काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी वर्ष भदौ २४ देखि २६ गतेसम्म गर्न प्रस्ताव गरिएको छ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले महाधिवेशनसम्बन्धी कार्यतालिका केन्द्रीय समितिको बैठकमा पेस गरेका हुन् ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा मंगलबार सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति थापाले चैत २१ गतेदेखि महाधिवेशन तयारीको कार्यतालिका प्रस्तुत गरेका थिए । प्रस्तावित तालिकाअनुसार साउन १२ गते गाउँ÷नगर अधिवेशन, साउन २३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, साउन ३० गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्रै क्षेत्र रहेका जिल्लाको अधिवेशन तोकिएको छ । त्यस्तै, भदौ ६ र ७ गते जिल्ला अधिवेशन, भदौ १५ र १६ गते प्रदेश अधिवेशन तथा भदौ २४, २५ र २६ गते केन्द्रीय महाधिवेशन प्रस्ताव गरिएको छ ।
कार्यतालिकामा क्रियाशील सदस्यता वितरण चैत २१ गतेदेखि चैत मसान्तसम्म अद्यावधिक विशेष अभियान चलाउने, २०८३ वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म ६ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने प्रस्ताव गरिएको छ । वि सं २०८३ जेठ मसान्तसम्म सदस्यता विवरण केन्द्रमा पठाउने र असार १५ गतेसम्म केन्द्रले सदस्यताबारे आवश्यक छानबिन गरी टुंग्याउने गरी कार्ययोजना तय गरिएको छ । यस्तै असार मसान्तसम्म अध्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने र साउन ६ गते गाउँ÷नगर अधिवेशन सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको छ ।
बैठकमा सभापति थापाले संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञ सहितको समिति गठन, पार्टीको केन्द्रीय निर्वाचन समिति गठन, प्रतिनिधि सभा सदस्यहरूलाई अभिमुखीकरण, प्रदेश सरकार र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिता, भ्रातृ संघ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिको महाधिवेशन, केन्द्रीय लेखा समिति गठन गर्ने लगायतका प्रस्ताव समेत पेश गरेका छन् । थापाले गरेको प्रस्तावमा केन्द्रिय समितिमा छलफल भइरहेको जनाइएको छ ।