काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनि विक’ अभियानअन्तर्गत ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ । यही मार्च १६ देखि २२ सम्म सञ्चालन भएको अभियानमार्फत सातवटै प्रदेशका ११ हजार ८७ विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरिएको बैंकले जनाएको छ ।
विश्वव्यापी रूपमा प्रत्येक वर्ष मनाइने ग्लोबल मनि विक यस वर्ष ‘स्मार्ट मनि टक्स’ नारासहित मनाइएको हो । जसअन्तर्गत बैंकले मुलुकका विभिन्न स्थानमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले बचत, लगानी, डिजिटल बैंकिङ, वित्तीय ठगीलगायत विषयमा विद्यार्थी तथा युवाहरूलाई अभिमुखीकरण गराएको हो ।
बैंकले विभिन्न शाखा कार्यालयमार्फत साक्षरता कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । अभियानअन्तर्गत कोशी प्रदेशका दुई हजार ६४, मधेश प्रदेशका एक हजार तीन सय ८१, बागमती प्रदेशका दुई हजार छ सय आठ, गण्डकी प्रदेशका एक हजार दुई सय ७८, लुम्बिनी प्रदेशका एक हजार तीन सय ३८, कर्णाली प्रदेशका एक हजार पाँच सय चार र सुदूरपश्चिम प्रदेशका नौ सय १४ विद्यार्थी लाभान्वित भएको बैंकले जनाएको छ । वित्तीय साक्षरता अभियानलाई थप फराकिलो बनाउँदै बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामग्री उत्पादन गरी प्रकाशन तथा प्रसारण पनि गर्दै आएको छ ।
नबिल बैंक लिमिटेड नेपालको अग्रणी वाणिज्य बैंक हो । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ । नबिल एसएसईमार्फत बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजना र दिगो विकासमा योगदान पु¥याउन आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ ।