काठमाडौं , पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ।आइतबार बिहान केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले खड्कालाई पक्राउ गरी अनुसन्धानको अनुमति माग्न अदालतमा पेश गरेको हो। जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार खड्कामाथि अनुसन्धान अघि बढाउन अदालतसँग अनुमति मागिएको छ। खड्काविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गर्न सिआइबीलाई पत्राचार गरेको थियो। सोही आधारमा सिआइबीले थप प्रक्रिया अघि बढाएको जनाएको छ।भदौ २४ गते भएको आन्दोलनका क्रममा खड्काको घरमा आगजनी भएको थियो। उक्त घटनामा प्रदर्शनकारीहरूले घरबाट नगद फ्याँकेको दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल बनेको थियो। त्यसपछि विभागको टोलीले घटनास्थलबाट जलेको नोटको मुचुल्का संकलन गरेको थियो। हाल सिआइबीले सोही घटनासँग सम्बन्धित आर्थिक स्रोत र गतिविधिबारे केन्द्रित भएर अनुसन्धान अघि बढाएको जनाएको छ।