काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको आरबीबी फोन लोन सेवा सहज भएको छ । मोबाइल एप आरबीबी फोन लोनबाट उपभोग गर्न सकिने गरी विकास गरिएको डिजिटल लेन्डिङ प्रोडक्ट प्रयोग गर्न राष्ट्रिय वाणिज्य बैंक र फोनलोन प्राइभेट लिमिटेडबीच सम्झौता भएपछि यो सेवा सहज भएको हो ।
उक्त आरबीबी फोन लोन सेवामार्फत ग्राहकले विना धितो, विना कागजी प्रक्रिया, बैंकमा भौतिक उपस्थिति नजनाइ हाललाई एक लाख रुपैयाँसम्मको कर्जा उपभोग गर्न पाउनेछन् । यो सुविधा बैंकमा तलबी खाता भएका ग्राहकले खातामा भएको कारोबारका आधारमा पाउनेछन् र सोका लागि आफ्नो खातामा रजिस्टर्ड भएको मोबाइल बैंकिङ्ग सुविधाअन्तर्गत बैंकको मोबाइल बैंकिङ्ग एप आरबीबी डिजिटल संसारबाट आवेदन दिनुपर्ने छ । आवेदनपश्चात् बैंकले आवश्यक प्रक्रिया पूरा गरी कर्जा स्वीकृत गर्नेछ । बैंकले हाल सात वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी तीन सय १३ वटा शाखा कार्यालय, ७१ वटा एक्सटेन्सन काउन्टर, तीन सय २६ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ्गमार्फत ४७ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ्ग सेवाहरु उपलब्ध गराइरहेको छ ।