काठमाडौं । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग २०८० को प्रतिवेदन सार्वजनिक गर्न सरकारले आनाकानी गरिरहेको बेला आयोगका संयोजक कार्कीले चोरबाटोबाट प्रतिवेदनको सारतत्व बाहिर ल्याइदिएका छन् । जुन काँचो पिँडालुजस्तो कोक्क्याउने खालको छ, सरह र स्वादिष्ट परिकारजस्तो छैन । जसलाई जनमानसले सजिलै स्वीकार्ने र पत्याउने खालको छैन । आयोगको प्रतिवेदन पूर्वाग्रही, बदनियतपूर्ण, अपुरो र निर्देशित रहेको छ भन्ने जनमानसबाट प्रारम्भिक प्रतिक्रिया आइरहेका छन् ।
एक महिनाको समयसीमा दिएर छानबिन आयोग बनाउने प्रधानमन्त्री सुशीला कार्कीको आफ्नै उद्घोषविपरीत तीन महिनाको समय दिएर गठन भएको आयोगलाई पहिला एक महिना म्याद थपियो, अनि १५ दिन म्याद थपियो र अन्त्यमा अस्वाभाविक रूपमा २५ दिनको म्याद थपेर फागुन २१ को निर्वाचनलगत्तै २४ गते प्रतिवेदन सरकारलाई बुझाइयो । सरकारले सो प्रतिवेदन बुझ्यो । जब कि पछिल्लो पटक २५ दिन म्याद थप्नुअघि नै प्रतिवेदन तयार भइसकेको थियो । थपिएको समयमा प्रतिवेदन मुसार्नेबाहेक केही काम भएन । त्यतिबेला एउटा कामचाहिँ भयो भन्ने हल्ला फैलिएको थियो । जुन प्रतिवेदन बनेको थियो, त्यो प्रतिवेदनप्रति सुरुका दिनमा आयोगका प्रहरी सदस्य विज्ञानराज शर्मा असन्तृष्ट थिए । एक्लै पत्रकार सम्मेलन गरेर जे हो त्यही सार्वजनिक गरिदिन्छु, तिनीहरूले जे भन्यो त्यही प्रतिवेदन बनाउनुपर्ने के छ र भन्दै आफन्तहरूका अगाडि डाँको पिट्दै गफ हान्ने गर्दथे । संयोजक कार्की पनि उनीसँग थाकिसकेका थिए । आयोगका सदस्य रहेका भूमिगत कानुन व्यवसायी विश्वेश्वर प्रसाद भण्डारीले आफ्नै ढंगले ठाउँमा कुरा पुर्याएपछि पूर्वएआईजी शर्मा शान्त भएका हुन् र पछिल्लो समय उनी आयोगको प्रतिवेदनप्रति पूर्ण रूपमा सन्तृष्ट रहेको उनका निकटस्थहरू बताउँछन् ।
आयोगले छानबिन गरे पनि नगरे पनि गत भदौँ २३ र २४ गतेको घटनाको बारेमा जनताले धेरै बुझेका छन् । त्यो घटना २०८१ चैत्र १५ गते तीनकुनेमा भएको घटनाको निरन्तरता थियो । चैत्र १५ गते तीनकुनेमा भएको घटनाको निरन्तरता थियो । चैत्र १५ को घटना भदौ २४ को रिहर्सल थियो र त्यो घटना पात्र फेरेर गराइएको थियो । तीन कुनेमा टीभी क्यामेरा म्यान मारिएको घटना केमिकल प्रयोगको ट्रायल थियो । त्यस दिन बेलैमा सेना सडकमा निस्कनु गलत भयो, अब त्यस्तो दोहिरिँदैन भन्ने सूचना जनताले चेत्र १७ गते नहुँदै पाइसकेका थिए । त्यही कारण भदौ २३ र २४ मा सेना भिडियो खिचेर बसेको थियो । भदौ २४ को देशव्यापी आगजनीमा कुन केमिकल प्रयोग भएको थियो ? त्यो केमिकल कुन–कुन देशका सुरक्षाकर्मीले सजिलै प्रयोग गर्न सक्छन् ? २४ गते देशभर एकैसाथ लगभग ३ घण्टाका बीच त्यसरी आगजनी हुँदाको को–को परिचालित थिए ? त्यसको सूचना क–कसलाई थियो ? त्यो तालिमप्राप्त म्यानपावर तीन घण्टापछि कहाँ गए ? भन्ने कुरा अगजनीपछि दिल्ली लगेर गरिएको फरेन्सिक ल्याबको लुकाइएको रिपोर्टले संकेत गरेको छ ।
त्यो हत्या, हिंसा र आगजनीमा कहाँ, कसको र के भूमिका थियो भन्ने संकेत राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनमा समेटिएको बताइएको छ तर त्यही जेन–जी हत्या र आगजनीको आडमा बनेको सुशीला कार्की नेतृत्वको आमा जेन–जी सरकारले यी तीनवटै प्रतिवेदन सार्वजनिक गर्न चाहेन । चोरबाटोबाट सार्वजनिक भएको गौरीबहादुर कार्की नेतृत्वको आयोगको अप्रमाणित प्रतिले पनि जनतालाई कोक्याउने बताएको छ । उल्टी होला–होलाजस्तो बनाएको छ । त्यतिबेलाका प्रधानमन्त्री केपी ओलीलाई खाली कागजमा हस्ताक्षर गराएपछि राजीनामा बनाएर राष्ट्रपतिसमक्ष पठाइएको छ । राष्ट्रपतिले शीतल निवासमै राजीनामा स्वीकृत गरेको झण्डै एक घण्टापछि शीतल निवासमा आगजनी भएको छ, अनि राष्ट्रपतिलाई अर्को ठाउँ सारिएको छ । त्यही खाली ठाउँमा गरिएको हस्ताक्षर प्रयोग गरेर २७ गते सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न निवर्तमान प्रधानमन्त्री केपी ओलीले सिफारिस गरेको पत्र बनाइएको छ ।
प्रधानमन्त्री नियुक्त भएपछि उनको एकल मन्त्रिपरिषद्ले संसद् विघटन र फागुन २१ गते आम निर्वाचनको सिफारिस गरेको छ । निर्वाचनमा तीन महिनाअघि अर्थात् मंसिर २१ गतेदेखि नै सेना परिचालन गर्ने निर्णय गरिएको छ र सेनाले निर्वाचन गराउने निर्णय भएको छ तर संविधानसँग निर्णय बाझिएपछि त्यसलाई थाती राखिए पनि माघ २१ गतेदेखि हतियारधारी सैनिकको गस्तीका बीच फागुन २१ गते भय र त्रासका बीच निर्वाचन सम्पन्न भएको छ । निर्वाचनको परिणाम भदौ २४ मा देश जलाउने शक्तिले जे–जस्तो चाहेको थियो, त्यस्तै आएको छ । हुँदैन निर्वाचन हँुँदैन भन्दा भन्दै निर्वाचन सम्पन्न भएको सैनिक मुख्यालयमा रिक्रुट भर्ना गर्न माइकिङ गरेजस्तो गरेर खोजिएको प्रधानमन्त्री कार्कीले यस्तोसम्म गर्लिन् भन्ने खाइखेली किर्नाजस्तो मोटाएका दलका नेतागणले छेउटुप्पोको कुनै भेउसम्म पाउन सकेनन् । रातिराति सैनिक मुख्यालय लगेर राजतन्त्र र हिन्दु राष्ट्रका बारेमा सोधनी भएका नवनेताहरूले समेत लख काटेको विषयमा सत्ता शक्तिको उन्मादले अन्धो बनेका पुराना दलका नेताको आँखा निर्वाचन परिणाम सार्वजनिक भइसक्दा पनि खुल्न सकेको छैन र अहिले पनि क्वाँकाँती रुन लाज मानेर रुन्चे हाँसो हाँसिरहेका छन् ।
यो परिस्थिति सिर्जना गर्नका लागि दलभित्र छिराइएका घुसपैठीयाहरूको पनि महत्वपूर्ण भूमिका रहेको छ । निर्वाचनको यो परिणाम अस्वीकार गर्ने नैतिक गुदी यो राजनीतिक नेतृत्वसँग छैन, किनकि यो नेतृत्व अलिअलि गर्दै सम्पूर्ण रूपमा फसिसकेको छ । सेरबहादुर देउवा स्वास्नीका कारण भदौ २४ मा सकिए । केपी ओली फागुन २१ मा जोगाएर राखिएका विश्वप्रकाश र योगेश भट्टराईहरूको पनि औचित्य सकिएका दिन चन्द्र भण्डारी र प्रदीप ज्ञवालीको जस्तै हुने हो । यो कालरात्रिको एउटा कालखण्ड समापन गरेर सुशीला कार्कीले आज बालुवाटार छाड्नेछिन् । प्रजातन्त्रको मानेमा बनारसपछि उनले गरेको यो दोस्रो गद्दारी साबित हुन नसकोस्, जनता फेरि नजागेसम्म यो कामना गर्नुबाहेक के पो गर्न सकिएला र ?