नेपाल कला र संस्कृतिमा मात्र होइन, अद्वितीय प्राकृतिक बनोट, दुर्लभ वन्यजन्तु तथा बहुमूल्य जडिबुटीका लागि विश्वमै प्रख्यात राष्ट्र हो। यो अनेक जातजातिका चराचुरुङ्गीको सुरक्षित बासस्थानमात्र होइन, संसारकै सर्वोच्च शिखर सगरमाथादेखि विशाल पहाड र समथर तराईको समिश्रण भएको भूमि हो। जलस्रोतमा विश्वमै धनी हाम्रो देश प्राकृतिक सम्पदाको भण्डार हो। यहाँका अनौठा र जीवन्त पर्व, मौलिक स्थानीय खानपान, र नेपालीले जीवन जिउने सरल एवं आत्मीय तरिका वास्तवमै विश्वका जुनसुकै कुनाबाट आउने पर्यटकका लागि कौतूहल र आकर्षणको विषय हो । तालतलैया र अनगिन्ती मठ–मन्दिरले सजिएको यो देश हस्तकला र वास्तुकलाको जीवित संग्रहालय हो। इतिहासमा ’वीर गोर्खाली’ को उपमा पाएर युद्धकलामा समेत आफ्नो वीरता प्रदर्शन गरेको नेपालको छवि आज पनि उत्तिकै उच्च र गौरवशाली छ ।
शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको यो पावन भूमि, आराध्यदेव पशुपतिनाथको छत्रछायाँमा रहेको देश, र अनेकौं जातजाति तथा धर्मावलम्बीहरू मिलेर बसेको अनुपम उदाहरण हो। यही एकता र सहिष्णुताले नेपाललाई विश्व मानचित्रमा छुट्टै पहिचान दिएको छ। हाम्रा झरना, कञ्चन तालतलैया, अनौठा चट्टान र रहस्यमय गुफाहरू प्रकृतिका अनुपम उपहार हुन्। संसारमा अन्त कतै नपाइने वनस्पति र औषधीय जडिबुटी यहाँको माटोमा उम्रिन्छन्, तर विडम्बना हामीले अझै पनि ती सबैको पूर्ण पहिचान र उपयोग गर्न सकेका छैनौं। हाम्रा हराभरा उब्जाउ भूमि, विशाल घाँसे मैदान र अन्त कतै नहुने मौलिक जात्रा एवं संस्कृतिहरू हाम्रा अमूल्य सम्पत्ति हुन्। विश्वमा ’जिउँदो देवी’ कुमारी मान्ने एकमात्र देश, जहाँ ‘अतिथि देवो भव’ को मन्त्रलाई जीवन पद्धति बनाइएको छ, त्यो नेपाल हो। यहाँका लोक बाजा, परम्परागत नाच र सुमधुर लोक धुनहरूले जोकोहीलाई मन्त्रमुग्ध पार्छन्। यो त पातबाट समेत संगीत निकाल्न सक्ने कलाकारहरूको देश हो। तर, यति धेरै सम्भावना र सम्पत्ति हुँदाहुँदै पनि यसलाई कसरी माथि उठाउने र विश्वको अग्रणी पर्यटकीय गन्तव्य बनाउने भन्ने प्रश्न आजको गम्भीर विषय र चुनौती बनेको छ ।
अबको समय भाषणको मात्र होइन, कार्यन्वयनको हो। नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरूले आफ्नो निर्वाचन क्षेत्र र पालिकालाई कसरी ’पर्यटक मैत्री’ बनाउने भन्ने ठोस योजनाका साथ अघि बढ्नु आजको प्रमुख आवश्यकता हो। यसका लागि निम्न बुँदाहरूलाई आधार मानी काम गर्नु अनिवार्य छ ।
सहरी क्षेत्र र सांस्कृतिक सम्पदाको व्यवस्थापन
१. सम्पदाको पुनर्जीवनः सहरभित्र रहेका प्राचीन र ऐतिहासिक सम्पदाहरूलाई कंक्रिटको मारबाट जोगाइ कसरी जीवित राख्ने भन्ने गुरुयोजना बनाउनु पर्छ। पुरातात्विक महत्वका संरचनाहरूको संरक्षण गर्दै अन्तर्राष्ट्रिय पर्यटक आउने मुख्य क्षेत्रहरूमा स्थानीय मौलिक परिकार, सांस्कृतिक जात्रा र परम्परागत पर्वहरूको नियमित प्रदर्शन गर्ने व्यवस्था मिलाउनु पर्छ ।
२. होटलको स्तरीकरण र विकास : पर्यटकको सुविधाका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुसारका होटलहरूको विकास हुनुपर्दछ। होटलहरू केवल बस्ने ठाउँमात्र नभई नेपालीपन झल्कने र पर्यटक मैत्री व्यवहार भएका हुनुपर्दछ ।
३. पूर्ण सुरक्षा र आपतकालीन सेवा : पर्यटकलाई २४ सै घण्टा सुरक्षाको ग्यारेन्टी गरिनु पर्छ। कुनै पनि आकस्मिक समस्या वा स्वास्थ्य समस्या पर्दा तत्काल सहायता पु¥याउन प्रभावकारी ’इमरजेन्सी सर्भिस’ र रेस्क्यु टिमको व्यवस्था प्रत्येक पर्यटकीय क्षेत्रमा हुनुपर्छ।
४. स्वच्छता र सरसफाइ : पर्यटकका लागि अत्यावश्यक स्वच्छ खाना, पिउने पानी र बाह्य वातावरणलाई सधैं सफा राख्नुपर्छ। फोहर व्यवस्थापनलाई आधुनिक प्रविधिमार्फत समाधान गरी सहरलाई दुर्गन्धमुक्त बनाउनु पर्छ ।
५. झन्झटमुक्त वातावरण : पर्यटकलाई बाटोमा अनावश्यक सोधपुछ गर्ने, रोक्ने वा कुनै पनि किसिमको दुःख दिने कार्यलाई निरुत्साहित गर्दै त्यस्ता कार्यमा संलग्नलाई तत्काल कडा कारबाही गर्नुपर्छ ।
६. ठगी र अनैतिक क्रियाकलापको अन्त्य : सेवा वा सामानको नाममा पर्यटकलाई ठग्ने, बढी मूल्य लिने वा गलत सूचना दिनेलाई कानुनी दायरामा ल्याइ कडा सजाय दिनुपर्छ ।
७. आधुनिक सार्वजनिक शौचालय : नेपालको पर्यटनमा सबैभन्दा ठूलो बाधा शौचालयको अभाव हो। हरेक पर्यटकीय र सार्वजनिक क्षेत्रमा अत्यन्तै सफा शौचालय, पर्याप्त पानी र ट्वाइलेट पेपरको व्यवस्था अनिवार्य हुनुपर्छ ।
८. व्यवस्थित स्ट्रीट फुड : सडक छेउका खानालाई सफा र स्वास्थ्यकर बनाइ ’स्ट्रीट फुड कल्चर’लाई प्रवद्र्धन गर्नुपर्छ ताकि पर्यटकले ढुक्कसँग स्थानीय स्वाद लिन सकून् ।
९. दक्ष र इमानदार गाइड : पर्यटकलाई सही इतिहास र तथ्य बुझाउनका लागि तालिम प्राप्त टुरिस्ट गाइडहरूको व्यवस्था स्थानीय सरकारले गर्नुपर्छ ।
१०. शान्त र हर्नमुक्त क्षेत्र : पर्यटकीय क्षेत्रलाई ’हर्न निषेधित’ गराउँदै पर्यटकलाई बाधा नहुने गरी पदयात्रा गर्ने सुविधाहरू विस्तार गर्नुपर्छ।
११. सुविधायुक्त यातायात : पर्यटकका लागि छुट्टै र सुविधायुक्त टुरिस्ट बसहरूको व्यवस्था हुनुपर्छ, जसले उनीहरूलाई सुरक्षित र सहज यात्राको अनुभव गराओस् ।
१२. सांस्कृतिक क्रियाकलापको निरन्तरता : लाइभ सांस्कृतिक नाच, लाखे नाच र स्थानीय कलाहरूलाई निश्चित समय र स्थानमा देखाइरहनु पर्छ ताकि पर्यटकले हाम्रो जीवन्त संस्कृति देख्न पाऊन् ।
१३. रात्रिकालीन सुरक्षा र सौन्दर्य : नाइट क्लब, रेस्टुरेन्ट र बारहरूलाई मर्यादित र सुरक्षित बनाउँदै रात्रिकालीन बजारलाई उज्यालो र चलायमान बनाउनुपर्छ ।
१४. हरियाली र सौन्दर्यीकरण : खाली जग्गाको पहिचान गरी साना–साना फाउन्टेन, फूलबारी, बगैँचा र ट्राफिक आइल्यान्डहरू बनाउनुपर्छ, जसले पर्यटकको आँखा र मनलाई शीतलता प्रदान गरोस् ।
१५. निजी क्षेत्रलाई सहुलियत : निजी स्तरमा स्तरीय होटल र रिसोर्ट खोल्न नागरिकलाई प्रोत्साहन गर्ने र राज्यले यस्ता व्यवसायीलाई कर छुट, सहुलियतपूर्ण ऋण र अन्य पूर्वाधारमा सहयोग गर्नुपर्छ ।
प्राकृतिक गन्तव्य र ग्रामीण पर्यटनका रणनीतिक बुँदाहरू
१. सरकारी प्रवर्द्धनः विदेशी पर्यटकलाई सरकारी कुटनैतिक च्यानलबाटै नेपाल आउन आह्वान र प्रोत्साहन गर्ने। साथै, आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्यहरूको पहिचान गरी ’पहिले देश अनि विदेश’ भन्ने भावना जगाउने। नयाँ हाइकिङ र ट्रेकिङ रुटहरूलाई व्यवस्थित र सुरक्षित बनाउने ।
२. यातायात सञ्जालको सुदृढीकरण : हवाइ र स्थल मार्गलाई अत्यन्तै सुरक्षित र प्रभावकारी बनाउनुपर्छ। विदेशमा रहेका गैरआवासीय नेपाली, विद्यार्थी र श्रमिकहरूलाई नेपालको ’पर्यटन दूत’ का रूपमा परिचालन गरी विदेशमा नेपालको प्रचार प्रसार गर्ने संयन्त्र बनाउनुपर्छ।
३. पूर्व सूचना र सुरक्षा प्रणालीः पर्यटक कुन ठाउँ जाँदैछन्, त्यहाँको मौसम कस्तो छ र बाटोको अवस्था के छ भन्ने कुराको पूर्व जानकारी दिन डिजिटल सूचना केन्द्रहरू स्थापना गर्नुपर्छ। भवितव्य आइपरेमा तत्काल उद्धार गर्न ’क्विक रेस्पोन्स टिम’ सधैं तम्तयार हुनुपर्छ।
४. बसाइ र खानाको गुणस्तर : पदयात्राका क्रममा पर्ने होमस्टे र लजहरूको नियमित अनुगमन गरी सरसफाइ र खानाको गुणस्तरमा कुनै सम्झौता नगर्ने नीति लिनुपर्छ ।
५. धार्मिक पर्यटनको सम्मान : धार्मिक भ्रमणमा आउने आन्तरिक तथा बाह्य श्रद्धालुहरूका लागि व्यवस्थित धर्मशाला, बस्ने प्रबन्ध र उनीहरूको आस्थाको सम्मान हुने वातावरण बनाउनु पर्छ ।
६. पूर्वाधारको हाई अलर्टः बाटो, पुल वा अन्य संरचना बिग्रेको भए वा प्राकृतिक प्रकोपको जोखिम भएमा डिजिटल बोर्डमार्फत पर्यटकलाई पहिले नै सचेत गराउनुपर्छ ।
७. पर्याप्त पार्किङ : सबै पर्यटकीय स्थलहरूमा सवारी साधन पार्किङको उचित र व्यवस्थित ठाउँ बनाउनुपर्छ ताकि सडकमा भद्रगोल नहोस्।
८. राजमार्गको सुविधा : राजमार्गका हरेक निश्चित दूरीमा वडा वा नगरपालिकाको प्रत्यक्ष रेखदेखमा अत्यन्तै सफा सार्वजनिक शौचालय र गुणस्तरीय खाजा घरको व्यवस्था गर्नुपर्छ ।
९. प्रकृति र वनस्पति अवलोकन : वन–जङ्गल र दुर्लभ वनस्पति हेर्न रुचि राख्ने पर्यटकका लागि विशेष मार्ग र अवलोकन केन्द्रहरू निर्माण गर्नुपर्छ ।
१०. निकुञ्ज र वन्यजन्तु संरक्षण : राष्ट्रिय निकुञ्जहरूमा विज्ञ गाइडको व्यवस्था गरी दुर्लभ वन्यजन्तुको अवलोकनलाई सुरक्षित र जानकारीमूलक बनाउनु पर्छ ।
११. संकेत र हटलाइन सेवा : बाटोमा दिशा निर्देश गर्ने अन्तर्राष्ट्रिय स्तरका संकेत चिहृनहरू र आपतकालीन समयमा फोन गर्न निःशुल्क हटलाइन नम्बरहरूको व्यवस्था गर्नुपर्छ ।
१२. सम्पदाको मौलिकता : युनेस्को विश्व सम्पदा सूचीमा रहेका स्थलहरूमा आधुनिक निर्माणलाई रोकी मौलिक स्वरूपको संरक्षणमा जोड दिनुपर्छ ।
१३. मन्दिर दर्शनमा सहजता : पशुपतिनाथ, स्वयम्भू जस्ता प्रमुख मन्दिरहरूमा दर्शनका लागि सहज लाइन र वातावरण बनाउने। बाह्य पर्यटकका लागि छुट्टै सूचना डेस्क र सहयोगको व्यवस्था गर्ने ।
१४. एग्रो–टुरिज्म (कृषि पर्यटन): विदेशी पर्यटकलाई नेपालको परम्परागत खेती प्रणाली, हलो जोतेको, धान रोपेको जस्ता मौलिक कृषि कार्य देखाएर आकर्षित गर्ने कार्यक्रम ल्याउनुपर्छ ।
१५. विमानस्थलमा सुधार : अन्तर्राष्ट्रिय विमानस्थलमा ’फास्ट ट्र्याक सेवा’ दिने, भिसा प्रक्रियालाई सरल बनाउने र लगेजका लागि पर्यटकले लामो समय कुर्नुपर्ने झन्झटलाई हटाउनु पर्छ ।
१६. पर्यटक यातायातको शिष्टता: एयरपोर्ट ट्याक्सी र टुरिष्ट बसका चालकहरूलाई विदेशी भाषा र शिष्टाचारको तालिम दिने। पर्यटक विमानस्थलबाट बाहिर निस्कने बित्तिकै तानातान गरेर उनीहरूलाई मानसिक तनाव दिने कार्य पूर्णतः बन्द गर्नुपर्छ ।
१७. बसाइ अवधि लम्ब्याउने कार्यक्रम : पर्यटक नेपाल आइसकेपछि उनीहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जान प्रेरित गर्ने खालका विविध प्याकेजहरू र क्रियाकलापहरू सिर्जना गरी उनीहरूको बसाइ अवधि बढाउने प्रयास गर्नुपर्छ ।
१८. धार्मिक सर्किटको विकास : पशुपतिनाथ, लुम्बिनी, बौद्धनाथ, जानकी मन्दिर, मुक्तिनाथ र मनकामनामात्र होइन, नेपालका ओझेलमा परेका अन्य धार्मिक र ऐतिहासिक स्थलहरूलाई पनि समेटेर पर्यटकीय सर्किट विकास गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा प्रचार प्रसार गर्नुपर्छ।
१९. राजमार्गका पसलको निगरानीः राजमार्गमा रहेका होटल र पसलहरूको नियमित गुणस्तर परीक्षण गरी सरसफाइमा विशेष ध्यान दिन र मूल्यमा एकरूपता ल्याउन स्थानीय प्रशासनले कडा निगरानी गर्नुपर्छ ।
निष्कर्ष : विश्वका विकसित राष्ट्रहरूले साना–साना कृत्रिम संरचनालाई पनि अत्यन्तै महत्व दिएर र ठूलो लगानी गरेर प्रचार गरेका हुन्छन्। हाम्रो नेपालमा त प्रकृतिको वरदान नै छ, यहाँ यस्ता धेरै ठाउँहरू छन् जहाँ पर्यटक सजिलै लोभिन सक्छन्। हामीले आफ्नो ठाउँमा भएको मौलिकतालाई जोगाउनु छ र त्यसलाई विश्वसामु उजागर गर्नुछ। प्रकृति संरक्षण हाम्रो साझा धर्म हो। यदि हामी सबै मिल्यौं र आफ्नो घर, आँगन, चोक र गल्लीलाई सफा र सुन्दर बनायौं भने नेपालका हरेक क्षेत्र घुमौं–घुमौं लाग्ने गन्तव्य बन्नेछन् ।
नेपाल जस्तो सानो तर धार्मिक, सांस्कृतिक र प्राकृतिक रूपमा विशाल देशले यदि वार्षिक रूपमा ठूलो संख्यामा पर्यटक भित्र्याउन सक्यो भने, यसले आम नागरिक र समग्र राष्ट्रको आर्थिक स्थितिमा ऐतिहासिक योगदान पुर्याउने छ। पर्यटन क्षेत्रमा व्यापक रोजगारी सिर्जना हुनेछ र हाम्रा स्थानीय उत्पादनहरूले अन्तर्राष्ट्रिय बजार र मूल्य पाउनेछन्। हाम्रा क्षमतावान युवाहरूलाई विदेश पलायन हुनबाट रोकेर आफ्नै देशको माटोमा विकासको पसिना बगाउन प्रेरित गर्नु नै आजको मुख्य आवश्यकता र चुनौती हो। यसका लागि सरकार, निजी क्षेत्र र आम नागरिकबीचको सहकार्य नै समृद्ध नेपालको आधार हुनेछ।