काठमाडौं । नेपालको सहकारी क्षेत्रको पूर्ण रूपमा डिजिटलाइज गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको क्लाउडमा आधारित सफ्टवेयर मिरा ईआरपीले आफ्नो प्लेटफर्ममा ‘कर्जा प्रक्रिया र कागजात व्यवस्थापन’ मोड्युल थप गरेको छ । नियोसिस टेक्नोलोजीद्वारा विकास गरिएको यस प्रणालीले सहकारीहरूलाई सदस्यहरूबीच कर्जा प्रवाह गर्ने सम्पूर्ण प्रक्रियालाई डिजिटल र स्वचालित बनाउनुका साथै नियामक निकायप्रतिको उत्तरदायित्वलाई थप सरल बनाउने छ ।
नियोसिस टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज तिवारीका अनुसार, यो नयाँ मोड्युलले सहकारीको आन्तरिक कार्यसम्पादनमा निकै सहजता ल्याउने छ । मिरा ईआरपीको सिंगल लगिन सिस्टमबाटै कर्जाको सम्पूर्ण प्रोसेसिङ हुने भएपछि सहकारीहरूमा विद्यमान सदस्य पहिचानसम्बन्धी समस्यालाई यसले प्रभावकारी रूपमा समाधान गर्नेछ । फाइभ सी एनालाइसिस एवं सदस्यको कर्जा योग्यता जाँच, धितो मूल्यांकन र पुराना कारोबारको इतिहास प्रणालीले नै विश्लेषण गरिदिने हुँदा जोखिम न्यूनीकरण हुनुका साथै सदस्यसँगको वित्तीय सम्बन्ध थप पारदर्शी र मजबुत हुने अपेक्षा गरिएको छ ।
विशेष गरी नियामक निकायका मापदण्डहरू पूरा गर्न मिरा ईआरपी अहिलेको समयमा झन् शक्तिशाली बनेको छ। सहकारी विभागको कोपोमिसमा पठाउनुपर्ने विवरणहरू हुन् वा सम्पत्ति शुद्धीकरणसम्बन्धी टीटीआर रिपोर्टहरू, मिरा ईआरपीले ती सबैलाई तोकिएको एक्सेल फम्र्याटमा सजिलै उपलब्ध गराउँछ । यसका साथै स्थानीय निकाय, सहकारीका संघ, महासंघ, सहकारी नियमन प्राधिकरण दर्ता र रिपोर्टिङका लागि आवश्यक तथ्यांकहरू पनि सफ्टवेयरबाटै प्राप्त गर्न सकिन्छ । हाल बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूका लागि कर्जा सूचना केन्द्रमा अनिवार्य रिपोर्टिङ गर्नुपर्ने व्यवस्था रहेको छ । मिरा सफ्टवेयर प्रयोग गर्ने सहकारीहरूले सो रिपोर्टिङ पनि सिधै सफ्टवेयरमार्फत गर्न सकिने गरी काम भइरहेको कम्पनीले जनाएको छ ।
सुरक्षाका दृष्टिकोणले आईएसओ २७००१ः२०२२ प्रमाणित यस सफ्टवेयरले कर्जा र धितोका संवेदनशील विवरणहरूलाई ’डिजिटल डकुमेन्ट भल्ट’ मार्फत सुरक्षित राख्दछ । हालसम्म ७०० भन्दा बढी सहकारी संस्थाहरू आबद्ध भइसकेको मिरा ईआरपीले बचत तथा ऋण व्यवस्थापन, सदस्य र सेयर व्यवस्थापन, पूर्ण लेखा प्रणाली, मोबाइल बैंकिङ, र एसएमएस अलर्टजस्ता सुविधाहरू प्रदान गर्दै आएको छ। एमआर कलेक्टर एप, मौज्दात व्यवस्थापन, र अनलाइन बिल भुक्तानी जस्ता आधुनिक मोड्युलहरूले सहकारीलाई पूर्ण रूपमा ’पेपरलेस’ र प्रविधिमैत्री बनाएका छन् । उच्च स्केलेबल सास क्लाउड प्रविधिमा आधारित भएकाले यो सफ्टवेयर प्रयोग गर्न सहकारीले कुनै अतिरिक्त भौतिक पूर्वाधार वा सर्भरको, फायरवाल आवश्यकता पर्दैन र यसले नेपालका सहकारीहरूलाई आधुनिक बैंकिङ एवं डिजिटल वालेट सरहको सुविधा प्रदान गर्न सक्षम बनाएको छ ।