काठमाडौं । नेपालबाट प्रत्येक वर्ष तीन करोड जोरजुत्ता विदेश निर्यात हुँदै आएको छ । जुत्ता उत्पादक संघका महासचिव निर्मल भट्टराईले शनिबार एक विज्ञप्ति जारी गरी नेपाल जुत्तामा आत्मनिर्भर भएको जानकारी दिए ।
‘नेपाली जुत्ता उद्योगसँग वार्षिक १६ करोड जोरजुत्ता उत्पादन क्षमता छ । वार्षिक रूपमा तीन करोड जोरजुत्ता निर्यात हुँदै आएको छ’, उनले भने । आन्तरिक उपभोगको ७० प्रतिशत हिस्सा नेपाली जुत्ताले ओगटेको संघले जनाएको छ । स्वदेशी उत्पादन, निर्यात र आन्तरिक खपत बढाउने लक्ष्यका साथ अघि बढिरहको संघले यही चैत २९ र ३० गते काठमाडौंमा हुन लागेको नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत कार्यसमितिको सदस्यमा संघका अध्यक्ष सुरज बन्जाडेलाई अघि सारेको छ । मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना, निर्यातलगायत क्षेत्रमा जुत्ता उत्पादक संघले महत्वपूर्ण भूमिका खेलेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल जुत्ता उत्पादनमा आत्मनिर्भर हुनाका साथै जुत्ता निर्यातमार्फत वैदेशिक मुद्रा आर्जन गरी मुलुकको अर्थतन्त्रमा योगदान पु¥याउँदै आइएको संघका महासचिव भट्टराईले बताए । जुत्ता उत्पादन र निर्यातका क्रममा देखिएका समस्यालाई नेपाल उद्योग वाणिज्य महासंघमार्फत समाधान र खबरदारी गर्नका लागि अध्यक्ष बन्जाडेलाई महासंघको सदस्यमा आफूहरूले अघि सारेको बताए । नेपाली जुत्ता उद्योगको विकास, संवद्र्धन र नेपाली जुत्ताको बजार प्रवर्द्धन आजको मुख्य आवश्यकता भएको जनाउँदै संघले राखेको लक्ष्यलाई प्राप्त गर्न महासङ्घमा अध्यक्षको सशक्त प्रतिनिधित्व हुनु जरुरी रहेको महासचिव भट्टराईले बताए ।