व्यापारमा ठूलो घाटा नेपालका लागि कहिल्यै पूर्ती नहुने नियति नै हो त भन्ने प्रश्न उठेको छ । आयातको तुलनामा निर्यातको अंक साह्रै सानो छ । त्यसमाथि जे–जति भइरहेको छ, त्यो निर्यातका धेरै ठूलो अंक एउटा देशसगको निर्भरतामा रहेको देखिन्छ । जसले उक्त देशबाट जुनसुकै बेला जस्तोसुकै दबाब सहन देश बाध्य हुनेछ । जस्तो चालु वर्षको गएको आठ महिनामा कुल १ खर्ब ९१ अर्बको वस्तु निर्यात गर्दा छिमेकी देश भारतमा मात्रै झण्ड ८५ प्रतिशत भाग लागेको देखिन्छ । व्यापार घाटा अंकमा मात्रै होइन कुनै एउटा देशमा मात्रै सीमित हुने अवस्थाले निर्यात व्यापारलाई बढाउने अपेक्षा पूरा हुन सक्तैन । यद्यपि व्यापारको अवस्था हेर्दा आयात पनि भारतबाटै बढी भइरहेको छ । सम्भवत छिमेकी मुलुक भएर र खुला सीमाना तथा मु्रद्रामा स्थिरता रहेर पनि आयात निर्यातमा सहजता भएर दुवै व्यापार बढी केन्द्रित भएको पनि हुनुपर्छ । अर्को भारतसंग भन्दा देशले चाहेर पनि केही वस्तु अन्यत्रबाट आयात हुनै सक्दैन । जस्तो पेट्रोलियम पदार्थ आदि । यो पक्षलाई परिवर्तित अवस्थामा कसरी लिइन्छ भन्ने अहिलेको प्रतीक्षा हुनुपर्छ ।
आजका दिनमा देखिएको व्यापारिक अवस्था सुधार्नुपर्ने देखिन्छ । यसका अंकहरूले नै यो कुरा बताउँछन् । गएको आर्थिक वर्षको साउन–फागुनसम्म ११ खर्ब ४५ अर्ब ५६ करोडको वस्तु आयात भएको थियो । चालुवर्षको यही अवधिमा १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँको वस्तु आयात भएको देखिन्छ । यो अवधिमा निर्यात भने १ खर्ब ९१ अर्ब रुपैयाँको भएको छ । आयात र निर्यातको अंकलाई प्रभाविता पर्ने वस्तुहरू परम्परा नै रहेको देखिन्छ । जस्तो, कुल निर्यातमा भटमास तेलको हिस्सा ४० प्रतिशत रहेको छ भने कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा १७ प्रतिशत छ । केही अंक तलमाथि भएको बाहेक सधैं यस्तै हुदै आएका विवरणहरूले बताउँछन् । वृद्धिको प्रतिशतमा भने केही तलमाथि देखिन्छ । चालु आर्थिक वर्षको साउन–फागुनसम्म आयात १२.५४ र निर्यात २०.८३ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको ८ महिनामा १२ खर्ब ८९ अर्ब २५ करोड २ लाख रुपैयाँको वस्तु आयात हुदा निर्यात भने १ खर्ब ९१ अर्ब ११ करोड २० लाख रुपैयाँको भयो । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा भारतमा मात्रै १ खर्ब ५६ अर्ब ६६ करोड ४४ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको साउन–फागुनसम्म ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँको वस्तु आयात र १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो ।
यो विवरण आम निर्वाचनले एउटा दलमाथि ठूलो परिवर्तनको अपेक्षा गरेको समयको हो । यो बेला निर्यातको हिस्सा १२.९१ प्रतिशत छ र आयातको हिस्सा ८७.०९ प्रतिशत रहेको विभागको तथ्यांकले देखाएको । विगतको भन्दा चालु आर्थिक वर्षको ८ महिनामा आयातको भाग घटेर निर्यातको भाग बढेको देखिन्छ । गएको आर्थिक वर्षको यो अवधिमा आयातको भाग ८७.८७ र निर्यातको भाग १२.१३ प्रतिशत थियो । यो तथ्यांकले चालुवर्ष केही न केही मात्रामा निर्यातको मात्रा बढेको त देखिन्छ तर कुल निर्यातको आकार नै आयातको तुलनामा दश–बाह्र गुनाले अन्तर अर्थात् कम रहेका अवस्थामा व्यापार सन्तुलन हुने अवस्था क्षीण नै रहेको बुझ्नुपर्छ । निर्यातमा जसको वर्चस्व रहेको भनिँदै आइएको छ त्यही वस्तुको आयातपनि ठूलो देखिन्छ । विगत आठ महिनामा ७५ अर्ब ७७ करोड रुपैयाँको प्रशोधित भटमास तेल निर्यात भएको थियो भने यहीे समयमा ८१ अर्ब १८ करोड रुपैयाँको कच्चा भटमासको तेल आयात गरिएको अवस्था छ । व्यापार सन्तुलनका लागि आउँदा दिनमा यी कुराहरू सच्चिनुपर्छ अनि मात्र परिवर्तनतर्फका काम प्रारम्भ भएको मान्न सकिएला ।