काठमाडौ । ग्लोबल आईएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबीच आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरुमा मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बैंकको कर्पोरेट कार्यालय कमलादीमा मंगलबार आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइतको उपस्थितिमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार, तिलगंगा आँखा प्रतिष्ठानले ग्लोबल आईएमई बैंकको वित्तीय सहयोगमा सातै प्रदेशका सात स्थानमा आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरुको निःशुल्क रुपमा मोतिबिन्दुको पहिचान गरी शल्यक्रिया गर्ने छ ।
साथै, विद्यालयमा अध्ययनरत आर्थिक रुपमा कमजोर तथा विपन्न छात्र÷छात्राहरुको आँखा परीक्षण गरी आवश्यकताअनुसार निःशुल्क रुपमा चस्मा वितरण गरिनेसमेत समझदारी भएको छ । हस्ताक्षर समारोहमा सम्बोधन गर्दै अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकले आफ्नो स्थापनाकालदेखि नै नाफाको एक हिस्सा समाजलाई फिर्ता गर्ने परम्परालाई निरन्तरता दिँदैआएको बताएका छन् । उनले भने, ‘हामीले यो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई सातै प्रदेशमा समानरूपमा पुर्याउने प्रयास गरेका छौं । किनकि हाम्रो विश्वास छ— हामी जहाँ व्यापार गछौँ, जहाँबाट नाफा कमाउँछौँ, त्यहीँ समाजप्रति हाम्रो सबैभन्दा ठूलो दायित्व पनि रहन्छ ।’
उनले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकका ७७ वटै जिल्लामा रहेका आफ्ना शाखा कार्यलयमार्फत शिक्षा, स्वास्थ्य, वातावरण, मानवीय सहायता, दिगो विकास लक्ष्य तथा बेलाबेलामा आइपर्ने विभिन्न दैविक प्रकोपहरुमा उद्धार तथा राहतमा विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए ।
त्यसैगरी, तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा. रुइतले नेपाली बैंकसँगको सहकार्यमा अवसर र चुनौती दुवै रहेको बताउँदै ग्लोबल आईएमई बैंकसँगको सहकार्यलाई दिगो हुने गरी काम गर्ने बताए । उनले आफूहरुले कुनै पनि कार्यक्रममा पारदर्शिता र चुस्त व्यवस्थापनमा जोड दिने गरेको पनि उल्लेख गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले नेपालकै ठूलो बैंक र तिलगंगाजस्तो प्रतिष्ठित संस्थाबीचको सहकार्यले बैंकलाई सामाजिक उत्तरदायित्वको कार्यक्रम सञ्चालन गर्न उत्साह मिलेको बताउँदै यस सहकार्यलाई आगामि दिनमा थप विस्तार गर्दै लैजाने बताए । हस्ताक्षर समारोहमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, बैंकका उच्च पदस्थ कर्मचारीलगायत प्रतिष्ठानका कर्मचारीहरुको उपस्थिति रहेको थियो । ग्लोबल आईएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४, बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।
ग्लोबल आईएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५२ वटा शाखा कार्यालय, तीन सय ७९ वटा एटीएम काउन्टर, एक सय ४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वेदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजारभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ ।