सिड्नी । मध्यपूर्वमा भइरहेको संघर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित गर्न अष्ट्रेलियाली सरकारले नयाँ इन्धन सुरक्षा उपायअन्तर्गत इन्धन आयातमा ग्यारेन्टी दिने घोषणा प्रधानमन्त्री एन्थोनी अल्बानेसले गरेका छन् ।
अल्बानेस र ऊर्जामन्त्री क्रिस बोवेनले सिड्नीमा पत्रकारहरूलाई जानकारी दिँदै सोमबारदेखि संघीय संसदमा नयाँ विधेयक प्रस्तुत गरिने बताए । यस विधेयकले निजी क्षेत्रद्वारा इन्धन, मल तथा अन्य आवश्यक वस्तुहरूको खरीदमा विद्यमान निर्यात क्रेडिट एजेन्सीमार्फत सरकारी ग्यारेन्टी प्रदान गर्न अनुमति दिनेछ ।
उनले नयाँ उपायहरूले अतिरिक्त आपूर्ति सुनिश्चित गर्ने आयातकर्ताहरूको आर्थिक जोखिम कम गर्ने बताएका छन् । यो घोषणा अष्ट्रेलियामा इन्धन मूल्य आकाशिएको र क्षेत्रीय क्षेत्रमा व्यापक अभाव रहेको समयमा आएको हो । बोवेनले शनिबारसम्म राष्ट्रिय भण्डारणमा पेट्रोल ३९ दिनको, डिजेल ३० दिनको र जेट इन्धन ३० दिनको आपूर्ति रहेको जानकारी दिएका छन् । सिन्ह्वा