सुरुमा मैले रवि लामिछानेलाई नानीमैया दाहाल भनें । किशोर नेपाल जस्ता पत्रकारहरूले त्यसलाई हेपेको अर्थमा व्याख्या र प्रयोग गरे । तर नानीमैया दाहालको इतिहास कुनै हेपिएको इतिहास नभएर ३० वर्षको निर्दलिय व्यवस्था ढल्नुको प्रतीक उदाहरण एउटा हाँक थियो । त्यतिखेर काठमाडौंका अहिलेका जस्ता १० वटा चुनाव क्षेत्र नभएर एउटै चुनाव क्षेत्र थियो । पंचायतका हस्ती नेता सूर्यबहादुर थापा (पाँच पटक प्रधानमन्त्री) जोगमेहर श्रेष्ठ उपत्यकाका घाघड नेता (१६ वर्ष गृहमन्त्री) राष्ट्रिय पंचायतका अध्यक्ष नवराज सुवेदी र एकहदसम्म दरवारको पनि सफ्टकर्नर या भनौं सम्पूर्ण राज्यसत्ताको प्रतिनिधि उम्मेदवारका विरुद्ध नानीमैया दाहालले स्वतन्त्र रापस (सांसद)का लागि उम्मेदवारी दिइन् । बालेनले ओलीलाई हराएजस्तै अत्यधिक बहुमतले चुनाव जितिन् । गिनीजबुक छक्क परेर रिकर्ड राख्न आयो । भारतबाट प्रकाशित सार्क मुलुक लक्षित राजनीतिक विश्लेषण प्रधान साप्ताहिक म्याग्जीन ‘दिनमान’ले आफ्नो फ्रन्ट पृष्ठमा नेपालको नक्शा बनाएर सूर्य उदाइरहेकोमा सूर्यको अनुहार चाहिं ननीमैयाको बनाएको थियो । तात्पर्य जस्ता प्रकारले तीनदशकको निर्दलीय व्यवस्था ढल्नुको नानीमैया एक प्रतीक उदाहरण बनेकी थिइन् । त्यसैगरि अहिले चालु लादिएको संघीय व्यवस्था (क्षेत्रीय, जातीय, धार्मिक द्वन्द) जाने संकेतका रुपमा रवि लामिछानेको उदय भएको मैले भनेकोमा त्यसलाई खिसिटिउरी ठानियो । स्वयं लामिछाने र उनका सहयात्रीहरूले पनि कुरो न बुझेर खिसीटिउरी नै ठानेका पनि हुन सक्छन् । त्यसमा मलाई चासो राख्न आवश्यक भएन । तथ्यमा मेरो रवि लामिछानेलाई नानीमैया दाहाल सम्बोधन खिसीटिउरी नभएर २३/२४ भाद्र ०८२ धेरै निकट आइसकेको संकेत थियो ।
रवि लामिछाने नियतले हो या नियतीले लादिएको ०७२ को संविधान जानुको निमित्त नायकमा मात्र सीमित रहन चाहँदैन थिए । जतिखेर उनलाई कन्चटमा पेस्तोल तेरस्याएर ‘स्वर्ग जान्छस कि नर्क भन‘ शैलीमा अध्यारो छिडीको सूर्यको किरणको त कुरै छाडौ उज्यालो समेत छिर्न नसक्ने चौबिसघन्टा बिजुलीको उज्यालोमा विनाकारण छ महिना बढी चिर्कटो सरकार (आरजु देउवा) ले थुनेर यातना दिंदा जनअदालतमा जीवनरक्षाको गुहार माग्न आँट देखाए त्यतिखेर यो तथ्य देखियो । जब उनको जेल भित्रबाट आम जनसमक्ष ज्यान जोगाइदिन गरेको गुहार हस्ताक्षर अपिलमा ४४ लाख हस्ताक्षर भएर ५८ लाख पुग्ने तथ्यांक आयो त त्यतिखेर अब रवि लामिछाने निमित्त नायकबाट नियति नायक लेख्न बोल्न पंक्तिकारलाई बाध्यता भयो ।
‘निमित्त नायक’लाई त अलिकति ध्यान दिएर नियाल्दा छर्लङ्गै चिन्न सकिन्छ । तर ‘नियति नायक’ लाई सामान्य हेराइ र ध्यानले मात्र चिन्न सकिन्न । कांग्रेसले रवि लामिछाने उसको अन्त्यको नियति नायक बन्दैछन भन्ने अलिकति पनि हेक्का राखेन । प्रचण्ड नेतृत्वको सरकारमा गृहमन्त्री रहेका रवि लामिछानेले जब कांग्रेस सभापति देउवा पत्नी आरजु राणामाथि नक्कली भुटानी मानवतस्करी कान्डमा बेचन झाको बयान तर्साउन थाले त देउवाले आफैँ लामिछानेलाई कांग्रेसको समर्थनको प्रधानमन्त्री बन्न अनुरोध आग्रह गरेका डकुमेन्टले प्रमाण स्थापित पाठ्यक्रम हो । ‘मैले आफैंले हेरेको देखेको’ प्रचण्ड भनिरहेका हुन्छन् ।
रवि लामिछाने कांग्रेसको पापको घडा फुटेर सक्किनुको निमित्त नायक भएर आएका रहेछन् । त्यसको सुरुवात कांग्रेस महामन्त्री गगन थापाले संघीय संसद्मा ‘नक्कली चिर्कटो’ प्रदर्शन गरेर रवि लामिछानेको बाटो फराकिलो पारिदिए । गगन थापाको नियत थाहा नपाएका आम कांग्रेसीजनले उनलाई साथ दिएर महामन्त्रीसम्म (चारपटक सांसद, मन्त्री) बनाएका थिए । तर महामन्त्री भइसकेपछि उनले भारतीय दूतावास कृष्ण सिटौलाको साथ छाडेर अमेरिकी व्याकिङ आरजु राणाको फेर नसमाए प्रधानमन्त्रीको उम्मेदवारी दाबी नपुग्ने देखेर गुट (गिरोह) परिवर्तन गरे । देउवाले त्यत्तिकै सातभाइ अगाडि हुँदाहुँदै गगन थापालाई पत्याउने कुरा थिएन । अमेरिकी लवीका देउवाको पत्यारिलो बन्नकै लागि त्यसबखत गगन थापा सन् २००८ (वि.सं २०६५) देखि अमेरिकी कन्ट्याक्ट पर्सन भन्ने नेपाल नआइपुगेको सूचना सार्वजनिक (अमेरिकी दूतावासबाट डकुमेन्ट एक्सपोज) गरिएको थियो । आम राजनीतिक विश्लेषक प्राडाहरूले गगनको यो चिनारीलाई आम पाठ्यक्रममा ल्याएर सामान्यीकरण गरिदिएका थिए । होइन भने त्यस्तो चिनारी प्रमाणित भएको व्यक्ति कांग्रेस इतिहासको लिगेसीमा महामन्त्री बन्न सक्ने कल्पना पनि हुन सक्तैन थियो । देउवाको साथ पाउन देउवा सहमत भएरमात्र पुग्दैन थियो । आरजुको सहमति नपाउँदासम्म देउवा सहमतिको अर्थ हुन्नथियो । यही बुझेर गगनले आरजुलाई खुसी पारेर आशीर्वाद लिन रवि लामिछानेलाई लखेट्नु सजिलो उपाय लाग्यो । आरजुको आशीर्वाद पाउन नक्कली चिर्कटोलाई सक्कली भनेर पार्टी, संसद् र सारा संसारलाई ढाँटे, झुक्काए, झूठो ठगी कुरा गरे । कांग्रेसको महामन्त्रीबाट हाकाहाकी त्यस्तो पत्याउन नमिल्ने झूठ ठगी होला भन्ने कल्पना पनि हुँदैन थियो । कल्पनै गर्न नसकिने काम गरेपछि कल्पनै नगरेको परिणाम आउँनु पनि स्वाभाविक हुन जान्छ ।
ऋषि धमलाका अग्रज विजयकुमार पाण्डे आदि इत्यादि जस्ता केही वरिष्ठ पत्रकार प्राडाहरूले गगन थापालाई ‘राजनेता’ को संज्ञा दिएका भए पनि अहिलेका नवजागरणयुक्त मतदाताले पत्याउने कुरा थिएन । कांग्रेसको महामन्त्री भएर आम चुनावका वखत ‘रुख’ चिन्हमा भोट माग्नुको साटो ‘हसियाँ हथौडा’मा भोट माग्नेलाई राजनेताको संज्ञा दिनु दासमानसिकता या दास चेतनाको द्योतक हो । नुनको सोझो भए अर्कै कुरो हो । गत भाद्र २३/२४को जेन—जी विद्रोह विस्फोटनले दासमानसिकता कवीलायी चेतनाबाट आम मतदातामाथि उठिसकेका गिरिजा लिगेसीको देउवा कांग्रेसका एआई उत्तराधिकारहरू (पूर्ण, गगन, शेखर आदि इत्यादि)ले पत्तै पाएनन् । परिणाम कांग्रेस सक्किनुको नियती नायक बन्न पुगे रवि लामिछाने ।
दुईतिहाइ निकटले चुनाव जितेको रास्वपाका अध्यक्षको हैसियतले पहिलो जन सम्बोधनमा रवि लामिछानेले जे बोलिरहेका भेटिए त्यसबाट बरु उनमा भने एक अर्थसम्मको राजनेताको छनक देखियो । ‘हिजोको कांग्रेस, एमाले, माओवादीको लुटतन्त्र अत्याचारबाट दिग्दार नेपाली जनताले आज हामीलाई ठूलो आशा र भरोसा राखेर जुन ठाउँमा पुर्याइदिएका छन् । यदि हामीले पनि हिजोकै शासन शैली अपनायौं भने हिजोकालाई फाल्न ३० वर्ष लाग्यो भने हामीलाई तीस महिना पनि लाग्ने छैन । अब जनता घण्टीको आवाजले जागिसकेका आफै न्यायाधीश (जनार्दन) बनिसकेका छन्’ रवि लामिछानेका उल्लिखित सम्बोधनमा राजनेताको संकेत देखिन्छ । नेता र राजनेतामा फरक ‘नेताले भोलिको चुनाव हेर्छ राजनेताले भोलिको पुस्ता हेर्छ’ भन्ने परिभाषा छ । रास्वपाले कांग्रेसको ०१५ सालको बीपी कोइराला नेतृत्वको दुईतिहाइको इतिहासलाई मेटिदिएको छ । अब रास्वपालाई बीपीजस्तो दूरद्रष्टा राजनेता चाहिएको छ । आजका आम नेपालीजनले रवि लामिछानेमा त्यो अपेक्षा आशा राख्न अस्वाभाविक छैन ।
रवि लामिछाने राजनीतिमा आउँनुअघि कहाँ कता के के (कानुनी गैरकानुनी) गरिरहेका थिए, त्यसमा अहिले नै पंक्तिकार जान चाहन्न । वाल्मीकि पनि रामायण लेख्नुअघि एक डाकु थिए । राजनीतिमा आइसकेपछि रवि लामिछानेले गरेको सबैभन्दा ठूलो काम भनेको कांग्रेस, एमाले, माओवादीका देश बेचेर जनता लुटेका सारा काला करतुत (पापको घडा) भण्डाफोर (लगौटी, विकनी उतार्न) गर्न निर्णायक पहलकदमी गरिदिए । त्यसमा उनलाई खेल्न मैदानका लागि दुर्गा प्रशाईका धर्म र राजा फर्काउने अभियानको जनलहरले पनि ठूलो काम गरेको छ । त्यतातिर यथा समय आउँदै गरौंला । यहाँ भने रवि लामिछानेको राजनेता ठहरिने न ठहरिने सम्भावना विषयमै केन्द्रित हुन्छु ।
बालेन्द्र शाह (बालेन) इतिहासमा जंगबहादुर, चन्द्र शमशेर र एक समय कृष्णप्रसाद भट्टराई जत्तिकै शक्तिशाली प्रधानमन्त्री भइसकेका छन् । गिरिजा, ओली, प्रचण्ड, देउवामा स्खलित नभएर ‘नेपालका लिक्वानयु’ इतिहास रच्नेछन् भन्ने आशा राखौं । बालेनका बारे उनीभन्दा चारवर्ष जेठी सहोदर दिदीसँग गएको हप्तामात्रै बीबीसी हिन्दी प्रशारणले एउटा आधाघण्टा बढीको अन्तरवार्ता प्रकाशमा ल्याएको थियो । चारवर्ष जेठी दिदीले बताए अनुसार १२/१३ वर्षको उमेरदेखि नै बालेन ‘कुनैपनि जटिल समस्या भए पनि अभिभावकलाई नभन्ने समस्या समाधान गरिसकेपछि मात्र थाहा दिने’ स्वभाव प्रवृत्तिका थिए । त्यसैकारण धेरै नबोलेर एकैचोटी काम गरेर देखाउने उनको छवी चिनारी बनेको रहेछ । कुरो भन्दा कामलाई प्राथमिकता दिनु आज मुलुकले खोजेको पनि यस्तै नेता हो ।
रवि लामिछाने भाग्मानी पार्टी अध्यक्ष जसले बालेन शाह जस्तो प्रधानमन्त्री पाए । यतिखेर रवि लामिछानेले मुख्यरुपमा सबैभन्दा पहिले गर्नुपर्ने काम झण्डै ७५ हजार सहकारीले ठगेका ७५ लाख जनताका लगभग चारखर्ब वचत रकम फिर्ता गराइदिने । गरिब, निमुखा, श्रमजीवी जनताले भोलिका गर्जोमा गुजारा गर्ने हिसाबले पेट काटेर सहकारीमा वचत गरेको रकम हिनामिना ठगी लुट हुनु भनेको राज्यसत्ताका दृष्टिले कुनै पनि हालतमा क्षम्य अपराध होइन । तीन करोड जनसंख्याका ८० लाख बलिया पाखुरी खाडी मुलुकलगायत विदेशमा कामदार लखेटिएका ठगीएका लुटिएका ७५ लाख जनसंख्या भनेका बुढापाका एकल अवलालगायत बहुसंख्यक नारीजाति पर्छन् । जुन वर्ग समुदायसँग प्रतिरोधी क्षमता शून्य हुनेहुँदा गुण्डागर्दी शैलीको लुट हो यो । यो लुटको आर्तनाद (श्राप) साम्य नहुँदासम्म रवि लामिछानेको राजनेता बन्ने सम्भावना पनि एकसमय गिरिजा र प्रचण्डमा आएको अवसर स्खलित भए जस्तै हुने पक्का छ । त्यसहालतमा चाहिं मेरो सुरुको ‘नानीमैया दाहाल जस्तै निमित्त नायक’ तुलनात्मक पाठ्यक्रम पुष्टि र प्रमाणित हुनेछ । अस्तु ।