काठमाडौ । नेपाल मेडिसिटी अस्पतालले ‘रिट्रिभल मेडिसिन’सम्बन्धी तालिम संचालन गरेको छ । अस्पतालले स्कटल्यान्डको इमर्जेन्सी मेडिकल रिट्रिभल सर्भिस (ईएमआरएस) सँगको सहकार्यमा ‘एड्भान्स ट्रेनिङ एण्ड ट्रेनिङ फर ट्रेनर्स प्रोग्राम इन रिट्रिभल मेडिसिन’ संचालन गरेको हो ।
उक्त तालिम सोमबारदेखि सुरु भएको र चैत १३ गतेसम्म सञ्चालन हुनेछ । यस तालिममार्फत देशमा आकस्मिक तथा गम्भीर बिरामीहरूको सुरक्षित र प्रभावकारी स्थानान्तरण सेवामा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ । अस्पतालका इमर्जेन्सी तथा हाई अल्टिच्युड सर्भिस प्रमुख डा. सञ्जय कार्कीका अनुसार, तालिम विशेष गरी हेलिकप्टरमार्फत (एयर लिफ्ट) उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीहरूको सुरक्षित स्थानान्तरण, व्यवस्थापन तथा उपचार प्रक्रियामा केन्द्रित रहनेछ । तालिममा बिरामीलाई कसरी सुरक्षित रूपमा सार्ने, हेलिकप्टरभित्र बिरामीको उपयुक्त अवस्थिति कसरी कायम गर्ने तथा यात्रा अवधिभर आवश्यक हेरचाह कसरी गर्ने भन्ने विषयमा व्यावहारिक अभ्याससहित प्रशिक्षण प्रदान गरिनेछ ।
कार्यक्रममा स्कटल्यान्डका विशेषज्ञ प्रशिक्षकहरूद्वारा प्रत्यक्ष प्रशिक्षण दिनेछन् भने स्वीट्जरल्यान्ड, भारत र जापानका ख्यातिप्राप्त चिकित्सकहरूले आफ्ना अनुभवहरू प्रस्तुत गर्नेछन् । तालिममा प्रि–हस्पिटल केयर तथा आकस्मिक चिकित्सा सेवामा संलग्न सरकारी तथा प्राइभेट अस्पतालहरूबाट ३० जना विशेषज्ञ स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ । अस्पतालले तालिम निःशुल्क रुपमा संचालन गरेको हो ।