितिक प्रणालीलाई बलियो बनाउँछ ।
नेपालमा पुष्प व्यवसाय केवल आर्थिक आम्दानीको स्रोतमात्र नभई स्वच्छ र हरित नेपाल निर्माणको एक बलियो आधार हो । यसले बेरोजगार युवाहरूलाई स्वदेशमै स्वरोजगार बनाउन र बढ्दो वातावरणीय प्रदूषणलाई न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । सरकारले पुष्प खेतीलाई उच्च प्राथमिकता प्राप्त क्षेत्रमा राखेर सिँचाइ, प्रविधि र बजारको उचित व्यवस्था गरिदिने हो भने नेपाल फूलमा आत्मनिर्भरमात्र होइन, विश्व बजारमा फूल निर्यात गर्ने प्रमुख मुलुकका रूपमा चिनिन सक्छ । फलतः नेपाल प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण देश हो । हिमाल, पहाड र तराईको भौगोलिक विविधताले यहाँ विभिन्न प्रकारका वनस्पति तथा पुष्पहरूको उत्पादनका लागि उपयुक्त वातावरण सिर्जना गरेको छ । पछिल्ला वर्षहरूमा वातावरणीय चेतना बढ्दै जाँदा स्वच्छ वातावरण र पुष्प व्यवसायबीचको सम्बन्ध झन् सशक्त बन्दै गएको छ । स्वच्छ वातावरणले पुष्प उत्पादनलाई गुणस्तरीय बनाउँछ भने पुष्प व्यवसायले वातावरण संरक्षणमा सकारात्मक योगदान पुर्याउँछ ।
स्वच्छ वातावरण र पुष्प व्यवसाय एकअर्काका पूरक हुन् । स्वच्छ वातावरण विना गुणस्तरीय पुष्प उत्पादन सम्भव छैन भने पुष्प व्यवसायले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँछ । नेपालको वर्तमान अवस्थामा बढ्दो प्रदूषण र जलवायु परिवर्तनका चुनौतीहरूको बीचमा यी दुवै क्षेत्रलाई सन्तुलित रूपमा अघि बढाउनु आवश्यक छ । सरकार, निजी क्षेत्र, किसान र आम नागरिक सबैले मिलेर स्वच्छ वातावरण संरक्षण र पुष्प व्यवसाय प्रवर्द्धनमा योगदान दिनुपर्छ । यसले मात्र आर्थिक समृद्धि, वातावरणीय सन्तुलन र सांस्कृतिक संरक्षण एकसाथ सम्भव बनाउन सक्छ । अन्ततः हरियो नेपाल, सुन्दर नेपालको परिकल्पना साकार पार्न स्वच्छ वातावरण र पुष्प व्यवसायको संयुक्त भूमिका अत्यन्त महत्वपूर्ण रहनेछ । स्वच्छ वातावरण भन्नाले प्रदूषणरहित, प्राकृतिक सन्तुलन कायम रहेको, मानव र अन्य जीवजन्तुका लागि स्वस्थ र सुरक्षित वातावरणलाई जनाउँछ । यसमा हावा, पानी, माटो, वन, जैविक विविधता सबैको संरक्षण आवश्यक हुन्छ । नेपालको सन्दर्भमा स्वच्छ वातावरण केवल स्वास्थ्यसँग मात्र सम्बन्धित छैन, यो आर्थिक विकास, कृषि उत्पादन र पर्यटनसँग पनि प्रत्यक्ष रूपमा जोडिएको छ ।
हाम्रो देशमा पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको फ्लोरा एक्स्पोले एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै गत चैत ८ गते सम्पन्न भएको छ । सो मेला चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकहरूको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसनले जानकारी दिएको छ । त्यसैगरी मेला कुल ६० हजार ७ सय जनाले अवलोकन गरेका थिए । तसर्थ मेलामा व्यावसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक दुई स्टल रहेका थिए । पुष्प व्यवसायमा आठ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी लगानी रहेको र करिब ५३ हजार ५ सय बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरेको जनाइएको छ । फलतः गत आर्थिक वर्षमा भने २७ करोड ७९ लाख रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएकोमा यस वर्ष ५४ दशमलव २७ प्रतिशतले घटेर १२ करोड ७० लाख रुपैयाँमा सीमित भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यसर्थ निर्याततर्फ भने एक सय नौ दशमलव १६ प्रतिशतले वृद्धि भई दुई करोड १३ लाख रुपैयाँ पुगेको सम्बन्धित क्षेत्रले जानकारी दिएको थियो ।
समग्रमा भन्नुपर्दा २७औं फ्लोरा एक्स्पो २०८२ नेपालको पुष्प उद्योगको लागि एउटा महत्वपूर्ण कोसेढुंगा सावित हुने विश्वास सम्बन्धित क्षेत्रले लिइएको छ । यसमा स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसायले भने पुष्प व्यवसाय वातावरणीय सन्तुलन कायम राख्नेदेखि रोजगारी सिर्जना र आर्थिक समृद्धि हासिल गर्नेसम्मको बहुआयामिक भूमिका निर्वाह गर्न सक्ने क्षमता राख्दछ । मूलतः आगामी दिनमा सरकारी नीति, प्रविधि हस्तान्तरण, बजार पहुँच र निर्यात प्रवद्र्धनमा जोड दिन सकेमा नेपालको पुष्प व्यवसायले दक्षिण एसियाकै एक आकर्षक उद्योगको रूपमा आफूलाई स्थापित गर्न सक्ने ठोस सम्भावना छ । अतः यो कार्यक्रम चैत ५ देखि ८ गतेसम्म भृकुटीमण्डपमा आयोजना भएको थियो । यो एक्स्पो नेपाली पुष्प व्यवसायको हरियाली भविष्यको झलक हेर्नको लागि एउटा सुनौलो अवसर पनि भएको थियो ।