अहिले सेयरबजार खस्कँदै गएको भए पनि सेयरबजारप्रति मानिसको चासो भने बढेको छ । परिणामस्वरुप डिम्याट खोल्नेहरूको संख्य दिनप्रति दिन वृद्धि हुँदै गएको देखिन्छ । अहिलेसम्मको आँकडा अनुसार ६३ लाख बढी खाता खोलीएका छन् । यो मूलतः वित्तीय सचेतनाले भएको हो ।
नेपालजस्तो अतिकम विकसित देशमा सेयरबजार राम्रोसँग फस्टाएको हुँदैन । ऐन कानुनको अभाव, नियामक निकायहरूले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्नु, लगानीकर्तामा चेतनाको कमी, पुँजीको अभाव, सरकारबाटसमेत उपेक्षित हुनु जस्ता कारण औँल्याउन सकिन्छ । यसरी सेयरबजारमा विभिन्न चुनौति हुँदाहुँदै पनि समस्यासँग जुध्दै अघि बढिरहेको अहिलेको अवस्था हो ।
अहिले देशभरि नै सेयरबजारको बारेमा चासो बढ्दै गएको देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरूको पहुँच भएको कारणले गर्दा पनि फस्टाउने अवसर मिलेको छ । घरमा बसी बसी कारोबार गर्न सकिने भएकोले समय र लागतमा फाइदा पुग्न गएको छ । सानो लगानी गरेर प्रतिफल पाउन सकिने व्यवसाय भनेको नै सेयरबजार हो । तर, हाम्रोजस्तो विकासोन्मुख देशमा विभिन्न समस्या भने रहेकै छन् । तर पनि समस्यालाई सम्बोधन गरेर समाधान गर्ने हो भने यस क्षेत्रबाट अपेक्षित फाइदा लिन सकिन्छ ।
निश्चय नै अहिले नेपालमा सेयरबजारप्रति मानिसहरूको मोह बढ्दै गएको छ । किनभने नेपालजस्तो अतिकम विकसित देशमा छोटो समयमा नै ६३ लाख डिम्याट खाता खोलिनु र कारोबार बढ्दै जानु भनेको राम्रो पक्ष हो । साथसाथै धेरै विकृति र विसंगति पनि बढ्दै गएका छन् । यससम्बन्धी ज्ञानको अभावले गर्दा धेरै मानिसलाई क्षति पनि पुगेको छ । तर, के बुझ्नु पर्दछ भने सेयरबजारलाई राम्रोसँग अध्ययन गरेर लगानी गर्ने हो भने यसबाट घाटा भन्ने हुँदैन । सेयरबजार भन्ने वित्तिकै फाइदै फाइदा हुन्छ भन्ने पनि छैन । तर मानिसमा फाइदामात्र हुन्छ भन्ने एक प्रकारको बुझाइको कारणले गर्दा जोखिम आउने हो अन्यथा यदि बुझेर लगानी गर्ने हो भने राम्रै कमाउन सकिने व्यवसाय हो ।
कसैले सेयरसम्बन्धी केही बुझेकै छैन, जानेकै छैन र त्यही व्यक्तिले जथाभावि लगानी गर्छ भने बेफाइदा हुनु स्वाभाविकै हुन आउँछ । किनभने आय आर्जन गर्ने काम जो कोहीलाई पनि त्यति सजिलो हुँदैन । दिनभरि पसिना बगाएर काम गर्ने मानिसलाई पनि बिहान बेलुकीको छाक टार्न सजिलो हुँदैन भने अन्धाधुन्ध किसिमले लगानी गर्दैमा फाइदा हुने होइन । यो नै सेयरबजारमा आएको अहिलेको विकृति हो ।
सेयरबजार एक किसिमको प्राविधिक क्षेत्र हो र यसलाई बुझ्न त्यति सजिलो पनि छैन । यो ऐन, नियम, कानुन, प्रकृया र विशेष पद्धतिबाट सन्चालित हुन्छ । कतिपय मानिसहरू यसको सैद्धान्तिक एवं व्यवहारिक पक्षको अध्ययन नगरीकन सेयरबजार भनेको कमाइदिने संस्थामात्र हो भन्ने एकोहोरो विचारले गर्दा धेरै मानिस डुवेको अवस्था पनि छ । यदि सेयरबजारबाट फाइदा लिने हो भने सेयरबजारका आधारभूत कुराहरू बुझ्नै पर्दछ । सेयरबजार लाभको मात्र क्षेत्र हो र यसमा जोखिम र अनिश्चितता एकदम नै कम हुन्छ भन्नु पनि मूर्खता हो । यसरी सेयरबजारप्रति एक प्रकारको भ्रम सिर्जना भएको छ । यसलाई हटाउनु नितान्त जरुरी देखिन्छ ।
अर्को महत्वपूर्ण पक्ष भनेको सेयरबजार सधै बढी रहने हुँदैन । बढी रहने हो भने बजारको अस्तित्व नै हुँदैन । सेयरको मूल्य माग र आपूर्ति, आर्थिक, राजनीतिक परिस्थिति आदि कुराहरूको संयोजनबाट निर्धारण हुने हो । हामीकहाँ भने यी आधारहरू भन्दा पनि अन्य अवान्छित तत्वहरूले प्रभाव पार्ने हुँदा सेयरबजारमा विकृति आएको देखिन्छ ।
कुनै पनि कम्पनिको सेयर खरिद गर्दा मुख्यतः कम्पनीको आर्थिक अवस्था, व्यवस्थापन आदि पक्षहरूको राम्रोसँग अध्ययन गर्नु पर्दछ । त्यसपछि मात्र राजनीतिक, सामाजिक र नियामक निकायको प्रभावकारीता जस्ता बाह्य कुराहरूले असर पार्ने हुन । यी पक्षहरूलाई उपेक्षा गरेर केवल सेयर भनेको रुखमा चढेर पाकेको फल टिप्नु हो भन्ने धेरैमा भ्रम रहेको देखिन्छ । यस्ता भ्रमलाई नहटाइ सेयरबजारमा लगानी गर्दा जोखिम निम्तिने प्रवल संभावना हुन्छ नै ।
कुनै पनि क्षेत्रको यथार्थ अवस्था नबुझिकन गरिने कार्यले अपेक्षित नतिजा दिन सक्दैन । सेयरबजार पनि त्यस्तै हो । यस्ता कुरा सामाजिक सञ्जालमा पनि आइरहेकै छन् । सेयरबजारबाट प्रशस्त कमाउन सकिन्छ भनेर कतिपयले सबै घरजग्गा, सम्पत्ति बेचेर सेयरमा लगानी गरेर टाट पल्टिएका समाचार पनि हामीले पढेकै छौँ । त्यसकारण लगानी गर्दा एउटा आधारमात्र लिनु हुँदैन धेरै आधारहरूको अध्ययन गरिनु पर्दछ । तर, यो जुवाजस्तो गर्लम्म भुइँमै पुग्ने नभए पनि जोखिम भने लिनु नै पर्दछ । जहाँ फाइदा लिने कुरा हुन्छ त्यहाँ जोखिम हुन्छ नै । यी सबै यथार्थ अवस्था बुझेर लगानी गर्दा जोखिमलाई न्यूनिकरण र लाभलाई अधिकतम बनाउन सकिन्छ ।
सेयरबजारलाई अवसर र संभावनाको खेलको रुपमा पनि लिन सकिन्छ । अवसर कुन समयमा र कसरी लिने भन्ने कुरा लगानीकर्ता आफैँले बुझ्नु पर्ने हुन्छ । अवसरको फाइदा लिने कुरा पनि त्यति सजिलो त कहाँ छ र ! सेयर किन्न र बेच्न सजिलो भए पनि संभावनाहरूलाई अवसरमा परिवर्तन गर्न भने सजिलो हुँदैन । विभिन्न संभावनाहरू मध्ये पनि अति उत्तम संभावनाको पहिचान गर्नु नै बुद्धिमानी हुन आउँछ । विना अध्ययन र विकल्पको खोजीविना गरिएको कारोबारले आखिरमा दिने भनेको जोखिम नै हो ।
कतिपय लगानीकर्ताहरूले अवसरलाई विभिन्न किसिमबाट अध्ययन गरेर फाइदा लिएका हुन्छन् । किनभने सेयर लगानीमा एउटामात्र विकल्प हुँदैन । कसैले धेरै कम्पनिमा लगानी गर्दछन् भने कसैले थोरैमा । कसैले एकदमै राम्रा कम्पनिमा मात्र लगानी गर्दछन् भने कसैले सानातिना कम्पनीमा । कुनै लगानीकर्ताले आफूसँग भएको स्टकको मूल्यमा ह्रास आउन थाल्यो भने यसबाट बच्नको लागि तुरुन्त बेचेर अरु कम्पनीको सेयर खरिद गरेका हुन्छन् । यहि अवसर, संभावना र चुनौतीलाई लिने भन्ने हुँदैन । तर, विकल्पहरू मध्ये कुनमा कम जोखिम र कुनमा बढी प्रतिफल दिन सक्दछ भन्नेतर्फ भने संभावनाहरूको खोजी गरिनु पर्दछ ।
सेयरबजारलाई पुँजी संकलनको माध्यमको रुपमा पनि लिन सकिन्छ । कम्पनीहरूलाई पुँजीको आवश्यकता प¥यो भने उनीहरूले सेयर जारी गरेर पुँजी जुटाउन सक्दछन् । छरिएर रहेको पुँजीलाई एकिकृत गर्दा ठुला ठुला पूर्वाधार विकासमा लगानी गर्न सम्भव पनि हुन्छ । यसले राष्ट्रिय अर्थतन्त्रको विकासमा ठूलो योगदान पुर्याउन पनि सक्दछ ।
लामो समय र छोटो समयमै किनबेच गर्न सकिने गरी सेयरबजारमा लगानी गर्न सकिन्छ । यसले गर्दा लगानीकर्तालार्ई सजिलो भएको पनि छ । बजारमा दीर्घकालीन र अल्पकालीन दुवै किसिमका लगानीकर्ता हुन्छन् । दीर्घकालीन लगानीमा कम जोखिम तर लामो समयसम्म पर्खनु पर्दछ भने छोटो समयमै किनबेच गर्ने सेयरलाई अल्कालीन लगानी भनिन्छ जुन छोटो समयको लागि हुन्छ । अर्को अर्थमा भन्ने हो भने इन्भेस्टमेन्ट र ट्रेडिङ् भन्ने गरिन्छन् ।
कुनै पनि कम्पनी सन्चालन गर्न पहिलो आवश्यकता भनेको पुँजी नै हो । त्यसैले कम्पनीहरूले आईपीओ, एफपीओजस्ता उपकरण प्रयोग गरेर रकम जम्मा गर्न सक्दछन् । यसले कम्पनीलाई आफ्ना आर्थिक गतिविधि सन्चालन गर्न सजिलो हुन्छ । सेयरबजारमा लगानीको अवसर पनि प्रशस्त हुने गर्दछ । अहिले बैंकको ब्याजदर क्रमिक रुपमा घट्दै गएको अवस्थामा बैंकमा निक्षेप गर्नुभन्दा सेयरमा लगानी गर्नु राम्रो अवसर हो । सेयरमा लगानी गर्दा तुलात्मक रुपमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ ।
लगानीकर्ताले लगानीमात्र गरेको हुँदैन र समयसमयमा उसलाई पैसाको पनि जरुरत पर्न सक्दछ । त्यस समयमा सजिलोसँग बिक्री गर्न सकिने भनेको सेयर नै हो । सेयरमा तरलता प्राप्त गर्न सक्ने क्षमता हुन्छ । जसरी औषधि पसलमा डाक्टरको प्रेक्सिप्सन देखाएपछि सजिलै औषधि किन्न सकिन्छ त्यसरी नै तपाइँसँग भएको पोर्टफोलियोमा गरेको एक ल्किकबाट तपाइँले नगद प्राप्त गर्न सक्नु हुन्छ । जुनसुकै समयमा सेयर बिक्री गर्न सकिने भएकोले कुनै पनि सेयरहोल्डरले आफ्नो गर्जोटार्न सक्दछ ।
सेयरको मूल्य हचुवाको आधारमा निर्धारण भएको हुँदैन । अर्थशास्त्रको माग र आपूर्तिको आधारमा निर्धारण हुनेहुँदा बैज्ञानिक मान्न सकिन्छ । अर्कोतर्फ सेयर खरिद बिक्री कार्य प्रतिष्पर्धामा हुने भएकोले खरिद बिक्री गर्ने दुवै पक्ष सन्तुष्ट हुन्छन् र दुवै पक्षले जितेको महशुस गरेका हुन्छन् । अन्य खेलमा हारजीत हुन्छ तर सेयरमा दुवै पक्षले जीतेको हुन्छ । किनभने सन्तुस्टिमा कारोबार गरिएको हुन्छ ।
अर्को कुरा सेयरबजारलाई देशको ऐनाको रुपमा पनि लिइएको हुन्छ । यदि सेयरबजार राम्रोसँग फस्टाएको छ भने त्यस देशको अर्थतन्त्र राम्रो मानिन्छ । यस अवस्थामा बाह्य लगानी आउन सक्दछ । सरकारले प्राप्त गर्ने ऋण सहयोग पनि सहजरुपले आउन सक्दछ । कुनै पनि देशको पुँजी बजार कमजोर छ भने त्यस देशमा न ऋण, न अनुदान र न त लगानी नै आउन सक्दछ । यसरी राष्ट्रिय अर्थतन्त्रमा सेयरबजारको अग्रणी भूमिका रहेको हुन्छ । यस प्रकारले सेयरबजारमा धेरै अवसर रहेका छन् तर ती अवसरहरूलाई प्रयोगमा ल्याउन नसकेको कारणले गर्दा सेयरबजारमा विभिन्न कमीकमजोरी देखिएका हुन् । जसलाई सुधारको खाँचो छ ।
नेपालमा सेयरबजारको अवस्था निकै कमजोर रहेको देखिन्छ । किनभने बैंक तथा वित्तीय संस्थाहरूको प्रभुत्व बढी छ । उत्पादन तथा सेवालगायत अन्य क्षेत्रहरू ओझेलमा परेको अवस्था छ । सेयरबजारको क्षेत्र विस्तारको लागि देशभित्रका सबै आर्थिक क्षेत्रहरू समावेश भएमा स्वच्छ प्रतिस्पर्धा हुन सक्दछ र लगानीकर्ताहरूको चाहनाहरू पनि सम्बोधन हुन सक्दछन् ।
संक्षेपमा भन्नुपर्दा सेयरबजारप्रति अनेक भ्रम छन् तिनीहरूलाई निराकरण गर्नु पर्दछ । अर्को कुरा सेयरबजारको यथार्थ कुरा नबुझी फाइदामात्र हुन्छ भन्ने वातावरणले पनि असर पारेको अवस्था देखिन्छ । सेयरबजारमा चुनौतिमात्र हुँदैनन् र अवसर पनि त्यत्तिकै छन् । मुख्य समस्या भनेको ती चुनौतिहरूको निराकरण गर्न नसक्नु नै हो ।