नयाँ दिल्ली । तौल घटाउने औषधिको सस्तो जेनेरिक संस्करण बजारमा तीव्र रूपमा फैलिन थालेपछि भारतले त्यसको दुरुपयोग र स्वास्थ्य जोखिमबारे कडा चेतावनी दिएको छ । स्वास्थ्य मन्त्रालयले औषधि प्रयोगमा अनियमितता बढ्न सक्ने भन्दै निगरानी र कार्यान्वयन कडा बनाएको जनाएको छ ।
ओजेम्पिक र वेगोवी जस्ता औषधिमा प्रयोग हुने सक्रिय तत्व सेमाग्लुटाइडको पेटेन्ट मार्च २० मा समाप्त भएसँगै भारतमा यसको जेनेरिक उत्पादन तीव्र रूपमा बजारमा आएको छ । विश्वकै सबैभन्दा ठूलो जेनेरिक औषधि आपूर्तिकर्ता मानिने भारतमा यसले मूल्य घटाउँदै पहुँच बढाएको छ ।
जीएलपी–१ वर्गका यी औषधिहरूले रगतमा ग्लुकोजको स्तर र भोक नियन्त्रण गर्ने हर्मोनलाई प्रभाव पार्ने भएकाले मोटोपनाविरुद्ध प्रभावकारी मानिन्छन् । तर स्वास्थ्य मन्त्रालयले यस्ता औषधि चिकित्सकको सिफारिसबिना प्रयोग गर्दा गम्भीर साइड इफेक्ट देखिन सक्ने चेतावनी दिएको छ । मन्त्रालयका अनुसार हाल बजारमा विभिन्न जेनेरिक भेरियन्टहरू उपलब्ध भएसँगै खुद्रा औषधि पसल, अनलाइन प्लेटफर्म, थोक विक्रेता र वेलनेस क्लिनिकमार्फत अनियन्त्रित रूपमा बिक्री हुने जोखिम बढेको छ । ‘उचित चिकित्सकीय निगरानी बिना प्रयोग गर्दा गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्छ’, मन्त्रालयले स्पष्ट पारेको छ ।