काठमाडौँ । देशका विभिन्न भागमा छुट्टाछुट्टै भएको सवारी दुर्घटनामा शनिबार र आइतबार पाँच जनाको मृत्यु भएको छ । महोत्तरीको, सोनमा गाउँपालिका–५ खैरबनी गाउँमा मोटरसाइकल एकआपसमा ठोक्किँदा सोही गाउँपालिका–४ खेस्राहाका १९ वर्षीय रामजीवन साहको मृत्यु भएको केन्द्रीय प्रहरी समाचारकक्षले जानकारी दिएको छ ।
यसैगरी, मकवानपुरको भीमफेदी गाउँपालिका–६ एघारघुम्तीमा काठमाडौँबाट हेटौँडातर्फ गइरहेको जिप उदयपुरको त्रियुगा नगरपालिका–११ सङ्गमचोक निवासी ८६ वर्षीय गोरे राईको मृत्यु भएको छ भने गुल्मीको चन्द्रकोट गाउँपालिका–४ रिपास्थित सडकमा चन्द्रकोटबाट शान्तिपुरतर्फ आउँदै गरेकोे जिपको ठक्करबाट सोही स्थानकी ५५ वर्षीया तुलसी थापाको मृत्यु भएको छ । ।
समाचारकक्षले आइतबार प्रकाशन गरेको समाचार बुलेटिनअनुसार चितवनको भरतपुर महानगरपालिका–१२ आस्थाचोकमा मोटरसाइकल दुर्घटना हुँदा तनहुँको रिसिङ गाउँपालिका–३ का २१ वर्षीय टोनबहादुर आलेमगरको मृत्यु भएको छ । सिरहाको धनगढीमाई नगरपालिका–६ मा मुसर्नियाबाट दहीपुरीतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा ७० वर्षीया पैदलयात्री सोही स्थानकी उर्मिलादेवी महतोको मृत्यु भएको छ ।